विश्वकप लिग-२ : अमेरिकासँग नेपालको खराब सुरुवात, ओपनर आशिफ शेख सस्तैमा आउट
काठमाडौं : आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको महत्त्वपूर्ण खेलमा नेपालले खराब ब्याटिङ सुरुवात गरेको छ।
दुबईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती ओभरमै महत्त्वपूर्ण विकेट गुमाउँदै दबाबमा परेको छ।
नेपालले मात्र २ रनको स्कोरमा ओपनर आशिफ शेखलाई गुमाएको हो। दोस्रो ओभरको दोस्रो बलमा स्पिनर नोस्थुश केन्जिगेले शेखलाई २ रनमा बोल्ड आउट गरे।
यो समाचार तयार पार्दासम्म नेपालले २.१ ओभरमा १ विकेट गुमाएर ४ रन बनाएको छ। क्रिजमा अर्का ओपनर कुशल भुर्तेल ७ बलमा २ रन बनाएर खेलिरहेका छन् भने उनलाई साथ दिन भीम सार्की आएका छन्, जसले खाता खोल्न सकेका छैनन्।
अमेरिकी बलरहरूले सुरुवातदेखि नै कसिलो बलिङ गरेका छन्। सौरभ नेत्रवाल्करले पहिलो ओभर मेडन राख्दै नेपाललाई दबाबमा राखेका थिए भने दोस्रो ओभरमा केन्जिगेले सफलता दिलाए।
सुरुवाती झट्कापछि नेपाललाई एक सम्मानजनक स्कोर बनाउनका लागि क्रिजमा रहेका ब्याटरहरूबीच राम्रो साझेदारीको आवश्यकता देखिएको छ।
कात्तिक १५, २०८२ शनिबार ११:२९:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।