प्रतिकूल मौसमले सगरमाथा क्षेत्रमा उडान ठप्प, हजारौँ पर्यटक अलपत्र

प्रतिकूल मौसमले सगरमाथा क्षेत्रमा उडान ठप्प, हजारौँ पर्यटक अलपत्र

सोलुखुम्बु : प्रतिकूल मौसमका कारण सगरमाथा क्षेत्रमा तीन दिनदेखि हवाई उडान ठप्प हुँदा हजारौँ स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेका छन्।

पर्यटकीय सिजनको यो समयमा लगातारको झरी र बाक्लो कुहिरोका कारण लुक्ला विमानस्थलमा उडान हुन नसक्दा लुक्ला र नाम्चेका होटल पर्यटकले खचाखच भरिएका छन्।

सगरमाथाको प्रवेशद्वार मानिने तेञ्जिङ-हिलारी विमानस्थलमा बिहीबारदेखि कुनै पनि उडान भएका छैनन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण, लुक्लाका अनुसार सामान्यतया दैनिक ६० भन्दा बढी उडान हुने विमानस्थल अहिले सुनसान छ। न्यून भिजिविलिटीका कारण विमान र हेलिकप्टर दुवैको उडान सम्भव नभएको प्राधिकरणले जनाएको छ।

तारा एयरलाइन्सका अनुसार मात्रै करिब १५ सय यात्रु लुक्लामै रोकिएका छन्। होटलहरू भरिभराउ हुँदा पर्यटकहरूलाई लबीमा समेत राख्नुपरेको व्यवसायी बताउँछन्।

सगरमाथा आधारशिविर पुगेर फर्किएकी फ्रान्सेली पर्यटक ज्युली मारीले भनिन्, ‘हामी तीन दिनदेखि उडानको प्रतीक्षामा छौँ।’

लुक्लाबाट माथि जाने र माथिल्लो क्षेत्रबाट फर्कने पर्यटकका कारण नाम्चे बजार पनि पर्यटकले भरिएको छ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार नाम्चेमा करिब १२ सय पर्यटक रोकिएका छन्, जसले गर्दा यहाँका होटलहरू पनि पूर्ण रूपमा भरिएका छन्। चार दिनदेखि घाम नलागेकाले पर्यटकहरू होटलभित्रै पुस्तक पढेर र संगीत सुनेर समय बिताइरहेका छन्।

हवाई मार्ग अवरुद्ध भएपछि केही पर्यटकले सल्लेरी हुँदै सडक मार्गबाट काठमाडौं फर्कने प्रयास गरे पनि त्यो सहज छैन।

बर्खाका कारण सोलुखुम्बु-काठमाडौं सडकखण्डमा पहिरो र हिलोले गर्दा यातायात अवरुद्ध छ । विशेषगरी बीपी राजमार्ग खण्डमा घण्टौ जामको समस्या रहेको यातायात व्यवसायीहरू बताउँछन्।

मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन मौसममा सुधार नहुने सङ्केत दिएको छ।

मौसमविद् सरोज पुडासैनीका अनुसार मनसुन सक्रिय रहेकाले कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा अझै दुईदेखि तीन दिन वर्षा र हिमपातको सम्भावना छ। त्यसपछि मात्र मौसममा क्रमिक सुधार आउने अनुमान गरिएको छ।

कात्तिक १५, २०८२ शनिबार १३:०४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।