सेन्सर बोर्डको निर्देशन नमान्दा ​​​​​​​लफडामा पर्‍यो ‘जेरी अन टप’ र ‘कोशेढुङ्गा’

सेन्सर बोर्डको निर्देशन नमान्दा ​​​​​​​लफडामा पर्‍यो ‘जेरी अन टप’ र ‘कोशेढुङ्गा’

काठमाडौं : अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ र ‘कोशेढुङ्गा’ सेन्सर बोर्डको निर्देशन नमान्दा विवादमा परेका छन्। चलचित्र विकास बोर्डले ‘कोशेढुङ्गा’को प्रदर्शन तत्काल रोक्ने निर्णय गरेको छ भने ‘जेरी अन टप’लाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

चलचित्र विकास बोर्डका सदस्य तथा अनुगमन संयोजक सम्पन्न श्रेष्ठका अनुसार ‘कोशेढुङ्गा’ टिमले सेन्सरको नियम र निर्देशिका उल्लङ्घन गरेको पाइएको छ। उनले भने, ‘यो फिल्मको सम्बन्धमा करिब ११-१२ दिनअघि उजुरी आएको थियो। त्यसपछि हामीले बोर्डलाई जानकारी गरायौँ र अनुगमन टोली पठायौँ। अनुगमनपछि निर्देशन नमानिएको पुष्टि भयो।’ 

श्रेष्ठका अनुसार फिल्म टिमलाई पटक-पटक पत्राचार गर्दा पनि बेवास्ता गरेपछि प्रदर्शन रोक्ने निर्णय गर्नुपरेको हो। ‘कोशेढुङ्गा’ गत भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा आएको थियो। यस फिल्ममा सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिग्देल, निती शाह, प्रवीण खतिवडा र ऋचा शर्माको अभिनय रहेको छ। कथा र निर्देशन सरोज पौडेलले गरेका हुन्।

त्यसैगरी, असोज ३१ गतेबाट प्रदर्शनमा आएको ‘जेरी अन टप’मा पनि सेन्सर बोर्डको निर्देशन उल्लङ्घन गरिएको पाइएको छ। आज बसेको बोर्ड बैठकले फिल्ममा धूम्रपान र मद्यपान दृश्यहरूमा आवश्यक चेतावनी सन्देश नदेखाइएको र एक दृश्यमा अश्लील शब्दमा ‘बीप’ नलगाइएको भन्दै २४ घण्टाभित्र स्पष्टिकरण माग्ने निर्णय गरेको हो।

अनुगमन संयोजक श्रेष्ठले भने, ‘केही हलमा फिल्म हेर्दा धूम्रपान र मद्यपान दृश्यहरूमा कुनै सन्देश नराखिएको पायौँ। त्यसैले आजै २४ घण्टे स्पष्टीकरणको पत्र पठाइएको छ। सन्तोषजनक जवाफ नआएमा नियमअनुसार कारबाही अघि बढाइनेछ।’ 

‘जेरी अन टप’मा अनमोल केसीसँगै सिता गुरुङ, आँचल शर्मा, भुवन केसी र केदार घिमिरे (माग्ने बुढा)को अभिनय छ। फिल्मको निर्देशन सुयोग गुरुङले गरेका हुन्।

कात्तिक १८, २०८२ मंगलबार २१:१३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।