‘मौरिस हर्जोग’ पदमार्ग पुनः सञ्चालन, अन्नपूर्ण आधार शिविरतर्फ पर्यटकको चहलपहल

‘मौरिस हर्जोग’ पदमार्ग पुनः सञ्चालन, अन्नपूर्ण आधार शिविरतर्फ पर्यटकको चहलपहल

म्याग्दी : अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनः सञ्चालनमा आएको छ।

हालैको झरी र हिमपातका कारण अस्थायी रूपमा बन्द गरिएको उक्त पदमार्गमा अब पुनः पर्यटकको आवागमन सुरु भएको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले जानकारी दिए।

कात्तिक १० देखि १५ गतेसम्म परेको अविरल वर्षा र हिमपातपछि स्थानीय प्रशासन र अन्नपूर्ण गाउँपालिकाले सुरक्षाको दृष्टिले पदमार्गमा भ्रमण रोक लगाएका थिए। तर, मौसममा सुधार आएपछि अब मार्ग पुनः खोलिएको र पर्यटकको संख्या क्रमशः बढ्न थालेको वडासदस्य पुर्जाको भनाइ छ। “चिसो बढे पनि पर्यटक आउन थालेका छन्,” उनले भने, “पदमार्ग खुल्दा चहलपहल फेरि फर्किएको छ।”

अन्नपूर्ण गाउँपालिका-४ मा पर्ने ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र त्यसको आधार शिविर छोटो समयमै साहसिक यात्रा चाहनेहरूका लागि आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै आएको छ। फुतफुते झरना, निलो रङको पञ्चकुण्ड ताल हुँदै ४,१९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ। तीन दिनको यात्रामा निलगिरि र अन्नपूर्ण हिमालको फेदमा रहेको समथर फाँटसम्म पुगेर फर्कन सकिने व्यवस्था छ।

नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र त्यहाँबाट आधार शिविरसम्म थप २२ किलोमिटर लामो पदमार्ग निर्माण गरिएको छ। यात्राको क्रममा मिस्त्रीखोलाको किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, दुर्लभ वनस्पति र वन्यजन्तु अवलोकन गर्न सकिन्छ, जसले यो पदमार्गलाई अझ आकर्षक बनाएको छ।

नारच्याङका तेज गुरुङको अगुवाइमा सन् २०११ (वि.सं. २०६८) मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दी भूभागमा पर्ने प्रमाणित भएपछि २०७७ सालमा अन्नपूर्ण गाउँपालिकाले पदमार्गको नक्साङ्कन गरी यसलाई ‘मौरिस हर्जोग पदमार्ग’ नाम दिएको थियो।

गत वसन्तदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र गाउँपालिकाको अनुमति लिएर नारच्याङका बासिन्दाले हुमखोला, फुतफुते झरना, साघीखर्क, गुफाँफाँट, भुसकेत र पञ्चकुण्डमा ५०–५० जनाको क्षमता भएका अस्थायी होटल सञ्चालनमा ल्याएका छन्।

भुसकेतका होटल व्यवसायी माइकल पुनका अनुसार अहिले काठ, त्रिपाल, जस्तापाता र टेन्ट प्रयोग गरेर पर्यटकलाई बस्ने व्यवस्था मिलाइएको छ। “एक्यापले ५० जना पाहुना राख्न सक्ने अस्थायी संरचना बनाउन अनुमति दिएको छ,” उनले भने, “भ्रमणमा सहजता रहोस् भनेर बुकिङ गरेर आउन अनुरोध गरेका छौँ।”

अन्नपूर्ण आधार शिविर पदमार्ग पुनः सञ्चालनसँगै स्थानीय पर्यटन व्यवसाय पुनः सक्रिय बनेको छ भने साहसिक यात्रा रुचाउने आन्तरिक तथा बाह्य पर्यटकका लागि म्याग्दी फेरि आकर्षक गन्तव्यका रूपमा फर्किएको छ।

कात्तिक २१, २०८२ शुक्रबार १९:४३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।