अशोकलाई हेप्लान् भनेर बाहिर गाउन नदिएर नियन्त्रण गरेकै हो : टंक बुढाथोकी

अशोकलाई हेप्लान् भनेर बाहिर गाउन नदिएर नियन्त्रण गरेकै हो : टंक बुढाथोकी

संगीतकार तथा गायक टंक बुढाथोकी यतिबेला फिल्म निर्माता तथा निर्देशकका रूपमा चर्चामा छन्।

सात वर्षअघि सडकमा गीत गाउँदै हिँडेका बालक अशोक दर्जीलाई ‘सांगीतिक मेन्टरसिप’ दिएर चर्चामा आएका बुढाथोकीले उनै अशोकलाई मुख्य पात्र बनाएर फिल्म ‘मनबिनाको धन’ निर्माण गरेका हुन्।

आजबाट प्रदर्शनमा आएको फिल्म, अशोकसँगको सांगीतिक यात्रा र यस क्रममा आएका उतारचढावबारे उकेराकर्मीसँग गरेको कुराकानीको सम्पादित अंश:

संगीतमा स्थापित र व्यस्त मान्छे, अचानक फिल्म निर्माणमा किन मोडिनुभयो?
लामो समय फिल्मका लागि गीत-संगीतमा काम गर्दा यो क्षेत्रप्रति स्वाभाविक रूपमा एउटा भावनात्मक सम्बन्ध बढेको थियो। त्यसमाथि, ‘मनबिनाको धन’ गीतले पाएको सफलतापछि मलाई के महसुस भयो भने कलाकारिता र संगीतको माध्यमबाट समाजलाई केही सकारात्मक सन्देश दिन सकिँदो रहेछ।

दर्शकले त्यस्ता सिर्जनालाई मन पराउनुहुँदो रहेछ। यही प्रेरणाले मलाई चलचित्रको माध्यमबाट एउटा गहिरो कथा भन्ने हुटहुटी जाग्यो र यो प्रोजेक्ट शुरू भयो।

तपाईंले काम गरेका फिल्महरूले राम्रो कमाइ गरेको देखेर ‘पैसा कमाइहालौँ’ भन्ने सोचले फिल्म बनाउनुभएको हो कि यो तपाईंको व्यक्तिगत सौख हो?
पैसा कमाइहालौँ भन्ने उद्देश्य प्रमुख होइन। यदि त्यसो हुन्थ्यो भने म व्यावसायिक ‘मसला’ फिल्म बनाउनेतर्फ लाग्थेँ होला। यो फिल्म कलाकारिताको माध्यमबाट समाजसेवा गर्ने एउटा सानो प्रयास हो।

मैले अघि नै भनेँ, मैले समाजसेवाको एउटा माध्यम कलाकारितालाई पनि मानेको छु। कार्तिक २१ गते फिल्म हेरिसकेपछि दर्शकले यो कुरा आफैँ महसुस गर्नुहुनेछ भन्नेमा विश्वस्त छु।

त्यसो भए यो तपाईंको पूर्वनिर्धारित रहर वा योजना थियो?
पटक्कै थिएन। यो मेरो पूर्वनिर्धारित रहर वा सोख थिएन। जसरी अशोक दर्जी मेरो जीवनमा एक संयोगले आए, त्यसरी नै यो चलचित्रको कथा पनि एउटा दैवी संयोग जस्तै बन्यो। मलाई लाग्छ, यो कथा दर्शकमाझ ल्याउनु भनेर भगवानले नै निर्देशन गर्नुभएको हो। हेरौँ, नतिजा के हुन्छ।

अरूको फिल्ममा संगीत गर्नु र आफैँ निर्माता-निर्देशक बन्नुमा कत्तिको सहज वा असहज रहेछ?
एकदमै फरक र सोचेभन्दा धेरै गाह्रो रहेछ। अरूको फिल्ममा संगीत गर्दा एउटा निश्चित समयसीमाभित्र आफ्नो काम सकाएर हस्तान्तरण गर्थ्यौँ।

त्यो काम एक-डेढ महिनामा सकिन्थ्यो। तर, आफ्नै फिल्म निर्माण गर्दा त म पछिल्लो दुई वर्षदेखि यसैमा डुबेको छु र अझै दौडधुप जारी छ। तपाईं मेरो अनुहारको थकानबाटै पनि अनुमान लगाउन सक्नुहुन्छ।

त्यसो भए अहिले आएर निर्माता-निर्देशकले कति दुःख गर्दा रहेछन् भन्ने महसुस भयो होला है?
निश्चित रूपमा! अहिले आएर मलाई हरेक निर्माता-निर्देशकप्रति अत्यन्तै सम्मान बढेको छ। बाहिरबाट हेर्दा मनोरञ्जन मात्र देखिए पनि फिल्म निर्माण एउटा ठूलो तपस्या रहेछ भन्ने मैले आफैँले भोगेँ। उहाँहरूलाई साधुवाद छ।

फिल्म रिलिजको समयमा निकै राजनीति हुन्छ भनिन्छ, तपाईंले के अनुभव गर्नुभयो?
हामी यो क्षेत्रमा नयाँ छौँ, त्यसैले यसबारे धेरै थाहा छैन। हामी पूर्ण रूपमा दर्शकको भरमा छौँ। सो पाइयोस् वा नपाइयोस्, म गुनासो गर्दिनँ।

मैले आफ्नो तर्फबाट एउटा इमानदार कथा र सिर्जना दर्शकमाझ राखेको छु। राजनीतिको कुरामा म अहिले केही टिप्पणी गर्न चाहन्नँ। अन्त्यमा दर्शकले सबै कुरा बुझ्नुहुनेछ।

तपाईंले नै हुर्काउनुभएको अशोक दर्जीलाई नै फिल्मको नायक बनाउनुको विशेष कारण के हो?
यसको मुख्य कारण हाम्रो सम्बन्धमाथि उठेका प्रश्नहरूको जवाफ दिनु पनि हो। शुरूमा जब हामी जोडियौँ, धेरैले भन्नुहुन्थ्यो, ‘टंकले केही महिनामै अशोकलाई छोड्छ।’

तर आज सात वर्षपछि पनि हामी सँगै छौँ। यो यात्रालाई प्रमाणित गर्न र टंकले बनाएको प्रोजेक्टमा अशोकलाई शीर्ष स्थानमा उभ्याउन यो निर्णय लिएको हुँ।

फिल्ममा तपाईंको छोरा एआर बुढाथोकीको पनि अभिनय छ। अशोकसँगै छोरालाई पनि अघि बढाउन खोज्नुभएको हो?
हो, मेरो छोरो पनि फिल्ममा छ र ऊ अशोकको साथीको भूमिकामा देखिन्छ।

यसले गर्दा कतै छोराको क्षमतामाथि प्रश्न उठ्ने वा अशोकको आडमा डोर्याउन खोजेको आरोप लाग्ला नि?
त्यस्तो नहोला भन्ने लाग्छ। दुवैजनाले आ-आफ्नो कर्म र ज्ञानले जीवनमा प्रगति गरून् भन्ने मेरो चाहना हो। जहाँसम्म प्रश्नको कुरा छ, त्यो हरेक क्षेत्रमा उठ्छ। प्रश्न नउठ्ने ठाउँमा त जीवन नै सकिन्छ जस्तो लाग्छ। भविष्यमा आउन सक्ने प्रश्नहरूलाई हामीले समयअनुसार स्वीकार गर्नुपर्छ।

छोराको रुचि कलाकारितामै भएर हो वा तपाईंको करकापले?
बच्चाहरूको रुचि खेल्ने-कुद्नेमा हुन्छ नै, तर हामीले दिने वातावरणले पनि धेरै फरक पार्छ। उसको रहर पनि थियो र मैले पनि यो क्षेत्रबारे उसलाई बुझाउँदै लगेको छु। यो जबरजस्ती होइन।

तपाईंलाई अशोकलाई प्रयोग गरेर हिट भएको आरोप पनि लगाउँछन् नि?
त्यसो भन्नेहरूलाई मैले के जवाफ दिनु र! उहाँहरूको बुझाइ त्यतिमै सीमित होला। सायद उहाँहरूलाई मैले सिर्जना गरेका ‘तिमीले बाटो फेर्यौ अरे’, ‘रुपै मोहनी’, ‘आँसुको अर्थ’ जस्ता दर्जनौँ सफल गीतबारे जानकारी नहुन सक्छ।

त्यो बेला अशोकको लागि देश-विदेशबाट राम्रै रकम उठेको थियो भनिन्छ, वास्तविकता के हो?
यो सत्य हो। करिब ३०-३२ लाख रुपैयाँ उठेको थियो। त्यसमा केही रकम थपेर हामीले करिब ३५ लाख बराबरको जग्गा किनेर अशोककै नाममा घर बनाइदियौँ। त्यो सम्पत्ति पूर्ण रूपमा अशोक दर्जीकै नाममा छ।

तर त्यो घर तपाईंले व्यक्तिगत लगानीमा बनाइदिनुभएको भन्ने हल्ला पनि थियो नि?
त्यो गलत हो। मैले बनाइदिएको होइन, मैले केवल एउटा सहयोगीको भूमिका निर्वाह गरेको हुँ। त्यो घर र जग्गा अशोकका शुभचिन्तक र सहयोगी मन भएका नेपाली दर्शकले बनाइदिनुभएको हो। मैले त केवल सही बाटो देखाउने काम गरेको हुँ।

तपाईंले अशोकलाई अरू संगीतकारको गीत गाउन दिनुहुन्न भन्ने आरोप पनि छ। कत्तिको छुट दिनुहुन्छ?
मैले त चर्चित संगीतकारहरूलाई अशोकका लागि गीत बनाइदिनुस् भनेर अनुरोध गरेको छु, तर उहाँहरू व्यस्त भएर होला, त्यस्तो प्रस्ताव आएन।

मैले उसलाई कहिल्यै रोकेको छैन। हो, जब ऊ सानो थियो, त्यतिबेला केही नियन्त्रण थियो। किनभने ऊ लेख्न-पढ्न सक्दैनथ्यो। मैले जस्तो माया र धैर्य अरूले देखाउँदैनन् कि भन्ने डर थियो।

कतै उसलाई ‘अशोकलाई त गीतै गाउन आउँदैन’ भनेर हेपिदिन्छन् कि भन्ने चिन्ता थियो। किनभने लेखेको कुरा पढ्न नसक्ने बच्चालाई गीत रटाउनु निकै गाह्रो हुन्छ। यही कारणले सानोमा उसलाई जहाँ पायो त्यहीँ पठाउँदिनथेँ।

कात्तिक २१, २०८२ शुक्रबार ११:००:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।