भदौ २४ को संवेदनशील अवस्थामा एकाएक ‘बिरामी’ भएका एआइजी पनि आइजीपीको प्रतिष्पर्धामा
काठमाडौं : भदौ २३ गते जेन-जी पुस्ताको आन्दोलनकोक्रममा नयाँबानेश्वरमा गोली चल्दा एकै दिन १९ जनाको मृत्यु भएको आक्रोशमा नागरिक देशैभर विरोध प्रदर्शनमा सडक प्रदर्शनमा उत्रिदा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको मुख्य चार सहयोगीमध्ये दुई जना अकस्मात् ‘बिरामी’ भएर कार्यक्षेत्रमा उपस्थित नभएको खुलेको छ।
प्रहरी संगठनमा आठ एआइजीको पद भए पनि त्यो बेलामा चार एआइजीमात्र थिए। भदौ २३ मा अधिक बल प्रयोगहुँदा मृतक र घाइतेको संख्या बढेसँगै भोलीपल्ट जेन-जी पुस्ताका अभिभावकहरू समेत सडकमा उत्रिएका थिए। अघिल्लो दिनको सहमति अनुसार बिहानबाट नेपाली सेना र सशस्त्र प्रहरी फिल्डमा नउत्रिँदा प्रहरी एक्लो भयो।
आक्रोशित जनसमूह देशभर सडकमा आउँदा सूचना संकलन र विश्लेषणको जिम्मेवारी भएको अपराध अनुसन्धान विभाग अनि प्रहरीको प्रदेश कार्यालयहरुबीचको समन्वय, निर्देशन, भौतिक र जनशक्ति परिचालनमा सघाउनु पर्ने प्रदेश समन्वय विभाग पनि भदौ २४ का दिन प्रमुखहीन थियो। अपराध अनुसन्धानमा राजन अधिकारी प्रमुख थिए। प्रदेश समन्वयमा डा मनोज केसी।
प्रशासनिक गतिविधिको निर्णायक प्रशासनिक विभागका प्रमुख एआइजी दानबहादुर कार्की र प्रहरी अप्रेसनको मुख्य नेतृत्व गर्ने कार्य विभागको प्रमुखमा एआइजी सिद्धि विक्रम शाह भने कार्यक्षेत्रमा खटिएका थिए।
स्रोतका अनुसार भदौ २४ गते देशभर आन्दोलन चर्किदा एआइजी डा मनोज केसी केन्द्रमा थिएनन्। त्यो बेलामा आन्दोलन सातै प्रदेशमा फैलिएको थियो। यस्तो बेलामा समन्वयनको मुख्य जिम्मेवारी बोकेका डा केसी प्रहरी ब्याटनको छनौटका लागि काठमाडौं बाहिर थिए*। उनलाई प्रहरी प्रधान कार्यालयले प्रहरी दिवसमा दिइने प्रहरी ब्याटनको छनौटका लागि अनुगमनमा खटाएको थियो।
पछि सुशीला कार्कीको नेतृत्वमा सरकार बनेपछि उनलाई प्रदेश समन्वयबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा सरुवा गरेको थियो। सिआइबी प्रमुखहीन थियो।
अपराध अनुसन्धान विभागको प्रमुख रहेका राजन भदौ २४ मा कार्यालय आएका थिए। तर उनी पनि सन्चो नभएको भन्दै बाहिरिए। उनी भने अस्पताल भर्ना भएको स्रोतले बतायो। राजन जेन-जी आन्दोलनपछि भदौ २६ गते मात्र कार्यालयमा हाजिर भएका थिए।
प्रहरी महानिरीक्षक खापुङलाई दुई एआइजी दानबहादुर कार्की र सिद्धिविक्रम शाहले भने पुरै साथ दिएका थिए। भदौ २३ गते नयाँबानेश्वरमा जेन-जी पुस्ताको आन्दोलनहुँदा उपत्यकाको सुरक्षा प्रबन्धको जिम्मेवारी रहेको उपत्यका प्रहरी कार्यालय नेतृत्वहीन थियो। दमनपछि अवस्था थप जटिल बनेपछि उपत्यका प्रहरी कार्यालयको प्रमुखमा कार्कीको सरुवा भएको थियो।
सरुवाको निर्णय लगत्तै कार्की बिहानै उपत्यका प्रहरी कार्यालय पुगेका थिए। उनले पद बहाली गरे लगत्तै ब्रिफिङ अगाडि नै उनलाई गृह मन्त्रालयमा बोलाइयो। उनी गृहमा पुग्दा गृह सचिवसहित नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित सबै पुगिसकेका थिए।
सुरक्षा अवस्थाबारे गृहमा छलफल चलिरहँदा देशभर आन्दोलन चर्कँदै गएको थियो। सडकमा प्रहरी एक्लै थियो। सेना र सशस्त्र खटिएका थिएनन्। अवस्था जटिल बन्दै गएको ब्रिफिङहरू आएपछि प्रधानसेनापति सिग्देलले त्यहीँ जाऊँ भन्दै सबैलाई प्रधानमन्त्री निवास बालुवाटार बोकेर लगेका थिए।
बालुवाटारमा माहौल बिग्रँदै गएको थियो। एमालेका केही नेता र सरकारमा रहेकाहरू पनि त्यहाँ उपस्थित थिए। अवस्था जटिल भएको भन्दै प्रारम्भबाटै केपी शर्मा ओलीले राजीनामा दिए अवस्था शान्त हुनसक्ने ब्रिफिङ भए पनि उनले मानिरहेका थिएनन्। उनी राजीनामा दिन तयार हुँदा साढे १ बजिसकेको थियो।
त्यो बेलासम्ममा आगजनी र तोडफोडको घटना सुरु भइसकेको थियो। बालुवाटारमा रहेका प्रधानमन्त्री ओली राजीनामा दिन राजी भएसँगै सुरक्षाकर्मीमार्फत राजीनामा पत्र राष्ट्रपति निवास पठाएपछि प्रधानसेनापतिसहितका सुरक्षा प्रमुखहरू सैनिक मुख्यालयमा बसेका थिए।
त्यहाँ मुख्यसचिव र गृह सचिवसहितको बैठकमा अवस्था जटिल बन्दै गएको सुरक्षा ब्रिफिङपछि उनीहरूले संयुक्त विज्ञप्ति निकालेका थिए। तर उनीहरूको संयुक्त विज्ञप्तिले पनि अवस्था शान्तिपूर्ण बन्न सकेन।
भदौ २४ को दिन अर्का एआइजी शाह भने कार्य विभागको कमान्ड सम्हालेर बसेका थिए। उनले देशभरका प्रहरी कार्यालयको सुरक्षासँगै प्रहरी प्रधान कार्यालयको समेत सुरक्षा कमान्ड सम्हालेका थिए। प्रदर्शनकारीहरू मन्त्री र दलका नेताहरूको घर घर खोज्दै आगजनी र तोडफोडमा उत्रिएपछि उपप्रधानमन्त्री विष्णु पौडेलसहितका नेताहरू ज्यान जोगाउन प्रहरी प्रधान कार्यालय छिरेका थिए।
नेतालाई आश्रय दिएको भन्दै प्रदर्शनकारीहरू प्रहरी प्रधान कार्यालयमै तोडफोडमा उत्रिएपछि शाहकै नेतृत्वमा प्रदर्शनकारी तितरबितर बनाउने काम भएको थियो। प्रहरी प्रधान कार्यालय जोगाउन त्यो दिन प्रहरीले पाँच सय राउन्ड हवाई फायर गरेको थियो। अश्रुग्याँससमेतको सहयोगमा उनीहरूले प्रहरी प्रधान कार्यालय जोगाउन सके।
अर्को प्रहरी टोलीले प्रहरी तालिम केन्द्र र गणहरू समेत जोगाए पनि त्यो पनि काठमाडौं उपत्यकाका अधिकांश प्रहरी कार्यालयमा तोडफोड,आगजनी र लुटपाट भएको थियो।
कात्तिक २७ गते खापुङले प्रहरी महानिरीक्षकबाट अवकाश पाउँदै छन्। त्यसपछिको नेतृत्वका लागि अहिले संगठनलाई आवश्यक परेको बेलामा एकाएक बिरामी एआइजी राजनसँगै र दानबहादुर, मनोज र सिद्धिविक्रम शाह प्रतिस्पर्धामा छन्।
*डा केसी आन्दोलनको समयमा प्रहरी प्रधान कार्यालयमा नभएको तर यसको कारण उनी "बिरामी' भनेर घरमा बसेको नभई उनलाई प्रहरी ब्याटनको छनौटको लागि प्रहरी प्रधान कार्यालयले २९ गतेसम्म काठमाडौं बाहिर पठाएको खुलेकाले समाचारमा उल्लेख भएको केसी विरामी भएको प्रशंग संशोधन गरिएको छ।
कात्तिक १९, २०८२ बुधबार १६:०२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।