जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका फरार कैदी दुई महिनापछि पक्राउ

जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका फरार कैदी दुई महिनापछि पक्राउ

काठमाडौं : जेन-जी आन्दोलनमा केन्द्रीय कारागार, सुन्धाराबाट फरार भएका एक कैदी दुई महिनापछि पक्राउ परेका छन्।

लागु औषध तथा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका झापा, दमक-९ का २२ वर्षीय पर्वत भट्टराईलाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो।

महानगरीय प्रहरी प्रभाग, गोंगबुका अनुसार आइतबार राति करिब ८:३० बजे नयाँ बसपार्क गेटमा शंकास्पद अवस्थामा हिँडिरहेका भट्टराईलाई गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले सोमबार गरेको सोधपुछ तथा अनुसन्धानका क्रममा उनी केन्द्रीय कारागारबाट भागेका फरार प्रतिवादी भएको खुलेको हो।

गत भदौ २३ र २४ गते कारागारमा भएको आन्दोलन, तोडफोड र आगजनीको मौका छोपी भट्टराई भदौ २४ गते फरार भएका थिए।

पहिचान खुलेपछि प्रहरीले भट्टराईलाई आवश्यक कारबाहीका लागि सोमबार दिउँसो ४ बजे केन्द्रीय कारागार, जगन्नाथदेवल चलान गरेको छ।

कात्तिक १९, २०८२ बुधबार ११:२४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।