सरकारी प्रतिवेदन अस्वीकार गर्दै आन्दोलन जारी राख्ने नर्स तथा स्वास्थ्यकर्मीको घोषणा, बिरामीलाई परेको असुविधाप्रति क्षमायाचना
काठमाडौं : नर्स तथा स्वास्थ्यकर्मी संघर्ष समितिले प्रधानमन्त्रीको निर्देशनमा गठित कार्यदलले पेश गरेको प्रतिवेदनलाई अस्वीकार गर्दै आफ्नो आन्दोलन जारी राख्ने घोषणा गरेको छ।
समितिले उक्त प्रतिवेदनले आन्दोलनरत स्वास्थ्यकर्मीहरूको मर्म, पीडा र पेशागत सम्मानलाई उचित रूपमा समेट्न असफल भएको भन्दै असन्तुष्टि जनाएको हो।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले कार्यदलको प्रतिवेदनमा आफ्ना प्रतिनिधि नर्स ज्योति रानाभाटले असहमति जनाउँदै हस्ताक्षर नगरेको स्पष्ट पारेको छ।
मागहरू सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिन देशभरका सम्पूर्ण नर्स तथा स्वास्थ्यकर्मीहरूलाई आह्वान गरिएको छ।
समितिले आफ्नो बटम लाइन नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग मिति २०८१/०८/२७ र २०८२/०६/२४ मा भएका सहमतिका बुँदाहरूको पूर्ण कार्यान्वयन रहेको अडान राखेको छ।
‘यसबाहेक कुनै पनि सम्झौतामा हामी सहमत हुने छैनौँ, र हाम्रो आन्दोलन अझ सशक्त, नियमित र दिगो रूपमा अघि बढ्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णय हाम्रो रहर होइन- बाध्यता हो।’
आन्दोलनका कारण बिरामी तथा उनीहरूका अभिभावकलाई पर्न गएको असुविधाप्रति समितिले हार्दिक क्षमायाचना गरेको छ। उनीहरूले आफ्नो उद्देश्य सेवा रोक्नु नभई सेवा क्षेत्रमा न्याय र सम्मान पुनःस्थापित गर्नु रहेको बताएका छन्।
समितिले जति सक्दो छिटो काममा फर्कन इच्छुक रहेको तर त्यसका लागि सरकार र सम्बन्धित निकायले तत्काल आफ्ना माग पूरा गर्नुपर्ने सर्त राखेको छ।
उनीहरूका मुख्य मागहरूमा ‘श्रमको सम्मान, समान कामको समान ज्याला, र समान सेवाको समान शुल्क’ को सुनिश्चितता रहेका छन्।
‘सम्झौता होइन- समाधान चाहान्छौँ’ र ‘समान कामको समान ज्याला- समान सेवाको समान मूल्य’को नारासहित समितिले आफ्ना माग पूरा नभएसम्म शान्त, संगठित र दृढ रूपमा आन्दोलनलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
कात्तिक १६, २०८२ आइतबार ०८:५८:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।