स्वास्थ्य खरिदका ‘बदमास’ डा. रायमाझी र दासको सरुवा गर्दा भेरी,गेटा,गजेन्द्रनारायण र भरतपुरका जोगिए
काठमाडौं : जेन-जी आन्दोलनको बलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेकी डा. सुधा शर्माको पहिलो कर्मचारी सरुवाको निर्णयमा स्वास्थ्य सामग्री खरिद मिलेमतोमा जोडिएका चिकित्सकहरू जिम्मेवारीबाट हटेका छन्।
गौतमले मंगलबार गरेको मन्त्रीस्तरीयबाट निश्चित आपूर्तिकर्ताको स्वार्थमा स्वास्थ्य सामग्री किन्दै आएका स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजंग रायमाझी र नारायणी अस्पतालका निर्देशक डा. चुमनलाल दासको सरुवा गरिन्।
मङ्गलवारको मन्त्रीस्तरिय निर्णयमा अर्का यस्तै बदमास चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. प्रकाश साहको हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सरुवाको निर्णय भएको थियो। तर बुधवार उनको सरुवाको निर्णय सच्चिइसकेको थियो। उनलाई यथावत् सोही अस्पताल प्रमुखमै राखियो।
उनको सरुवा रोकिएको पत्रमा,‘नेपाल सरकार (मा. मन्त्रीस्तर)को मिति २०८२ कात्तिक १८ को निर्णय अनुसार तपाईँलाई स्वास्थ्य सेवा विभागमा दरबन्दी राखेर किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडामा कामकाजमा खटाइएकोमा अर्को व्यवस्था नभएसम्म हाल कार्यरत रहेको गजेन्द्र नारायण सिंह अस्पतालमा यथावत् कायम गर्नुहुन’ बुधवार मन्त्रिस्तरिय निर्णय भएको उल्लेख छ।
मिलेमतोमा भएका खरिदमा संलग्न देखिएका यी तीनैजनालाई निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सरुवा गरेका थिए। विभाग अन्तर्गतका मिलेमतोमा भएको खरिदमा रायमाझीको प्रत्यक्ष संलग्नता देखिएको थियो।
नारायणी अस्पताल प्रमुख रहेका डा चुमनलालले आफ्नो कार्यकालमा खरिद मापदण्ड नै लक्ड गरेर एकै कम्पनीका करोडौँका सामान किनेका थिए। उता साहले पनि त्यस्तै गरी खरिदमा मिलेमतो गरेका थिए।
मन्त्री शर्माले स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारीमा रहेर खरिद मिलेमतोमा संलग्न देखिएका डा. पवनजंग रायमाझीलाई उपचारात्मक सेवा महाशाखाको निर्देशकको जिम्मेवारी दिएकी छिन्।
केही महिनाअघि डा. सुधा देवकोटाको डडेलधुरा अस्पतालको प्रमुखमा सरुवा भएपछि उपचारात्मक महाशाखाको निर्देशकको पद खाली थियो। डा. रायमाझीको सरुवासँगै स्वास्थ्य सामग्री खरिदमा महत्त्वपूर्ण भूमिका रहने महाशाखाको निर्देशकमा डा. केशवराज पण्डित आएका छन्। डा. पण्डित यसअघि राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको निर्देशक थिए।
डा. पण्डितलाई व्यवस्थापन महाशाखामा सरुवा गरेपछि मन्त्रालयले डा. राधिका थपलियालाई राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको निर्देशकमा सरुवा गरेको छ। उनी यसअघि कोशी प्रदेशको स्वास्थ्य सचिव थिइन्। उनी पछिल्लो केही महिनादेखि स्वास्थ्य मन्त्रालयमा कामविहीन भएर हाजिर गरेर बसेकी थिइन्।
एमाले निकट चिकित्सक भनेर वीर अस्पतालमा लामो समय कामविहीन बनाएर राखिएका डा. मदनकुमार उपाध्यायलाई डा सुधाले स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको निर्देशक बनाएकी छिन्। मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको प्रमुख भएको बेलामा मन्त्री पौडेलले उनलाई वीर अस्पतालमा लगेर कामविहीन राखेका थिए।
डा मदनको सरुवापछि महाशाखाका निर्देशक डा. विवेककुमार लाललगायत १४ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ करोड माग दाबीसहित स्वास्थ्य उपकरण खरिदमा भएको अनियमिततामा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर परिवार कल्याणको प्रमुख पद रिक्त थियो। डा. उपाध्यायलाई परिवार कल्याण महाशाखाको निर्देशकको जिम्मेवारी दिए पनि उनको दरबन्दी भने त्यहाँ हैन। उनको दरबन्दी बाहिरै सरुवा भएको हो।
कोशी अस्पतालमा दरबन्दी रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चन्द्रभाल झाको कोशीमै सरुवा गरियो। उनको दरबन्दी कोशी अस्पतालमै हो। महाशाखाका प्रमुखबाट डा. झालाई हटाएपछि डा. रोशन न्यौपानेलाई निर्देशकको जिम्मेवारी सहित सरुवा गरियो। उनी विभागमा नै कार्यरत थिए। उनको पनि त्यहाँ दरबन्दी हैन।
११औँ तहकी प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. शिलु श्रेष्ठलाई भरतपुर अस्पतालबाट राष्ट्रिय ट्रमा सेन्टरमा सरुवा गरिएको छ। नारायणी अस्पतालका निर्देशक डा. चुमनलाल दासलाई स्वास्थ्य मन्त्रालयमा कामकाजका लागि सरुवा गरियो।
उनी नारायणी अस्पतालमा भएको खरिद बदमासीमा प्रत्यक्ष संलग्न देखिएका थिए। मन्त्रालयमा उनलाई जिम्मेवारी भने तोकिएको छैन। उनको दरबन्दी भने नारायणीमा नै राखिएको छ। सोही अस्पतालमा कार्यरत डा. चित्रञ्जन साहलाई अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ।
मन्त्रीले सरुवाको निर्णय गर्दा खरिद मिलेमतोमा मुछिएका भरतपुर, भेरी, गेटालगायतका अस्पतालका प्रमुख भने सरुवा भएनन्। भरतपुरमा डा कृष्ण पौडेल छन्। उनी १० औ तहका हुन्। तर ११ औ तहको प्रमुख हुनुपर्ने पदमा छन्। उनी लामोदेखि भरतपुरमै छन्। उनी एमआरआई लगायतका खरिदमा भएको मिलेमतोमा संलग्न देखिन्छन्।
भेरीमा रहेका डा नीराजन सुवेदी ११ औँ तहका हुन्। युवा उमेरमै उनी खरिद मिलेमतोमा संलग्न देखिन्छन्। गेटाका प्रमुख रहेका डा प्रमोद यादव पनि १० औँ तहका हुन्। प्रदीप पौडेलले प्रमुख बनाएर पठाएपछि उनले गरेका सबै खरिद मिलेमतोमा भएको थियो। उनी खरिदमा पटक-पटक जोडिएका चिकित्सक हुन्। उनी अगाडि गेटाको प्रमुख रहेका डा विप्लव सापकोटाले ७५ करोडको सामग्री मिलेमतोमा खरिद गरेका थिए।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको दरबन्दी भए पनि पटक पटक सरुवा अवज्ञा गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका खरिद मिलेमतोका बदनाम चिकित्सक डा इन्द्र ढकाल पनि सरुवामा परेनन्। उनी गत वर्षको एमआरआई खरिदमा भएको मिलेमतोमा संलग्न देखिएका थिए। अहिले उनले अगाडि बढाएको पाँच करोड ७५ लाखमा सात किसिमको खरिदमा पनि मिलेमतो देखिएको छ।
रायमाझीले यसरी गरेका थिए खरिद सेटिङ
व्यवस्थापन महाशाखाको निर्देशकमा रहँदा डा. पवनजंग रायमाझी खरिद सेटिङमा सक्रिय थिए। निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलको मुख्य रोजाइमा रहेका उनको कार्यकालमा जति खरिद भए ती निश्चित स्वास्थ्य मेसिन तथा उपकरणका सप्लायर्सको स्वार्थमा भएको देखिएको थियो।
गत आर्थिक वर्ष २०८१–०८२ को साउनयता विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा र स्वास्थ्य संस्था तथा अस्पतालमा भएका मेसिन, औजार तथा उपकरण र स्वास्थ्य सामग्रीको खरिद प्रक्रियाको मिलेमतोबारे उकेरामा प्रकाशित अधिकांश समाचार प्रमाणित समेत भएका थिए।
उकेराको खुलासापछि केही टेन्डर रद्द गरियो, जुन–जुनबारे उकेराले प्रारम्भमै जोसँग मिलेमतो भएको हो भनेर लेखेको थियो अधिकांश टेन्डर अन्तिममा त्यही सप्लायर्सले पाएका थिए।
तर, उकेराले निरन्तर मिलेमतोबारे समाचार सम्प्रेषण गरेपछि स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले करिब दश करोड ८६ लाखका तीन वटा टेन्डर रद्द समेत गरेको थियो। मिलेमतोको खुलासापछि महाशाखाले ‘मोबाइल सी–आर्म’, ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ र ‘फ्राक्शनल फ्लो रिभर्स (एफएफआर) मेजरमेन्ट सिस्टम’को टेन्डर रद्द गरेको थियो।
महाशाखाले २०८२ असार २३ (२०२५ जुलाई ७) मा सूचना प्रकाशित गर्दै यी तीन वटा टेन्डर रद्द गरेको थियो। महाशाखाले तीनमध्ये करिब दुई करोड ८६ लाखमा सात वटा ‘मोबाइल सी–आर्म’ किन्ने गरी अगाडि बढाएको टेन्डर रद्द गर्यो।
महाशाखाले करिब सात करोड २० लाखको ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ खरिदका लागि अघि बढाएको टेन्डर पनि रद्द गर्यो। त्यसैगरी महाशाखाले करिब ८० लाखमा खरिद गर्ने गरी टेन्डर गरेको ‘फ्राक्शनल फ्लो रिभर्स (एफएफआर) मेजरमेन्ट सिस्टम’को टेन्डर पनि रद्द गरेको थियो।
विभाग अन्तर्गतको महाशाखाले ‘मोबाइल सी–आर्म’, ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ र ‘फ्राक्शनल फ्लो रिभर्स (एफएफआर) मेजरमेन्ट सिस्टम’को टेन्डर आह्वान गर्दा स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. विकास देवकोटा थिए। स्वास्थ्यमन्त्री पौडेल थिए।
स्वास्थ्यमन्त्री पौडेलले डा. संगीता कौशल मिश्रालाई हटाउँदै डा. देवकोटालाई गत वर्ष असोज पहिलो साता विभागको महानिर्देशकको जिम्मेवारीमा पठाएका थिए। फागुन तेस्रो साता डा. देवकोटा स्वास्थ्य सचिव भएपछि मन्त्री पौडेलले डा. टङ्कप्रसाद बाराकोटीलाई विभागको महानिर्देशक बनाएका थिए। बाराकोटीले अहिले अगाडि बढाएका केही खरिद पनि निश्चित सप्लायर्सको स्वार्थमा खरिद मापदण्ड बनाएको देखिन्छ।
महाशाखाको खरिद प्रमुखमा डा. सुरेन्द्र चौरासियापछि दया पन्त आएका थिए। चौरासियालाई अख्तियारले विशेष अदालतमा स्वास्थ्य उपकरण खरिदको भ्रष्टाचारमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन्। पन्त पनि खरिद मिलेमतोमा जोडिएका पात्र हुन्।
महाशाखाबाट सेटिङ अनुसारको खरिदको कागजात बनाउने दीपक अधिकारी अनि प्राविधिक स्पेशिफिकेशन लक्ड गरिदिने बायोमेडिकल इन्जिनियर आशिष चौहान पनि अख्तियारमा मुद्दा दर्ता भएपछि निलम्बनमा परेका छन्।
नारायणीको मिलेमतो खरिदका नाइके डा. दास
नारायणी अस्पतालबाट स्वास्थ्यमन्त्री डा. सुधा शर्माले नारायणीबाट फर्काएर स्वास्थ्य मन्त्रालयमा नै ल्याइएका डा. चुमनलाल दास खरिद अनियमिततामा प्रत्यक्ष जोडिएका चिकित्सक हुन्। उनलाई निवर्तमान स्वास्थ्यमन्त्री पौडेलले नारायणीमा निर्देशक बनाएर पठाएका थिए।
डा. चुमनलालले १६ करोडको खरिदमा प्याकेज बनाएर बदमासी गरेका थिए। डा. दास निर्देशक रहेको बेला नारायणी अस्पतालले प्रारम्भमै मिलेमतो अनुसार निकालेको १६ करोड दुई लाखको चार टेन्डरमा एक–एक मात्र प्रस्ताव परेको थियो। खरिद कानुन लत्त्याउँदै मिल्नै नमिल्ने प्याकेज बनाएर निकालिएको टेन्डरको प्राविधिक मूल्याङ्कनमा मिलेमतो अनुसारकै तीन सप्लायर्स कम्पनीको प्रस्ताव पास गरिएको थियो।
बोलपत्र स्वीकृत आशयको सूचना अनुसार एक करोड १७ लाख ८५ हजारमा ‘क्याथ ल्याब इक्वीप्मेन्ट्स’ काठमाडौं ठेगाना भएको बायोमेड इन्टरनेश्नल प्रालि र दुई करोड ९६ लाख १५ हजारमा ‘युरो सर्जरी इक्वीप्मेट्स’ कैलालीको धनगढी ठेगाना भएको डीबी मेडिसिन सेन्टरले पाएको थियो।
तीन करोड ९५ लाख ६ हजारमा ‘मेडिकल इक्वीप्मेन्ट’ र ६ करोड ७३ लाख २३ हजारमा ‘ओटी सेटअप’ काठमाडौं ठेगाना भएको पीएसई लाइफ साइन्सेस प्रालिसँग खरिद गर्ने गरी अस्पतालले टेन्डर स्वीकृत गर्दै सूचना निकालेको थियो।
सम्बन्धित समाचार
२० लाखको ‘सी–आर्म’ मेसिन ४० मा किन्दै विभाग, खरिदमा जोडिए स्वास्थ्य सचिव देवकोटा र महानिर्देशक बाराकोटी
कात्तिक १९, २०८२ बुधबार २०:४९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।