अविरल वर्षाले देशभरका राजमार्ग अवरुद्ध, मध्यपहाडी र बीपी राजमार्गका विभिन्न खण्डमा यातायात ठप्प

अविरल वर्षाले देशभरका राजमार्ग अवरुद्ध, मध्यपहाडी र बीपी राजमार्गका विभिन्न खण्डमा यातायात ठप्प
फाइल तस्बिर

काठमाडौं : लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा मध्यपहाडी लोकमार्ग, बीपी राजमार्ग, कोशी राजमार्ग लगायतका मुख्य सडकहरू अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा सयौं सवारी साधन र हजारौं यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

प्राप्त जानकारी अनुसार, मध्यपहाडी लोकमार्ग सबैभन्दा बढी प्रभावित भएको छ। सिन्धुलीको गोलन्जोर-६ अकरेभिर, पाँचथरको याङवरक-३ रिजालभिर र याङवरक-२ ईवा खोला, तथा रामेछापको खाँडादेवी-१ खैरेनीघाटमा पहिरो खस्दा लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, काभ्रेका विभिन्न स्थानमा पहिरो खसेका कारण बीपी राजमार्ग पनि ठप्प भएको छ। नमोबुद्ध-६ चौकीडाँडा, रोशी गाउँपालिकाका विभिन्न वडाहरूमा पहिरो जाँदा सडक दुईतर्फी नै बन्द भएको छ।

अन्य कुन-कुन सडक अवरुद्ध?
पासाङल्हामु राजमार्ग, रसुवा: गोसाईंकुण्ड-२ को तातोपानी, बालुवाखानी, घट्टेखोला लगायतका स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध छ।
जोमसोम-कोरला सडक, मुस्ताङ: वारागुङ मुक्तिक्षेत्र-३ को कालाभिर र घरपझोङ-४ को पाण्डाखोलामा लेदोसहितको पहिरो जाँदा सडकखण्ड बन्द भएको छ।
तमोर-कोरिडोर, पाँचथर/धनकुटा: अविरल वर्षाले नावाखोलामा बाढी आउँदा तमोर-कोरिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।
बेनिघाट-लार्के सडक, गोरखा: धार्चे-३ को कालेभिरमा पहिरो खस्दा कच्ची सडक बन्द भएको छ।
कोशी राजमार्ग, संखुवासभा: भोटखोला-४ स्थित बरुणखोलामा गत जेठ महिनामा बाढीले ह्युमपाइप बगाएपछि अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन।

बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभावका कारण कोशी प्रदेशमा भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै इलाम जिल्ला भित्रको मेची राजमार्गमा रात्रिकालीन समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। अर्को सूचना जारी नभएसम्म साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म राजमार्ग बन्द रहनेछ।

यसैबीच, रुकुम पूर्वमा मध्यपहाडी लोकमार्ग अन्तर्गत सिस्ने-६ को रानीकोट-किटानी-साँख खण्डमा निर्माण कार्य जारी रहेकाले कात्तिक ३० गतेसम्मका लागि सडक पूर्ण रूपमा बन्द गरिएको छ।

यातायात सहज बनाउनका लागि प्रहरीले ठूला सवारीका लागि कैचीमोड-धाउन्ने-पोखरा छिनखेत मार्ग र साना सवारीका लागि कैचीमोड-धाउन्ने-नाथिगार्ड-धपे मार्गलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न आग्रह गरेको छ।

सडक विभाग र स्थानीय प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहे पनि लगातारको वर्षाका कारण काममा कठिनाइ भइरहेको जनाएका छन्। यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र सावधानी अपनाउन आग्रह गरिएको छ।

कात्तिक १४, २०८२ शुक्रबार १२:३२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।