फुटेर जानेहरूलाई एमालेमै फर्किन ओलीको निम्तो

फुटेर जानेहरूलाई एमालेमै फर्किन ओलीको निम्तो

काठमाडौं : एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता तयारी तीव्र भइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार फेसबुकमार्फत भावनात्मक सन्देश लेख्दै छुटेर गएकालाई पार्टीमा फर्किन आह्वान गरेका छन्।

ओलीले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र जनताको अधिकारको रक्षा गर्न एमालेले सधैं अग्रपंक्तिमा रहेर नेतृत्व गरेको उल्लेख गर्दै सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्- ‘एमाले केवल एउटा राजनीतिक संगठन होइन। यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो।’

उनले पछिल्ला राजनीतिक घटनाक्रमलाई संकेत गर्दै लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको र देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा भएको दाबी गरेका छन्। त्यसै सन्दर्भमा उनले लेखेका छन्- ‘यस्तो बेला हामी मौन रहन सक्दैनौं। राष्ट्रिय एकता र लोकतन्त्रको रक्षाका लागि सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।’ 

अध्यक्ष ओलीले विगतमा एमाले निर्माणमा साथ दिएका सबै नेता-कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आग्रह गरेका छन्। ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो,’ भन्दै उनले एमालेलाई फेरि बलियो पार्न काँधमा काँध मिलाउन आह्वान गरेका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी गतिविधिमा निषेध गरिएको भन्दै एक समूह असन्तुष्ट रहेको सँगै जेनजी आन्दोलन र त्यसपछिको ओलीको गतिविधिमा केही नेताले असन्तुष्टि पोखिरहेको अवस्थामा ओलीले यस्तो आह्वान गरेका हुन।

कात्तिक १४, २०८२ शुक्रबार १९:५४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।