फिलिपिन्समा ‘कालमेगी’ आँधीमा परेर ५२ जनाको मृत्यु, लाखौं विस्थापित

फिलिपिन्समा ‘कालमेगी’ आँधीमा परेर ५२ जनाको मृत्यु, लाखौं विस्थापित

एजेन्सी : फिलिपिन्समा आएको ‘कालमेगी’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ।

आँधीका कारण लाखौं मानिस आफ्नो घर छोडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन् भने तेह्र जना अझै बेपत्ता रहेका छन्।

आँधीले देशका धेरैजसो ठाउँमा भीषण बाढी आएको छ। सबैभन्दा बढी क्षति घना जनसंख्या भएको मध्य टापु ‘सेबु’मा भएको छ, जहाँ धेरै मानिसको ज्यान गएको छ।

सार्वजनिक भएका भिडियोहरूमा मानिसहरू बाढीबाट बच्न घरको छानामा बसेको देखिन्छ भने सडकमा गाडी र ठूला कन्टेनरहरू बगिरहेका छन्।

यसैबीच, राहत तथा उद्धार कार्यमा खटिएको सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा चालक दलका ६ जना सदस्यको मृत्यु भएको छ।

यो दुर्घटना सेबुको दक्षिणमा रहेको मिंडानाओ टापुमा भएको थियो। तर, यी ६ जनालाई आँधीबाट मृत्यु हुनेको आधिकारिक तथ्याङ्कमा समावेश गरिएको छैन।

फिलिपिन्स हरेक वर्ष शक्तिशाली आँधीको चपेटामा पर्ने गर्दछ। यहाँ औसतमा वार्षिक २० वटा आँधी आउँछन्। एक महिनाअघि आएको यस्तै अर्को आँधीमा पनि धेरैले ज्यान गुमाएका थिए।

कात्तिक १९, २०८२ बुधबार ०८:१७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।