वर्षा र पहिरोले देशभरका मुख्य राजमार्गहरू अवरुद्ध, यात्रुहरूलाई सतर्क रहन आग्रह
काठमाडौं : अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्, जसले गर्दा यातायात सेवा प्रभावित भएको छ र यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ।
बिहान ८:३० बजेसम्म प्राप्त जानकारी अनुसार कोशी प्रदेशमा चक्रवात ‘मोन्था’को प्रभावदेखि मध्यपहाडी लोकमार्गमा चलिरहेको निर्माण कार्यसम्मका कारणले सडक सञ्जालमा व्यापक असर परेको हो।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण हुनसक्ने विपद्लाई मध्यनजर गर्दै ईलाम जिल्लाभित्रको मेची राजमार्गमा कार्तिक १३ गतेदेखि रातिको समयमा (१९:०० बजेदेखि बिहान ०६:०० बजेसम्म) अर्को सूचना जारी नभएसम्मका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
कार्तिक १४ गते बिहानदेखि परेको अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-६ चौकीडाँडा र रोशी गाउँपालिकाका विभिन्न स्थान (डालाबेशी, बिरुवाडाँडा, नार्के) मा लेदो र ढुंगा खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
गोसाईंकुण्ड गाउँपालिका-२ को तातोपानी, बालुवाखानी, घट्टेखोला लगायतका स्थानमा माथिबाट ढुंगासहितको लेदो खस्दा पासाङल्हामु राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
मकवानपुर (कुलेखानी-सिस्नेरी सडकखण्ड): इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेमा अविरल वर्षाका कारण पहिरो खस्दा कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्ड कार्तिक १५ गते साँझदेखि अवरुद्ध छ।
भोटखोला गाउँपालिका-४ स्थित बरुणखोलामा गत असार ६ गते आएको बाढीले ह्युम पाइप बगाएपछि खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग लामो समयदेखि पूर्ण रूपमा अवरुद्ध छ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ को छुसाङ र ताङवेबीचको कालाभिरमा लेदोसहितको पहिरो खस्दा जोमसोम-कोरला सडकखण्ड कार्तिक १३ गतेदेखि पूर्ण रूपमा बन्द छ।
कार्तिक १४ गते रातिदेखिको अविरल वर्षाले नावाखोलामा आएको बाढीका कारण पाँचथरको तुम्बेवा र धनकुटाको चौबिसे गाउँपालिका जोड्ने तमोर कोरिडोर सडकखण्ड अवरुद्ध भएको छ।
यस्तै पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत सिस्ने गाउँपालिका-६ को रानीकोट, किटानी, साँख एरियामा निर्माण कार्य जारी रहेकाले कार्तिक १२ गतेदेखि कार्तिक ३० गतेसम्म यो सडक खण्डमा यातायात पूर्ण रूपमा बन्द गरिएको छ।
कात्तिक १६, २०८२ आइतबार ०८:५१:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।