बैतडीमा ‘जेन जी’ आन्दोलनका छ घाइतेलाई परिचयपत्र वितरण गरिने

बैतडीमा ‘जेन जी’ आन्दोलनका छ घाइतेलाई परिचयपत्र वितरण गरिने

बैतडी : गत भदौमा भएको ‘जेन जी’ आन्दोलनका क्रममा घाइते भएका बैतडीका ६ जना युवाले ‘आन्दोलन घाइते परिचयपत्र’ पाउने भएका छन्।

गृह मन्त्रालयले स्वास्थ्य मन्त्रालयबाट प्रमाणित घाइतेहरूको सूची जिल्ला प्रशासन कार्यालयलाई पठाएपछि परिचयपत्र वितरणको प्रक्रिया अघि बढाइएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार, गत भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भई परिचयपत्र पाउनेहरूमा १९ वर्षीय दीपक साउँद, ३० वर्षीय मनिष ठगुन्ना, २४ वर्षीय हरिस भुल, २० वर्षीय वासु पुजारा, २३ वर्षीय लक्ष्मण भण्डारी र २५ वर्षीय हरिकृष्ण भट्ट रहेका छन्।

बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले गृह मन्त्रालयबाट प्राप्त सूची सार्वजनिक गरिएको र सम्बन्धित व्यक्तिहरूलाई सम्पर्कमा आउन आग्रह गरिएको बताए।

‘गृह मन्त्रालयले पठाएको सूचीअनुसारका व्यक्तिहरूलाई सम्पर्क गर्न भनेका छौँ,’ प्रजिअ पौडेलले भने, ‘सम्बन्धित स्थानीय तह र प्रहरीमार्फत व्यक्ति पहिचान र प्रमाणीकरण गरेपछि परिचयपत्र हस्तान्तरण गरिनेछ।’

घाइतेहरूको पहिचान प्रक्रियालाई सहजीकरण गर्न प्रशासनले उक्त सूची जिल्लाका सबै स्थानीय तहहरूमा पनि पठाइसकेको जनाएको छ।

कात्तिक १५, २०८२ शनिबार ११:३६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।