सरकारले तोके अनुसार पारिश्रमिक र सेवा सुविधा दिने सहमति भएपछि काममा फर्किन तयार भए आन्दोलनरत नर्सहरू

सरकारले तोके अनुसार पारिश्रमिक र सेवा सुविधा दिने सहमति भएपछि काममा फर्किन तयार भए आन्दोलनरत नर्सहरू

काठमाडौं : लामो समयदेखि पारिश्रमिक र सेवा सुविधाको कार्यान्वयन माग गर्दै आन्दोलनमा रहेका नर्सहरू र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच सहमति भएको छ। सहमति पछि नर्सहरूले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी नियमित सेवामा फर्किने भएका छन्।

मन्त्रालय र विभिन्न पेशागत संघ-संस्थाबीच शुक्रबार साँझ भएको वार्तामा तीन बुँदे सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारको निर्णयअनुसार नर्स र स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा सेवा सुविधाहरू कार्यान्वयन गराउन सबै सरोकारवालाले प्रतिबद्धता जनाएका छन्।

सहमतिको पहिलो बुँदामा २०८१/०८/२७ र २०८२/०६/२४ मा स्वास्थ्य मन्त्रालयले गरेको निर्णयअनुसार पारिश्रमिक लागू गर्न सहमति भएको उल्लेख छ।

दोस्रो बुँदाअनुसार प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको निर्णयअनुसार गठित प्रा.डा. श्रीकृष्ण श्रेष्ठ संयोजकत्वको समितिमा पेशागत संघका प्रतिनिधि थप गरिनेछ। साथै तेस्रो बुँदामा आन्दोलनरत संघ-संस्थाले आजदेखि सबै आन्दोलनका कार्यक्रमहरू स्थगित गरी नियमित स्वास्थ्य सेवामा फर्किने जनाइएको छ।

सहमतिपत्रमा मन्त्रालय तर्फबाट अतिरिक्त स्वास्थ्य सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठ, डा. अनुप बास्तोला, डा. भिम प्रसाद सापकोटा, निर्देशक हिरा कुमारी निरौला, डा. सुनिता सम्साल र नुजन शर्मा लगायतका अधिकारीहरूले हस्ताक्षर गरेका छन्।

यस्तै, आन्दोलनरत पेशागत संघ-संस्थातर्फबाट नर्स संघर्ष समितिकी संयोजक ज्योति रानाभाट, नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनका अध्यक्ष माइकल देवकोटा, नेपाल फर्मास्युटिकल एसोसिएसनका अध्यक्ष ललित मोहन पन्त लगायतले हस्ताक्षर गरेका छन्।

सहमति पश्चात् मन्त्रालयले स्वास्थ्य सेवामा सामान्य अवस्था फर्किने विश्वास लिएको छ भने आन्दोलनरत संघहरूले पनि सरकारसँगको प्रतिबद्धता कार्यान्वयन हुने आशा व्यक्त गरेका छन्।

आन्दोलनरत पक्षले यसअघि कार्तिक १५ गते शनिबार मन्त्रालयमा भएको सहमतिलाई लत्याउँदै आन्दोलन जारी राखेको थियो।

नर्सहरूलाई सरकारी सरह तलब दिन बाध्य भए निजी मेडिकल कलेज र अस्पताल सन्चालक

कात्तिक २१, २०८२ शुक्रबार २०:४३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।