बालेनको मध्यरातको स्टाटस बम, महावीर पुनदेखि माग्नेबुढासम्मले उडाए सञ्जालमा

बालेनको मध्यरातको स्टाटस बम, महावीर पुनदेखि माग्नेबुढासम्मले उडाए सञ्जालमा

काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिवार मध्यरात सामाजिक सञ्जालमा विभिन्न देश र नेपालका पार्टीको नामसँगै अश्लील गाली गरेर राखेको स्टाटसको तीव्र आलोचना भइरहेको छ। बालेनले केही समय राखेर सो स्टाटस डिलेट गरेका थिए। तर शनिवार बेलुकैबाट उनले हटाएको स्टाटसको स्क्रिन सट राखेर आलोचना सुरु भयो।

उनले होसमा होस् या बेहोसमा होस् जे लेखे त्यो मेयरको पदीय मर्यादा सुहाउँदो व्यवहार नभएको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ। कलाकार माग्नेबुढाले उनको यही स्टाटसलाई फिल्म जेरी अनटपको प्रचारमा प्रयोग गरेका छन्। उता अन्तरिम सरकारका शिक्षामन्त्री महावीर पुनले समेत सामाजिक सञ्जालमा 'फुकेर नलेख्न' भन्दै व्यङ्ग्य गरेका छन्।

मेयर बालेनले सामाजिक सञ्जालमा लेखेको आधारमा यती तीव्र आलोचना भएको यो पहिलो पटक भने हैन। उनले सामाजिक सञ्जालमा राख्ने धारणा पटक पटक विवादित हुँदै आएका छन्। आफ्नो श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको झोकमा उनले सिंहदरबार जलाउने धम्की दिँदै लेखेका थिए। जेन-जी आन्दोलनमा सिंहदरबार जल्यो। काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन समयमा नआएकाले अहिले सिंहदरबार जलेको घटनालाई उनको सो स्टाटससँग जोडेर आलोचना भइरहेको छ।

यो बिचमा पनि उनले सामाजिक सञ्जालमा विवाद बढाउने यस्ता सामग्री पटक पटक पोस्ट गर्ने गरेका छन्। शनिवार बेलुका भने नेपाली समाजले अश्लील शब्दको रूपमा बुझ्ने शब्द राख्दै उनले भारतदेखि अमेरिकासम्म अनि कांग्रेस,एमालेदेखि रास्वपासम्मलाई गाली गरेका थिए।

कात्तिक १६, २०८२ आइतबार १२:०५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।