जनार्दन र रामकुमारीबिनै माओवादीसहित आठ दलको एकता सभा, लुसुक्क सभामा पुगे झलनाथ
काठमाडौँ : काठमाडौंको भृकुटीमण्डपमा माओवादी केन्द्र, एकीकृत समाजवादी (एस) लगायत आठ कम्युनिस्ट पार्टीहरूले एकता सभा गरेका छन्। जेन-जी आन्दोलनपछि नेतृत्व बदल्न दलहरूमा बढेको दबाब छल्न साना कम्युनिस्ट पार्टीहरू एक भएका हुन्।
माओवादी निवर्तमान अध्यक्ष (हाल संयोजक) पुष्पकमल दाहाल संयोजक र एकीकृत समाजवादीका अध्यक्ष अध्यक्ष माधवकुमार नेपाल सह-संयोजक हुने गरी पार्टी एकताको घोषणा गर्न लागेका हुन्।
एकताप्रति तीव्र असन्तुष्टि जनाएर एमालेमा फर्कने प्रयास गरेका झलनाथ खनाल पनि सो एकता सभामा सहभागी भएका छन्। एमालेमा प्रवेश गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल सकारात्मक नभएपछि उनी पुन एकीकृत बन्न लागेको पार्टीमै फर्किएका हुन्।
एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री,किशन श्रेष्ठ लगायतकाहरु पनि एकतामा सहभागी भएनन्। उनीहरूले बुधवारै पत्रकार सम्मेलन गरेर आफूहरू अब एकीकृत समाजवादीमा नभएको घोषणा गरेका थिए। यी दुवै नेता एमालेमा प्रवेशको तयारीमा छन्।
माओवादी केन्द्रका नेता जनार्दन शर्मा, राम कार्कीहरू समेत एकतामा सहभागी नभई अलग्गै अभियान घोषणा गरिसकेका छन्।
कात्तिक १९, २०८२ बुधबार १५:०५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।