सुनसरीमा वर्षा र हुण्डरीले केराखेतीमा ठूलो क्षति
इनरुवा : गत शनिबार र आइतबार परेको अविरल वर्षा र त्यससँगै आएको हावाहुण्डरीले सुनसरीका विभिन्न क्षेत्रमा लगाइएको केराखेतीमा ठूलो क्षति पुर्याएको छ।
सदरमुकाम इनरुवा, भोक्राहा र हरिनगरलगायतका क्षेत्रका किसानहरू प्रभावित भएका छन्। आठ वर्षदेखि केराखेती गर्दै आएका भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साहमियाँले सात बिघा जग्गा भाडामा लिएर बैंकबाट करिब रु ६ लाख ऋण लिई खेती गरेका थिए। तर हावाहुण्डरीले उहाँको करिब तीन बिघा एक कठ्ठा क्षेत्रको केरा खेत नष्ट गरेको छ।
मियाँका अनुसार यसपालि मात्र करिब रु १३ लाखभन्दा बढीको क्षति भएको छ। उनले भने, “प्रायः हरेक वर्ष बाढी र हावाहुण्डरीले कम्तीमा रु १० देखि २५ लाखसम्मको क्षति पुर्याउँछ।”
त्यस्तै, स्थानीय वीरेन्द्र ठाकुरले सात कठ्ठा क्षेत्रमा करिब रु एक लाख लगानी गरेर लगाएको केरा बाली पनि हावाहुण्डरीले तहसनहस बनाएको किसानहरूले बताएका छन्।
कृषि ज्ञान केन्द्र, सुनसरीका प्रमुख नीलकमल सिंहका अनुसार यस वर्ष जिल्लामा करिब ५३० हेक्टर क्षेत्रमा केराखेती गरिएको छ। हाल बाढी र हावाहुण्डरीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रमुख सिंहले जानकारी दिए।
असोज २१, २०८२ मंगलबार १५:५१:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।