गजेन्द्र नारायण अस्पतालका निर्देशक डा. साहको कर्तुत : जागिरको प्रलोभन देखाउँदै नर्सलाई यौन प्रस्ताव (अडियोसहित)

गजेन्द्र नारायण अस्पतालका निर्देशक डा. साहको कर्तुत : जागिरको प्रलोभन देखाउँदै नर्सलाई यौन प्रस्ताव (अडियोसहित)

काठमाडौं : गजेन्द्र नारायण सिंह अस्पतालका निर्देशक डा. प्रकाश प्रसाद साहले पदको दुरुपयोग गर्दै रोजगारीको प्रलोभन दिँदै महिला स्वास्थ्य कर्मचारीलाई यौन प्रस्ताव राख्ने गरेको अडियो सार्वजनिक भएको छ। अस्पतालको निर्देशकको पदको दुरुपयोग गर्दै उनले यौन प्रस्ताव राख्दै त्यस बापत आफूले जागिरको अवसर दिने प्रस्ताव राखेको अडियोमा सुनिन्छ।

उकेराले उनको आठ मिनेट ५१ सेकेन्ड लामो अडियो पाएपछि त्यसमा छेडखानी गरिएको छ या छैन भनेर परीक्षण गरेको थियो। परीक्षणमा अडियोमा कुनै छेडखानी नभएको देखियो। त्यसमा रहेको पुरुषको संवाद डा साहको हो या हैन भनेर उकेरासँग सुरक्षित उनको अडियोसँग मिलाउँदा पुरुषको स्वर उनकै भएको देखियो। उकेरासँग उनले पनि स्वर आफ्नै भएको स्विकारे।

अडियोमा उनले भर्खर अस्पतालमा आएकी एक महिला स्वास्थ्यकर्मीलाई रोजगारी र अस्पतालले दिने अवसरको प्रलोभन देखाउँदै मोबाइलमा कल गर्दै आफूसँग शारीरिक सम्बन्ध राख्न प्रस्ताव गरिरहेको सुनिन्छ। उमेर नमिले पनि आफूलाई खुब मन परेको भन्दै उनले भनेका छन् “इन्टिमेसी भएपछि धेरै कुरा हुन्छ।”

मोबाइलको संवादमा डा. साहले युवतीलाई पहिला बेलुका सन्देश पठाएका थिए। उनले संवादको प्रारम्भमा ‘...रिप्लाई आएन सुती सक्या होला भनेर त्यसैले बिहान कल गरेको हो क्या’ भन्दै कुराकानी अगाडि बढाएका छन्।

उनले संवादमा उमेर नमिल्ने भए पनि धेरै सुन्दरी भएकाले मन पराएको भन्दै भनेका छन् ‘आइ लाइक यु, आई लभ यु’ भन्ने जस्ता शब्द प्रयोग गरेका छन्। उनले दुवैको उमेर अनि सोच नमिले पनि मन पराउन पाउनु त अधिकार हो नि भन्दै प्रेमिकासँग निरन्तर संवाद अगाडि बढाएका छन्।

 ‘समितिको जागिर भनेको स्थायी जागिरे जस्तै हो क्या...जस्तै १८ जनाको दरबन्दी हो नि त यहाँ’ भन्दै युवतीलाई प्रलोभनमा पार्दै समितिको जागिरमा राखेपछि ननिकालिने भन्दै डा. साहले अस्पतालमा छिरेपछि समितिको जागिरमा तान्न प्रलोभन दिएको सुनिन्छ।

उनले ‘इन्टिमिसि छ भने धेरै कुरा हुन्छ त्यो, आत्म सम्बन्ध छ भने त धेरै कुरा हुन्छ नि...’ भन्दै युवतीलाई निरन्तर प्रस्ताव राखिरहेको सुनिन्छ। डा. साहले फोनमा ती युवतिको नाम लिँदै ‘तिमिलाई चाहिँ मैले पर्सनली भनेको मलाई साहै मन पर्यो हेर नानी है, आइ लाइक सो मच’ भनेको सुनिन्छ।

‘हाम्रो कुरा मिल्छ? सम्बन्ध हुन्छ? रिलेसन बढ्छ हाम्रो? के भन्छौ तिमिले? उनी निरन्तर सोधिरहन्छन्। युवती हाँसेको मात्र सुनिन्छ। त्यसपछि डा. साहले ‘भोली आउँ त्यसो भए हेर्नलाई... कति बेला आउँछौ?’ भन्दै उनलाई आफू फोनको प्रतीक्षामा हुने भन्दै केही बेरमा फोन गर्न भनेको सुनिन्छ।

यसबारे उकेराले डा. साहसँग समेत सो अडिओबारे जिज्ञासा राखेको थियो। उनले स्वर आफ्नै भएको स्विकारे।

“मैले अन्तैतिर बोलेको कुराहरू त्यो कतै कतैबाट रेकर्ड गरेका रहिछन्,’उनले दाबी गरे ‘मैले आफ्नै श्रीमतीसँग बोलेको कुरा...रेकर्ड गरेका रहेछन्।”

भइसकेको सरुवा रद्द गरेकी थिइन् मन्त्रीले

जेन–जी आन्दोलनको बलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी डा. सुधा शर्माले मंगलबार मन्त्रालय अन्तर्गतका विभिन्न कर्मचारीको सरुवाको निर्णय गर्दा डा साहको पनि सरुवा भएको थियो। मङ्गलवारको मन्त्रीस्तरिय निर्णयमा गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख रहेका डा. साहको हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सरुवा गर्ने निर्णय भएको थियो।

तर, बुधवारै उनको सरुवाको निर्णय सच्चियो। मन्त्रीले अघिल्लो दिन आफैँले गरेको निर्णय सच्याउँदै डा साहलाई पुन सोही अस्पतालको प्रमुखमा यथावत् राख्ने निर्णय गरिन्।

स्वास्थ्यमन्त्री सुधा शर्माले मंगलबार डा साहको सरुवा गर्ने निर्णय गरेको पत्र र बुधवार सरुवा बदर गरेको निर्णयको पत्र।उनको सरुवा रोकिएको पत्रमा,‘नेपाल सरकार (मा. मन्त्रीस्तर)को मिति २०८२ कात्तिक १८ को निर्णय अनुसार तपाईँलाई स्वास्थ्य सेवा विभागमा दरबन्दी राखेर किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडामा कामकाजमा खटाइएकोमा अर्को व्यवस्था नभएसम्म हाल कार्यरत रहेको गजेन्द्र नारायण सिंह अस्पतालमा यथावत् कायम गर्नुहुन’ बुधवार मन्त्रिस्तरिय निर्णय भएको उल्लेख छ।

मिलेमतोमा भएका खरिदमा संलग्न देखिएका डा. साहलाई निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सरुवा गरेर गजेन्द्र नारायण अस्पताल पठाएका थिए। उनले गत वर्ष अस्पतालको स्वास्थ्य उपकरण खरिदमा निश्चित कम्पनीको सप्लायर्ससँग मिलेमतो गरेका थिए। उकेराले यसबारे प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

कात्तिक २०, २०८२ बिहीबार २२:१७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।