आज हरिबोधिनी एकादशी : भगवान् विष्णु ब्यूँतिने दिन, तुलसी र दामोदरको विवाह गरिँदै

आज हरिबोधिनी एकादशी : भगवान् विष्णु ब्यूँतिने दिन, तुलसी र दामोदरको विवाह गरिँदै

काठमाडौं : वैदिक सनातन धर्मावलम्बीहरूले आज, कात्तिक शुक्ल एकादशीका दिन, भगवान् विष्णुको प्रतीक मानिने तुलसीको दामोदरसँग विवाह र विशेष पूजा-आराधना गरी ‘हरिबोधिनी एकादशी’ पर्व मनाउँदैछन्।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीर सागरमा शयन गरेका भगवान् विष्णु आजकै दिनबाट ब्यूँतिने विश्वास गरिन्छ। यसैकारण यस एकादशीलाई ‘हरिबोधिनी’ वा ‘प्रबोधिनी’ एकादशी पनि भनिएको हो।

हरिशयनीदेखि हरिबोधिनीसम्मको चार महिनाको अवधिलाई ‘चतुर्मास’ भनिन्छ। यस अवधिमा विष्णुका भक्तहरूले तुलसीको विशेष पूजा र व्रत गर्ने गर्दछन्।

‘चतुर्मास’ अवधिमा भगवान् विष्णु शयन गर्ने भएकाले विवाह, व्रतबन्ध जस्ता माङ्गलिक कार्यहरू गरिँदैन। वर्षायामको यो समयमा बाढी, पहिरो र विषालु जीवजन्तुको भय हुने भएकाले यात्राका लागि पनि शुभ मानिँदैन। हरिबोधिनी एकादशीसँगै यी सबै माङ्गलिक कार्यहरू पुनः प्रारम्भ हुन्छन्।

आजको दिन घर-घरमा हरिशयनी एकादशीमा रोपिएको तुलसीको मठलाई गाईको गोबर र रातो माटोले लिपेर, फूल-मालाले सजाएर विधिवत् रूपमा विवाह गर्ने परम्परा छ। विष्णुकी प्रियतमा मानिने तुलसीको विवाह विष्णुको स्वरूप दामोदरसँग गरिन्छ। मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालोको लिङ्गो गाडी पूजा-आराधना गरिन्छ।

धार्मिक मान्यताअनुसार, कात्तिक महिनाभर सम्पूर्ण देवी-देवता तुलसीमै वास गर्छन्। तुलसीको मठ भएको घरलाई तीर्थ समान मानिन्छ र यसको सुगन्धले दशै दिशा पवित्र बनाउने विश्वास छ। तुलसी भएको घरमा यमदूतसमेत पस्दैनन् भन्ने जनआस्था छ। वैज्ञानिक रूपमा पनि तुलसीलाई एक महत्त्वपूर्ण औषधिका रूपमा लिइन्छ।

‘ठूलो एकादशी’ पनि भनिने आजको व्रतले हजार अश्वमेध यज्ञ र राजसूय यज्ञ गरे बराबरको फल प्राप्त हुने शास्त्रीय मान्यता छ। आजको दिन अन्न ग्रहण नगरी सखरखण्ड, पिँडालु, वनतरुल जस्ता कन्दमूललाई फलाहारका रूपमा ग्रहण गरिन्छ। यसो गर्नाले पाप नाश भई पुण्य वृद्धि हुने र मोक्ष मिल्ने विश्वास छ।

रात्रिकालमा ‘गोविन्द उठ्नुस्, तपाईँ सुते जगत् सुत्छ, तपाईँ उठे जगत् उठ्छ’ भन्दै शंख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने परम्परा पनि छ।

यस अवसरमा काठमाडौं उपत्यकाका चार नारायण- भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण तथा काठमाडौंका शेषनारायण र इचङ्गुनारायण मन्दिरमा विशेष मेला लाग्ने गर्दछ।

यी स्थानमा जान नसक्नेहरूले बूढानीलकण्ठस्थित नारायणस्थानको दर्शन गरे चारै नारायणको दर्शन गरे बराबरको फल पाइने विश्वास छ। यसैगरी धादिङको नीलकण्ठस्थित कालिका मन्दिरलगायत देशभरका नारायण मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ।

कात्तिक १५, २०८२ शनिबार १०:४२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।