लुम्बिनी अस्पतालको साढे पाँच करोडको खरिदमा डा. इन्द्र र सप्लायर्स उमेशको मिलेमतो, मापदण्ड पुरै लक्ड
काठमाडौं : रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालले कमिसनको खेलमा निश्चित सप्लायर्स कम्पनीलाई टेन्डर दिन मिलेमतो गरेर खरिद प्रक्रिया अगाडि बढाएको छ। अस्पतालले करिब पाँच करोड ७५ लाखमा सात किसिमका मेसिन, औजार तथा उपकरण खरिद गर्नेगरी अगाडि बढाएको खरिद प्रक्रियामा मिलेमतो गरेको खुलेको हो।
लुम्बिनी प्रादेशिक अस्पतालले सात वटै किसिमका मेसिन, औजार तथा उपकरण खरिदका लागि २०८२ असोज १२ (२०२५, सेप्टेम्बर २८)मा टेन्डर आह्वान गरेर खरिद प्रक्रिया अगाडि बढाएको थियो। यी सबै टेन्डरको ‘प्रि–बिड मिटिङ’ असोज ३० गते (२०२५, अक्टोबर १६) दिउँसो दुई बजेलाई तोकेको थियो। तोकिएको समयमा ‘प्रि–बिड मिटिङ’ भइसकेको छ।
तर प्रिबिड मिटिङ भए पनि अस्पताल नेतृत्वले लक्ड गरिएको मापदण्डहरू संशोधन गरेनन्। उनीहरूले प्रारम्भमा स्पेशिफिकेशनमा राखिएको लक्डका प्रावधानहरू राखेरै खरिद प्रक्रिया अगाडि बढाएको छ।
यी सात किसिमकै टेन्डर प्रस्ताव गरिसक्नुपर्ने अन्तिम मिति कात्तिक ११ गते (अक्टोबर २८) दिउँसो १२ बजेसम्मलाई तोकेको थियो। तर, खरिद विवाद निम्तिएपछि टेन्डर प्रस्ताव गरिसक्नुपर्ने अन्तिम मिति ६ दिन पर सारेर कात्तिक १७ गते (नोभेम्बर ३) दिउँसो १२ बजेसम्म पुर्याइयो।
यही अनुसार खरिद प्रक्रिया अगाडि बढे कात्तिक १७ गते सोमबार दिउँसो १२ बजेसम्म सेटिङ अनुसारकै सप्लायर्स कम्पनीले खरिदको जिम्मेवारी पाउने देखिन्छ। टेन्डर दिउँसो दुई बजे खोल्ने समय तोकिएको छ।
अस्पतालका प्रमुख डा. इन्द्र ढकालले मेडिकल उपकरणका एजेन्ट उमेश अग्रवालसँग मिलेमतो गरेर खरिद प्रक्रिया अगाडि बढाएको देखिन्छ। डा. इन्द्र खरिद मिलेमतोमा बदनाम चिकित्सक हुन्। उमेश पनि मिलेमतो गरेर टेन्डर पार्न बदनाम सप्लायर्स हुन्।
स्वास्थ्य मन्त्रालय अन्तर्गतका डा. ढकाल काजमा लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत छन्। प्रदीप पौडेल स्वास्थ्यमन्त्रीहुँदा उनको काज खारेज गरेर दरबन्दी रहेकै स्थानमा हाजिर गर्न निर्णय गरे पनि उनी हाजिर भएनन्। उनको दरबन्दी सङ्घमा छ। मन्त्रालयले काज खारेज गरे पनि उनी पेलेरै लुम्बिनी प्रादेशिक अस्पतालमै रहे। उनी १० औँ तहका चिकित्सक हुन्।
उनी यस अगाडि सिटी मेसिन खरिदको अनियमिततामा समेत जोडिएका थिए। उकेराले खरिद मिलेमतोको खुलासा गरेसँगै उनले खरिद प्रक्रिया रद्ध गरेका थिए। अग्रवालले बायोमेड इन्टरनेशनलबाट खरिद प्रतिस्पर्धामा सहभागी हुने गरेका छन्।
उनी यस अगाडि स्वास्थ्य सेवा विभागबाट अगाडि बढेको मिलेमतोको खरिद र नारायणी अस्पतालको एक करोड ४० को ‘क्याथ ल्याब इक्विप्मेन्ट्स’ को टेन्डर मिलेमतोमा पारेका थिए। गत वर्ष नारायणीका प्रमुख डा चुमनलाल दासले मिलेमतो गरेर उनी र अर्का ‘पीएसई लाइफ साइन्सेस प्रालि’ छानिएको छ।
यो बारा सिम्रौनगढका शशी कुमार श्रीवास्तवको कम्पनी एजेन्ट रहेको मेसिन तथा उपकरणसँग मात्र मिल्ने स्पेशिफिकेशन बनाएर १७ करोडको खरिदमा परेको प्रस्ताव पारित गरेका थिए।
लुम्बिनीको खरिदमा सिधै मिलेमतो
लुम्बिनी प्रादेशिक अस्पतालले अगाडि बढाएको खरिद प्रक्रियामा एक करोड ९७ लाखमा एक सेट ‘ल्याप्रोस्कोपि टावर वीथ हिस्टेरोस्कोप सिस्टम एन्ड भेसल सेलर इएसयू’, एक करोड १४ लाखमा दुई सेट ‘एनेस्थेसिया वर्क स्टेसन’, ९६ लाख ४० हजारमा दुई सेट ‘न्योनेटल भेन्टिलेटर’ खरिद गर्ने गरी टेन्डर प्रक्रिया अगाडि बढाएको छ।
५२ लाख ८० हजारमा दुई सेट ‘ओटी लाइट’, ३७ लाखमा दुई सेट ‘ओटी टेबल’, ५३ लाख २० हजारमा एक सेट ‘अटोक्लेभ’ र करिब २४ लाख ८० हजारमा दुई सेट ‘कट्री मेसिन’ खरिदका लागि समेत टेन्डर प्रक्रिया अगाडि बढाएको छ। यी सबै टेन्डरमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा नभई राष्ट्रिय प्रतिस्पर्धाको सर्त राखिएको छ।
पटक-पटक खरिद मिलेमतोमा जोडिने गरेका डा ढकाल खरिदमा कुनै समस्या भए जानकारी लिने दाबी गर्छन्। उनले यस विषयमा प्राविधिक टिमसँग जानकारी लिएर आवश्यक परेको खण्डमा समय थप गरेर संशोधनका लागि निर्देशन दिने दाबी गरे।
एक करोड ९७ लाखको ल्याप्रोस्कोपी सिधै लक्ड
लुम्बिनी प्रादेशिक अस्पतालले एक करोड ९७ लाखमा एक सेट ‘ल्याप्रोस्कोपि टावर वीथ हिस्टेरोस्कोप सिस्टम एन्ड भेसल सेलर इएसयू’ किन्न टेन्डर प्रक्रिया अगाडि बढाएको छ। यो टेन्डरमा भएका स्पेसिफिकेशनका मापदण्डहरू हेर्दा निश्चित उत्पादक कम्पनीका उत्पादनसँग मात्रै मिल्नेगरी बनाइएको पुष्टि हुन्छ।
यसमा लक्ड भएको खुलेपछि सप्लायर्स कम्पनीहरूले ‘प्रि–बिड मिटिङ’मा स्पेशिफिकेशन संशोधनको माग गरेका थिए। केही बुँदा संशोधन पनि भयो। तर लक्ड गरिएका प्रावधान खुलेन। ‘प्रि–बिड मिटिङ’पछि अस्पतालले केही बुँदाहरू झारा टार्न संशोधन गरेर कात्तिक १२ गते (२०२५, अक्टोबर २९) मा प्रकाशित गर्यो। तर, मुख्य लक्ड बुँदाहरू कायमै देखियो।
अस्पतालले खरिद प्रक्रिया अगाडि बढाएको ‘ल्याप्रोस्कोपि टावर वीथ हिस्टेरोस्कोप सिस्टम एन्ड भेसल सेलर इएसयू’ मेसिनको टेन्डरको प्राविधिक बुँदा हेर्दा सुरुमा टावरको प्राविधिक स्पेशिफिकेशन मेसिन उत्पादक कम्पनी ‘एम्नोटेक’ र भेसल सेलर ‘इर्बे’सँग मात्रै मिल्नेगरी बनाइएको थियो।
तर, मिलेमतो खुल्ने भएपछि प्रिबिड मिटिङपछि संशोधन गरेर मेसिन उत्पादक कम्पनी ‘स्मिथ एन्ड नेफ्यू’सँग मात्रै मिल्नेगरी विशेषगरी ल्याप्रोसकोपिको टावर लक्ड गरियो। यी सबै ल्याप्रोस्कोपी उत्पादक कम्पनी सप्लायर्स उमेश अग्रवाल हुन्। र, उनकै कम्पनीलाई टेन्डर दिने रणनीति अनुसार ल्याप्रोसकोपी मेसिनको खरिद प्रक्रिया अगाडि बढेको देखिन्छ।
‘ल्याप्रोस्कोपि टावर वीथ हिस्टेरोस्कोप सिस्टम एन्ड भेसल सेलर इएसयू’का प्रावधानहरू हेर्दा बुँदा नम्बर ‘१४’,‘१५’‘१६’‘१७’‘१८’‘१९’‘२०’, ‘२४’, ‘३६’, ‘६६’ लगायतका ‘स्मिथ एन्ड नेफ्यू’सँग मात्रै मिल्नेगरी लक्ड गरेको देखिन्छ।
‘ल्याप्रोस्कोपि टावर वीथ हिस्टेरोस्कोप सिस्टम एन्ड भेसल सेलर इएसयू’को लक्ड गरिएका केही उदाहरण हेरौँ।
संशोधन गर्नुअघि ल्याप्रोस्कोपिको प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘१४’ मा ‘सुड ह्याभ फ्यासिलिटिज फर यूएसबी मेमोरी क्याप्चर मोड्यूल एन्ड युजर प्रिजेन्ट फर सर्जिकल एप्लिकेशन’ थियो। यो बुँदा संशोधन गरेर ‘सुड ह्याभ फ्यासिलिटिज फर यूएसबी मेमोरी एन्ड ट्याब्लेट मेमोरी वीथ क्याप्चर मोड्यूल एन्ड युजर प्रिजेन्ट फर सर्जिकल एप्लिकेशन’ बनाइयो। यो बुँदामा ‘ट्याब्लेट’ थपेर ‘स्मिथ एन्ड नेफ्यू’सँग मात्रै मिल्नेगरी लक्ड गरियो।
बुँदा नम्बर ‘१५’ मा ‘सिस्टम मस्ट ह्याभ दी अप्सन फर ह्वाइट ब्यालेन्स एन्ड ब्ल्याक ब्यालेन्स’ उल्लेख थियो। तर, यसलाई संशोधन गरेर ‘सिस्टम मस्ट ह्याभ दी अप्सन फर ह्वाइट ब्यालेन्स बाई क्यामेरा हेड, इमेजिङ कन्सोल एन्ड ट्याब्लेट’ भन्ने मापदण्ड राखेर निश्चित कम्पनीको मेसिनसँग मात्रै मिल्नेगरी लक्ड गरेको प्रस्टै देखिन्छ।
‘उत्पादक कम्पनी एम्नोटेकमा भएको ब्ल्याक ब्यालेन्स भन्ने मापदण्ड हटाएर यसको सट्टामा स्मिथ एन्ड नेफ्यूसँग मात्रै मिल्नेगरी लक्ड गरेर ट्याब्लेट समेत थपियो,’एक बायोमेडिकल इन्जिनियरले भने,‘यसको आपूर्तिकर्ता बायोमेड इन्टरनेश्नल नै हो।’
बुँदा नम्बर ‘१९’ मा ‘एलइडी सोर्स वीथ इन्टेन्सिटी एन्ड लो हिट कन्डक्शन’ भन्ने मापदण्ड राखिएको थियो। यो बुँदालाई संशोधन गर्दै ‘एलइडी लाइट सोर्स इन्टेग्रेटेड वीथ प्रसेसर वीथ हाइ इन्टेन्सिटी एन्ड लो हिट कन्डक्शन’ भन्ने प्रावधान राखियो।
मेसिन उत्पादक कम्पनी अम्नोटेकसँग छुट्टै लाइट सोर्स थियो, तर स्मिथ एन्ड नेफ्यूसँग एकीकृत (इन्टेग्रटेड) लाइट सोर्स छ। यसरी स्मिथ एन्ड नेफ्यूसँगमात्रै मिल्नेगरी यो बुँदा पनि लक्ड गरेको देखियो।
बुँदा नम्बर ‘२०’ मा ‘एलइडी लाइट वीथ मिनिमम ५०००० अवर्स अफ लाइफ’भन्ने प्रावधानलाई संशोधन गरेर ‘एलइडी लाइट वीथ मिनिमम ३०००० अर मोर आवर्स अफ लाइफ’ भन्ने प्रावधान राखियो। यो बुँदामा पनि ठ्याक्कै मेसिन उत्पादक कम्पनी ‘स्मिथ एन्ड नेफ्यूसँग मात्रै मिल्नेगरी लक्ड गरियो।
‘ल्याप्रोस्कोपि टावर वीथ हिस्टेरोस्कोप सिस्टम एन्ड भेसल सेलर इएसयू’को ‘भेसल सेलर इएसयू’ पनि लक्ड नै गरेको देखिन्छ।
‘भेसल सेलर इएसयू’को बुँदा नम्बर ‘११’,‘१३’,‘१५’,‘३५’, ‘इ’लगायतका विभिन्न बुँदाहरू मेसिन उत्पादक कम्पनी ‘इर्बे’सँग मात्रै मिल्नेगरी लक्ड गरिएको छ। जसको नेपाली सप्लायर्स कम्पनी बायोमेड इन्टरनेश्नल र यसका मालिक उमेश अग्रवाल नै हुन्।
लक्ड गरिएको पक्षको उदाहरणका लागि ‘भेसल सेलर इएसयू’को बुँदा नम्बर ‘११’ मा ‘सुड ह्याभ म्याक्सिमम आउटपुट अप टु ३६० वाट्स्’ छ। जुन ‘इर्बे’सँग मात्रै मिल्ने देखिन्छ।
लुम्बिनीले टेन्डर आह्वान गरेको ‘ल्याप्रोस्कोपि टावर वीथ हिस्टेरोस्कोप सिस्टम एन्ड भेसल सेलर इएसयू’ ठेक्का (आइएफबी) नम्बर ‘एलपीएच–एनसीबी–गुड्स–३०–०८२–८३’ हो। सो टेन्डरको कागजातमा, ‘सप्लाई डेलिभरी एन्ड इन्स्टलेशन अफ ल्याप्रोस्कोपि टावर वीथ हिस्टेरोस्कोप सिस्टम एन्ड भेसल सेलर इएसयू’ लेखिएको छ।
साढे ९६ लाखको न्योनेटल भेन्टिलेटरको मापदण्ड पनि उस्तै
अस्पतालले ९६ लाख ४० हजारमा खरिद गर्नेगरी ‘न्योनेटल भेन्टिलेटर’को टेन्डर प्रक्रिया अगाडि बढाएको छ। यसका खरिद मापदण्ड पनि लक्ड देखियो। यसको मापदण्ड मेसिन उत्पादक कम्पनी ड्रयागरको उत्पादकसँग मात्र मिल्ने देखिन्छ।
यसको ‘प्रि–बिड मिटिङ’मा सप्लायर्स कम्पनीहरूले लक्ड भएका स्पेशिफिकेशनका बुँदा संशोधनको माग गरे। तर, ‘प्रि–बिड मिटिङ’पछि अस्पतालले यसको स्पेशिफिकेशन संशोधन नै गरेन। बरु कारण नै नखुलाई टेन्डर प्रस्ताव गर्ने मिति ६ दिन पर सार्यो। यसको पनि कात्तिक १७ गते सोमबारलाई टेन्डर प्रस्ताव गरिसक्नुपर्ने अन्तिम मिति तोकिएको छ।
‘न्योनेटल भेन्टिलेटर’ पनि उमेश अग्रवालकै सेटिङ अनुसार लक्ड गरेको देखिन्छ। ‘न्योनेटल भेन्टिलेटर’को प्राविधिक स्पेशिफिकेशनका बुँदा नम्बर ‘५’,‘६’,‘७’,‘२२’, ‘३१ देखि ४२’,‘६०’, ‘६१’, ‘६२’, ‘६३’ लगायतका बुँदाहरू ड्रयागरसँग मात्रै मिल्नेगरी लक्ड गरिएको छ।
यो टेन्डर उमेश अग्रवालको बायोमेड इन्टरनेश्नललाई नै दिनेगरी लक्ड गरिएको देखिन्छ। उदाहरणको रूपमा प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘५’ मा ‘सुड ह्याभ मेन्स-ब्याट्री अप्रेसन वीथ एटलिष्ट ३० मिनेट्स ब्याकअप’ उल्लेख छ।
यो बुँदा मेसिन पनि ड्रयागरको उत्पादित मेसिनसँग मात्रै मिल्नेगरी लक्ड गरेको देखिन्छ। यसका अन्य बुँदाहरू पनि यसरी नै लक्ड गरिएको देखिन्छ।
लुम्बिनीले टेन्डर आह्वान गरेको ‘न्योनेटल भेन्टिलेटर’को ठेक्का (आइएफबी) नम्बर ‘एलपीएच–एनसीबी–गुड्स–३३–०८२–८३’ हो। सो टेन्डरको कागजातमा ‘सप्लाई डेलिभरी एन्ड इन्स्टलेशन अफ न्योनेटल भेन्टिलेटर’ लेखिएको छ।
एक करोड १४ लाखको एनेस्थेसिया खरिद शंकामा
अस्पतालले एक करोड १४ लाखमा ‘एनेस्थेसिया वर्क स्टेसन’ किन्न टेन्डर प्रक्रिया अगाडि बढाएको छ। यसको खरिद मापदण्डहरू पनि निश्चित सप्लायर्सको स्वार्थमा देखियो। यो टेन्डरमा भएका स्पेसिफिकेशनका मापदण्डहरू हेर्दा निश्चित उत्पादक कम्पनीका उत्पादनसँग मात्रै मिल्नेगरी बनाइएको देखिन्छ।
यसको पनि ‘प्रि–बिड मिटिङ’ पछि अस्पतालले ‘एनेस्थेसिया वर्क स्टेसन’का प्राविधिक स्पेशिफिकेशनका केही बुँदाहरू संशोधन गरेर कात्तिक १२ गते (२०२५, अक्टोबर २९) मा संशोधित स्पेशिफिकेशन प्रकाशित गर्यो। तर, त्यसमा लक्ड गरिएका बुँदाहरू भने संशोधन भएनन्।
लुम्बिनीले टेन्डर आह्वान गरेको ‘एनेस्थेसिया वर्क स्टेसन’को ठेक्का (आइएफबी) नम्बर ‘एलपीएच–एनसीबी–गुड्स–३१–०८२–८३’ हो। सो टेन्डरको कागजातमा ‘सप्लाई डेलिभरी एन्ड इन्स्टलेशन अफ एनेस्थेसिया वर्क स्टेसन’ लेखिएको छ।
अस्पतालले ५२ लाख ८० हजारमा खरिद गर्नेगरी ‘ओटी लाइट’को टेन्डर प्रक्रिया अगाडि बढाएको छ। यो टेन्डरको खरिद मापदण्ड निश्चित उत्पादकबाट प्रभावित देखिएन।
लुम्बिनीले टेन्डर आह्वान गरेको ‘ओटी लाइट’को ठेक्का (आइएफबी) नम्बर ‘एलपीएच–एनसीबी–गुड्स–३३–०८२–८३’ हो। सो टेन्डरको कागजातमा ‘सप्लाई डेलिभरी एन्ड इन्स्टलेशन अफ ओटी लाइट’ लेखिएको छ।
अस्पतालले ३७ लाखमा एक सेट ‘ओटी टेबल’ खरिद गर्नेगरी टेन्डर प्रक्रिया अगाडि बढाएको छ। महँगो मूल्यमा एक सेट मात्रै ओटी टेबल खरिद गर्नेगरी प्रक्रिया अगाडि बढाएपछि विवाद हुने भएपछि ‘प्रि–बिड मिटिङ’ अघि नै टेन्डर कागजात संशोधन गरेर यही मूल्यमा दुई सेट खरिद गर्नेगरी टेन्डर कागजात संशोधन गरियो। यसले नै खरिद प्रक्रिया बदमासीमा अगाडि बढेको देखिन्छ।
टेन्डरमा कुनै त्रुटि वा संशोधन भए सामान्यतया ‘प्रि–बिड मिटिङ’पछि मात्रै सच्याउने तथा संशोधनको काम गरिन्छ। यसको संख्या पहिल्यै संशोधन गरेर एउटा टेबल किन्ने मूल्यमा दुईवटा बनाइयो। यो टेन्डर कागजातमा टेन्डर आह्वान भएको मिति र सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को विद्युतीय प्रणालीमा प्रकाशित ‘बिड डकुमेन्ट’को मिति नै फरक छ।
उदाहरणको रूपमा यो ओटी टेबलको टेन्डर आह्वान भएको मिति असोज १२ (२०२५, सेप्टेम्बर २८) छ, तर, पिपीएमओमा भने असोज ११ (२०२५, सेप्टेम्बर २७)मा नै ‘बिड डकुमेन्ट’को प्रकाशित मिति उल्लेख छ। जबकि जुन मितिमा टेन्डर आह्वान भएको हुन्छ सोही मितिमा पीपीएमओको विद्युतीय प्रणालीमा टेन्डर कागजात (बिड डकुमेन्ट) प्रकाशित (अपलोड) भएको हुनुपर्ने हो।
लुम्बिनीले टेन्डर आह्वान गरेको ‘ओटी टेबल’को ठेक्का (आइएफबी) नम्बर ‘एलपीएच–एनसीबी–गुड्स–३५–०८२–८३’ हो। सो टेन्डरको कागजातमा ‘सप्लाई डेलिभरी एन्ड इन्स्टलेशन अफ ओटी टेबल’ लेखिएको छ।
अस्पतालले ५३ लाख २० हजारमा अटोक्लेभ’को टेन्डर प्रक्रिया अगाडि बढाएको छ। ‘प्रि–बिड मिटिङ’पछि अस्पतालले स्पेशिफिकेशन संशोधन नै गरेन। बरु टेन्डर प्रस्ताव गर्ने मिति भने कारण नै नखुलाई ६ दिन पर सार्यो।
लुम्बिनीले टेन्डर आह्वान गरेको ‘अटोक्लेभ’को ठेक्का (आइएफबी) नम्बर ‘एलपीएच–एनसीबी–गुड्स–३६–०८२–८३’ हो। सो टेन्डरको कागजातमा ‘सप्लाई डेलिभरी एन्ड इन्स्टलेशन अफ अटोक्लेभ’ लेखिएको छ।
अस्पतालले करिब २४ लाख ८० हजारमा खरिद गर्नेगरी ‘कट्री मेसिन’को टेन्डर प्रक्रिया अगाडि बढाएको छ। ‘प्रि–बिड मिटिङ’पछि अस्पतालले केही बुँदाहरू संशोधन गरेर संशोधित स्पेशिफिकेशन कात्तिक १२ गते (२०२५, अक्टोबर २९) मा प्रकाशित गरेको छ।
अस्पतालले टेन्डर आह्वान गरेको ‘कट्री मेसिन’को ठेक्का (आइएफबी) नम्बर ‘एलपीएच–एनसीबी–गुड्स–३९–०८२–८३’ हो। सो टेन्डरको कागजातमा ‘सप्लाई डेलिभरी एन्ड इन्स्टलेशन अफ कट्री मेसिन’ उल्लेख छ।
कात्तिक १६, २०८२ आइतबार २१:५९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।