मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन

मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन

मुस्ताङ : मुस्ताङ र मनाङलाई जोड्ने प्रसिद्ध पर्यटकीय पदमार्ग सरिबुङ पासमा गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन्। तीमध्ये तीन जना अष्ट्रियन नागरिक र ११ जना नेपाली पथप्रदर्शक रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।

लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास पार गरेर मनाङको फु गाउँतर्फ जाँदै गर्दा हिमपातमा परेका ती पदयात्री मङ्गलबारदेखि सम्पर्कविहीन भएका हुन्।

मुख्य जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उनीहरू बिहीबार साँझदेखि सम्पर्कमा नरहेको सूचना प्राप्त भएको हो। चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको दामोदरकुण्ड क्षेत्र समुद्री सतहबाट करिब ६ हजार मिटर उचाइमा रहेको छ, जहाँ हाल भारी हिमपात भइरहेको बताइएको छ।

प्रजिअ भुसालका अनुसार सम्पर्कविहीन टोली दामोदरकुण्डस्थित तीर्थयात्री धर्मशालामा सुरक्षित हुनसक्ने अनुमान गरिएको छ। धर्मशालामा खाने–बस्ने तथा अत्यावश्यक सामग्री पर्याप्त मात्रामा रहेकाले उनीहरू त्यहीँ आश्रय लिएर बसिरहेको हुनसक्ने जनाइएको छ।

ती पदयात्री हिमालयन एडभेन्चर ट्राभल कम्पनीमार्फत दुई साताअघि काठमाडौँबाट मुस्ताङतर्फ प्रस्थान गरेका थिए। कम्पनीका व्यवस्थापक दीपक मैनालीका अनुसार टोली अक्टोबर २६ तारिखमा दामोदरकुण्डबाट सरिबुङ पासतर्फ हिँडेको थियो।

“आज बिहान मात्रै पथप्रदर्शकले फोन सम्पर्क गरेका थिए, तर खराब मौसम र सञ्चार अवरोधका कारण राम्रोसँग कुराकानी हुन सकेन,” मैनालीले भने, “हामीले फोनको ट्र्याकिङमार्फत उनीहरूको स्थान पत्ता लगाउन गृह मन्त्रालयसँग अनुरोध गरेका छौँ।”

स्थान पत्ता लागेपछि उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको र मन्त्रालयलाई पनि सोबारे जानकारी दिइएको मैनालीले बताए। उनका अनुसार टोली सरिबुङ पार गरेर मनाङको फु गाउँ हुँदै चामे पुग्ने योजनामा थियो।

कात्तिक १४, २०८२ शुक्रबार १९:२१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।