बालेनसँग बदला लिने दाउमा एमालेको युवा संघ, राहदानी रोक्का र पक्राउ माग राख्दै जाहेरी
काठमाडौं : जेन-जी आन्दोलनसँगै सत्ताच्युत भएका एमाले अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्ने र स्थानहद तोक्ने जाँचबुझ आयोगको निर्णयपछि एमाले निकट युवा संघ निरन्तर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको विपक्षमा सक्रिय छ।
बालेनको योजनामा बनेको सरकारको दबाबमा एमालेको नेतृत्व लक्षित गतिविधि भएको निष्कर्ष निकाल्दै एमालेको युवा संगठन युवा संघ कहिले भदौ २४ को आगजनी र तोडफोडमा संलग्न रहेको भन्दै बालेन विरुद्ध प्रहरीमा जाहेरी लिएर पुग्छ त कहिले सिंहदरबार जलाउन बालेनको भूमिका रहेको दाबी गर्छ।
बिहीबार यो संगठनले बालेनले केही दिन अगाडि सामाजिक सञ्जालमा लेखेर हटाएको एक स्टाटसले सार्वजनिक शान्ति सुरक्षा बिगारेको, गाली बेइज्जती गरेको र साइबर क्राइम समेत भएको दाबी गर्दै प्रहरीको साइबर ब्युरोमा जाहेरी दियो। जाहेरीमा बालेनको राहदानी रोक्न माग समेत गरिएको छ।
बालेनले कात्तिक १६ गते फेसबुकमा विभिन्न देश र नेपालका पार्टीको नाम लेख्दै गाली गरेका थिए। सो शब्दले लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको दलहरूलाई गाली गरेर अनि विदेशलाई समेत गाली गरेर शान्ति सुरक्षामा खलल पूर्याएको, सार्वजनिक पदमा बसेको व्यक्तिले सामाजिक भाइचारा बिगारेको, मित्र राष्ट्रहरूलाई समेत गाली गरेर सम्बन्धमा आँच ल्याउने काम गरेको दाबी गरिएको छ।
जाहेरीमा तत्काल पक्राउ गरेर कारबाही गर्न र विदेश भाग्न सक्ने भन्दै राहदानी रोक्न समेत माग गरिएको छ। यो जाहेरीको सबैभन्दा ठूलो प्रमाण बालेनको आफ्नै फेसबुक पेजमा आएको सन्देश थियो जुन त्यही दिन केही समयमै डिलेट भएको थियो। तर जाहेरीमा प्रमाण नष्ट गर्नसक्ने भन्दै तत्काल पक्राउ गर्न माग गरिएको छ। जाहेरी युवा संघका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङले दिएका हुन्।
यस अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै सुधन गुरुङसहितको टोलीले जिल्ला प्रहरी परिसरमा जाहेरी दिएपछि युवा संघको समूहले काउन्टरमा सुधन गुरुङ र बालेन विरुद्ध पनि जाहेरी दिएको थियो। दुवै जाहेरी अहिले मुलतबीमा राखिएको छ।
कात्तिक २०, २०८२ बिहीबार १८:२५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।