चौथो वर्षका ५२ समाचार : जसले खोल्यो जेन-जी आन्दोलनको गोप्य रणनीतिदेखि बालेन र पारसको बदमासीसम्म

चौथो वर्षका ५२ समाचार : जसले खोल्यो जेन-जी आन्दोलनको गोप्य रणनीतिदेखि बालेन र पारसको बदमासीसम्म

काठमाडौँ : चौथो वर्षमा पनि उकेराले स्थापनाकालदेखिकै योजना अनुसार औपचारिक भन्दा खोजमूलक र विस्तृत समाचारमै जोड दियो। तेस्रो वर्षमा सुरु भएका अनियमितता सम्बन्धी रिपोर्टिङले चौथो वर्षमा पनि निरन्तरता पायो, चौथो वर्षमा हामीले थप गम्भीर अनियमितताका घटना उजागर गर्न सफल भयौँ।

उकेराको चौथो वर्ष तथ्य, उत्तरदायित्व र नागरिकमुखी पत्रकारिताको प्रतिबद्धताको वर्ष रह्यो। उकेराको चौथो वर्षभर राजनीतिक अस्थिरता, शासन प्रणालीमा विफलता, भ्रष्टाचार, न्याय प्रणाली, र जनआन्दोलनसँग सम्बन्धित विषयहरू मुख्य केन्द्रबिन्दु बने।

सार्वजनिक सेवा, खेलकुद, संस्कृति, इतिहास र वातावरणीय संकटजस्ता क्षेत्रहरूमा पनि उकेराको निरन्तर खोजमूलक र विश्लेषणात्मक उपस्थिति रह्यो।

 १. शासनसत्तामाथि  निगरानी

भदौ २३ र २४ को ‘जेन-जी विद्रोह’ सम्बन्धी गहिरो र निरन्तर रिपोर्टिङ उकेराको वर्षभरको मुख्य विषय बन्यो। हामीले देशको राजनीतिक शून्यता, सुरक्षाको विफलता, र कानुनी अव्यवस्था उजागर गर्यौ। सैनिक हस्तक्षेपदेखि प्रधानमन्त्री केपी ओलीको राजीनामा र सुशीला कार्कीको उदयसम्मका घटनालाई तथ्य र दस्ताबेजसहित प्रस्तुत गर्यौ।

‘हामी नेपाल’ समूह, राजावादी र विदेशी सङ्गठनहरूको घुसपैठ र प्रभावसम्बन्धी खोजमूलक सामग्रीले एक हदसम्म आन्दोलनको संरचना र रहस्य खुलाउन सफल भयो। उकेराले २०८१ चैत २५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनबारे पनि यस्तै मिहिन सामग्री प्रकाशित गरेको थियो।

 २. भ्रष्टाचार र सार्वजनिक जबाफदेहिता

हामीले भ्रष्टाचारविरुद्धको खोजमूलक रिपोर्टिङलाई उच्च प्राथमिकता दियौँ। स्वास्थ्य उपकरण खरिदमा मिलेमतोको निरन्तर उजागरले टेन्डर रद्ददेखि अदालतसम्म मुद्दाहरू पुगे। सङ्घीय वित्त आयोगमा अन्तर्राष्ट्रिय सहयोगको आवरणमा भएको बदमासी र सूचना चुहावटलाई प्रमाणसहित सार्वजनिक गर्यौँ।

सङ्घीयता कार्यान्वयनको नाममा राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगको नाममा आएका अन्तर्राष्ट्रिय सहयोग अनि सहयोगको आवरणमा युएसएड अनि एसिया फाउन्डेसनले सहयोगी संस्थामार्फत लगेको नेपालको गोप्य सूचनाबारे उकेराले एक्सक्लुसिभ सामग्री प्रकाशित गरेको थियो। वित्त आयोगको नाममा भएको बदमासीमा आयोगका तत्कालीन अध्यक्ष र सदस्य प्रत्यक्ष संलग्न देखिएका थिए।

तेस्रो वर्षमा बागमती नगरपालिकाका मेयर भरत थापाबारे खोजमूलक सामग्री प्रकाशित गरेका थियौँ। चौथो वर्षमा थापामाथिको आरोपको विशेष अदालतमा परीक्षण भएर उनी केहीमा दोषी ठहर भए, केही मुद्दा विचाराधीन छ।

आर्थिक अनियमिततामा कडा मानिने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजमा उज्यालो काठमाडौं कार्यक्रममा भएको खर्चको अनियमिततादेखि समाजसेवाको आवरणमा उत्तम सन्जेलले चलाएको ठगी नेटवर्कसम्मको निरन्तर खुलासा गर्यौँ।

 ३. अपराधन्याय र सुरक्षा

गौर र रौतहट बम विस्फोट घटना, मोहम्मद आफताब आलम प्रकरण, र तीनकुने दङ्गाको सुरक्षा विफलता जस्ता घटनामा उकेराले निष्क्रिय राज्य संयन्त्रको पर्दाफास गर्यो। उकेरा नियमित पढ्ने पाठकहरूका लागि निर्मल पुर्जाको बदमासी नौलो हैन। उकेराले प्रारम्भबाटै पुर्जाको दोहोरो नागरिकता अनि दोहोरो राहदानीसँगै कपनमा उनको कार्यालय रहेको घरमा भएको शङ्कास्पद विस्फोटबारे प्रमाणसहित समाचार प्रकाशित गर्दै आएको थियो।

उकेराको खुलासासँगै उनले नेपालको नागरिकता त्यागे। कपनमा रहेको घरमा भएको विस्फोटको मुद्दा चलिरहेको थियो। गत वर्ष अदालतबाट पुर्जाको कम्पनीलाई जिम्मेवार ठहर्याउँदै क्षतिपूर्ति तिर्नुपर्ने निर्णय गर्यो। तर सो घरमा भएको शङ्कास्पद विस्फोटको रहस्य अझै खुल्न सकेको छैन।

मिडीयाहुदै राजनीतिमा प्रवेश गरेका रवि लामिछानेमाथिको सहकारी ठगीको अभियोग अनुसन्धानको चरणमा प्रवेश भयो। उनी विरुद्ध पोखराहुँदै काठमाडौँ, चितवन र रुपन्देहीसम्मै सहकारी ठगीमा अनुसन्धान भयो अनि अभियोग पत्र दर्ता भए।

प्रारम्भमा राजनीतिक नाफाघाटा हेर्दै रविलाई अनुसन्धानको दायरामा ल्याउन अवरोध भएको थियो। जब नेपाली कांग्रेस र एमालेको गठबन्धन बन्यो रविमाथिको सहकारी ठगीको अनुसन्धानले गति मात्र लिएन केही हदसम्म पूर्वाग्रह पनि देखियो।

रवि २०७९ मा चितवनमा सांसदको उम्मेदवार बन्दा उनको निष्क्रिय नागरिकताबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेको थियो। उकेराको समाचार सर्वोच्च अदालतबाट समेत पुष्टि भयो। बुटवलको सुप्रिम सहकारीमा जीवी राइको संलग्नताबारे उकेराले नै समाचार ब्रेक गरेको थियो। यो लहरमा रवि समेत तानिए। उनको भूमिका शङ्कास्पद नरहेको हैन। तर अनुसन्धानमा राज्यले जुन शैली अपनायो त्यो पनि प्रश्नरहित देखिए। उकेराले रविको संलग्नताको पक्ष मात्रै हैन राज्यले गरेको गलत व्यवहारबारे समेत समाचार प्रकाशित गर्यो।

 ४. समाज र नागरिक सरोकार 

सार्वजनिक यातायातको अस्तव्यस्त अवस्थादेखि यात्री र चालकको पीडा, योजनागत असफलता र नीति विफलताको विवेचनाबारे हामीले शृङ्खलाबद्ध सामग्री प्रकाशित गर्यौ।

‘मृत बागमती कहिले ब्युँतेला’ जस्तो मल्टिमिडिया रिपोर्टमार्फत वातावरणीय सङ्कटलाई उजागर गर्ने प्रयास गर्यौँ। यसमा वायु प्रदूषणदेखि ध्वनि प्रदूषणसम्मको कारण र कारणहरू खोतल्ने प्रयास गर्यौँ।

 ५. खेलकुद र पारदर्शिता

जुवा र अनियमितता, क्यानको बदमासी, र खेलाडीमाथिको अन्याय हाम्रो मुख्य प्राथमिकतामा परेका थिए। यसबारे हामीले निरन्तर विस्तृत रिपोर्टिङ प्रकाशित गर्यौँ। एनपिएलमा भएको बदमासीबारे छानबिनहुँदा विज्ञापन बोर्डबाट उकेराले उठाएका केही विषय पुष्टि भयो। गम्भीर आर्थिक अवस्थाबारेको अनुसन्धान प्रतिवेदन अख्तियार पुगेको छ।

फुटबलमा कलिला खेलाडीको जीवनमाथि अखिल नेपाल फुटबल संघका पदाधिकारीले गरेको ‘अपराध’ घटनासम्म सार्वजनिक गर्यौँ।

६. इतिहास, कला र संस्कृति

​​​​​​​हामीले महेशराज र दिनेशराज पन्तजस्ता इतिहासकारमाथि उकेरा म्यागेजिनमार्फत विशेष सामग्री प्रकाशित गरेर उनीहरूको योगदान लिपिबद्ध गर्ने प्रयास गर्यौ। कला क्षेत्रमा सेन्सर र असहिष्णुता, भुवन चन्दजस्ता कलाकारको योगदानलाई पाठकसमक्ष पस्कियौँ। कला क्षेत्रमा राज्यको अनुदार नीतिप्रति आफ्नो तिखो नजर कायमै रह्यो।

कात्तिक १५, २०८२ शनिबार २२:२८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।