भुटेका गेडागुडीबाट हलिमली बनाई नेवार समुदायले मनायो ‘सकिमना पुन्ही’

भुटेका गेडागुडीबाट हलिमली बनाई नेवार समुदायले मनायो ‘सकिमना पुन्ही’

भक्तपुर : नेवार समुदायले कार्तिक शुक्ल पूर्णिमाको दिन बुधबार अन्नको सम्मान र कलात्मक प्रस्तुति मार्फत ‘सकिमना पुन्ही’ पर्व हर्षोल्लासका साथ मनाएका छन्।

विशेषगरी भक्तपुरका मन्दिर तथा टोलहरूमा यस पर्वको मौलिक रौनक देख्न सकिन्छ।

नेपाल भाषामा ‘सकि’ को अर्थ पिँडालु र ‘मना’ को अर्थ उसिनेको हो।

यस दिन पिँडालु, सखरखण्ड जस्ता कन्दमूल उसिनेर खाने र किसानहरूले उत्पादन गरेका नयाँ अन्न जस्तै भुटेको मकै, भटमास, केराउ आदि विभिन्न देवीदेवतालाई चढाउने गरिन्छ।

यिनै गेडागुडीबाट मन्दिर परिसरमा विभिन्न कलात्मक आकृति बनाउने गरिन्छ, जसलाई ‘हलिमलि’ भनिन्छ।

जाडोयाममा शरीरलाई ऊर्जा प्रदान गर्ने अन्नलाई सम्मान प्रकट गर्न यो पर्व मनाइने विश्वास छ। हलिमलिसँग सम्बन्धित एक रोचक किंवदन्ती अनुसार, स्वर्गका राजा इन्द्र पृथ्वीमा बन्दी बनाइएका बेला उनलाई यही हलिमलि खुवाइएको थियो।

दिनभरि पूजाआजा र प्रदर्शनीपछि साँझमा हलिमलिका लागि प्रयोग गरिएका गेडागुडीलाई एकत्रित गरी प्रसादका रूपमा बाँडिन्छ। यसरी तयार पारिएको प्रसादलाई ‘छुस्यामुस्या’ भनिन्छ, जसले समुदायमा सद्भाव र सहकार्यको सन्देश दिन्छ।

कात्तिक २०, २०८२ बिहीबार ०७:३२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।