जेन-जी आन्दोलनको ‘हाइज्याकर’ सुधन : ए लेभल फेलदेखि 'क्विन मेकर'को भूमिकासम्म

जेन-जी आन्दोलनको ‘हाइज्याकर’ सुधन : ए लेभल फेलदेखि 'क्विन मेकर'को भूमिकासम्म

काठमाडौं : जेन-जी आन्दोलनको सफलतासँगै प्रधानसेनापति अशोकराज सिग्देलसँग सरकार गठनबारे छलफलमा सहभागी हुँदै मन्त्रिपरिषद् विस्तारसम्म हाबी भएका सुधन गुरुङ को हुन् ? भदौ २५ सम्म  सुरक्षा निकायका सदस्यहरू नै बेखबर थिए। जब सुरक्षा निकायले सुधन स्वतन्त्र तिब्बतको पक्षमा अभियान चलाउने संस्थादेखि नेपालकै बिचौलिया र बदनाम घरानासँग जोडिएको गम्भीर सूचना पायो, त्यो बेलामा उनी नेपालको 'क्विन मेकर' बनिसकेका थिए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा जेन-जी आन्दोलनको नेताका रूपमा छाएका उनी

आन्दोलनको दिन पानी बाँड्न स्वयंसेवकका रूपमा खटिएको आफैँले स्वीकार गरिसकेका छन्। आन्दोलनको दोस्रो दिन नेता बन्दिन भन्दै क्वाक्वा रोएको भिडियो सार्वजनिक भयो। तर जब नयाँ सरकार गठनका लागि प्रधानसेनापति अशोकराज सिग्देलले छलफल सुरु गरेपछि तब उनी आन्दोलनको नेतृत्वकर्ताको भूमिकामा सार्वजनिक भए।

सरकार गठनपछिको अवस्थामा उनी एकल नेताको भूमिकामा सक्रिय देखिएका छन्। जेन-जी आन्दोलनको पृष्ठभूमि बनाउन सक्रिय जेनजी-समूहका सदस्यहरूलाई बाइपास गर्दै एकलौटी रूपमा संगठनमा लाग्दै प्रदेश संयोजकहरू छानिसकेका छन्।

जेन-जी आन्दोलनमा घुसपैठ गरेर हिंसा फैलाउन संलग्न देखिएकाहरूलाई पक्राउ गर्न प्रहरी प्रशासन सक्रिय भए लगत्तै उनी प्रहरी प्रशासनदेखि दुई दिने आन्दोलनको जाँचबुझ गर्न गठित आयोगको प्रमुख गौरीबहादुर कार्कीसम्मलाई भेटेर कारबाही नगर्न दबाब बढाउन सक्रिय छन्।

उनले आफूलाई जेन-जी पुस्ताको नेताका रूपमा स्थापित गर्न गरेका गतिविधि जति शङ्कास्पद छन् उनको पृष्ठभूमि पनि उस्तै शङ्कास्पद देखियो। उनको संस्था हामी नेपालले सहकार्य गरेका संस्था,आर्थिक कारोबार अनि उनको विदेश भ्रमण तीनै पक्ष शङ्कास्पद देखियो।

उनको 'हामी नेपाल' नामक संस्थाको वेबसाइटमा राखिएका लिंकमै भारतमा रहेको 'फ्रि तिब्बत' अभियानमा संलग्न 'स्टुडेन्ट फर अ फ्रि तिब्बत'सँग सहकार्य गरेको उल्लेख छ। ए लेभल भर्ना भए पनि पास हुन नसकेका उनको पछिल्लो भ्रमण टर्की, चीन र थाइल्यान्ड देखिन्छ।

सबैभन्दा गम्भीर पक्ष 'स्टुडेन्ट फर अ फ्रि तिब्बत'सँगको औपचारिक सम्बन्ध देखिन्छ। यो संस्था नेपालमा हुने चीन विरोधी गतिविधिमा प्रत्यक्ष संलग्न देखिन्छ। सन् २००६ मा स्वतन्त्र तिब्बतको माग गर्दै काठमाडौंको बौद्धमा तिब्बती समूहले गरेको विरोध प्रदर्शनमा यो संस्था जोडिएको खुल्यो।

'एक चीन नीति' भन्दै सरकारी निकाय नेपालमा स्वतन्त्र तिब्बतको प्रदर्शन र गतिविधिमाथिको निगरानीमा खटिँदा त्यही संस्थासँग सहकार्य गरिरहेको संस्था र व्यक्तिबारे खुफिया र सुरक्षा संगठन अनभिज्ञ देखिनु पत्यारलाग्दो पक्ष भने हैन।

यतिमात्रै हैन, यो संस्थाको सम्बन्ध 'फ्रि तिब्बत'सँगै जोडिएको नमोबुद्धको थांग्रु गुम्बासँग समेत देखियो। यो गुम्बाको मुख्य सहयोगी संस्था अमेरिकामा रहेको हिमालयन चिल्ड्रेन्स फन्ड हो, जुन 'फ्रि तिब्बत'को अभियानसँग जोडिएको संस्था नै हो।

नेपालमा नियुक्त हुने नयाँ प्रधानमन्त्रीलाई विभिन्न देशका सरकार प्रमुखहरूले शुभकामना दिनु सामान्य नै हो। सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपालका नयाँ प्रधानमन्त्रीलाई कहिल्यै शुभकामना नदिने भारतमा निर्वासित तिब्बतका दलाई लामाले शुभकामना सन्देश पठाउनु कूटनीतिक हिसाबले निकै अर्थपूर्ण देखियो।

बारबरा फाउन्डेशनदेखिका संस्थासँगको ‘हामी नेपाल’को सहकार्य अनि यो संस्थाको मुख्य सहयोगीमा बिचौलियाका रूपमा परिचित दीपक भट्ट र बदनाम व्यापारिक घराना शंकर समूहका सुलभ अग्रवाल र साहिल अग्रवालसँग समेत देखियो। 'हामी नेपाल'ले उनीहरूलाई संस्थाको सहयोगीको रूपमा सम्मान समेत गरेको थियो।

भूकम्पपछि समाजसेवामा

'हामी नेपाल' को अध्यक्षका रूपमा परिचित सुधन सन् २०१५ बाट सामाजिक काममा लागेको देखिन्छ। त्यसभन्दा अगाडि उनी आइटुवी नामको अभियानमा जोडिएका थिए। जेन-जी आन्दोलनमा पानी बाँड्न भनेर नयाँबानेश्वरमा सहभागी भएका सुधन प्रारम्भमा नेपाली नै हैनन् भन्ने दाबी समेत आए। तर उनी गोर्खाको चुम्नुब्री गाउँपालिकाको भएको खुल्यो। उनी अहिले काठमाडौंको रानीबारीमा बस्ने गरेका छन्।

सुरक्षा निकायले अहिले उनको तीनपुस्ते नै संकलन गरिसकेको छ। अविवाहित उनले हामी नेपाल संस्था खोलेपछि बालुवाटारमा रहेको बारबरा फाउन्डेसनको कार्यालय रहेको भवनमै आफ्नो कार्यालय राखेको लगायतका विवरणहरू छन्।

सुधनको 'फ्रि तिब्बत' अभियानसँग सम्बन्ध देखिएपछि बारबरा फाउन्डेसनले उनलाई भूकम्पको बेलामा सहयोग गर्ने बाहेक अन्य सम्बन्ध नरहेको दाबी गरे पनि सुधनले भने आफ्नो अन्तर्वार्ताहरूमा बारबरा फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइत 'हामी नेपाल'को बा रहेको र आफूहरू हामी नेपालको सन्तान रहेको बताएका थिए। अहिले उनको कार्यालय बारबरा फाउन्डेसन रहेको घरमा छैन। उनले रानीबारीमा सारी सकेका छन्।

अपारदर्शी कारोबार, शङ्कास्पद विदेश भ्रमण

'हामी नेपाल'ले आफ्नै वेबसाइटमा राखेको विवरणमा उसले हालसम्म ५४ करोड सहयोग पाएको देखिन्छ। त्यसमा खर्च गरेर अहिले संस्थासँग ६३ लाख ५२ हजार रकम बाँकी रहेको देखिन्छ। तर ती रकम कहाँ-कहाँबाट आयो र कहाँ कहाँ खर्च भयो त्यसको विवरण उनले सार्वजनिक गरेका छैनन्।

सहयोगी संस्थाहरूको नाम लिंकब्याकसहित राखेका उनले इसेवा र गोफन्डबाट चन्दा संकलन गर्ने गरेको देखिन्छ।  अनुसन्धानमा उनको विदेश भ्रमण पनि शङ्कास्पद देखिन्छ। उनी सन् २०२३ मा टर्की गएर एक महिनापछि नेपाल फर्किएका थिए भने सोही वर्ष चीन गएर एक महिना बिताए। त्यसपछि २०२४ मा थाइल्यान्ड गएर एक महिना बसेर उनी नेपाल फर्किएको देखिन्छ।

उकेराले प्राप्त गरेको सुधन सम्बन्धित सुरक्षा रिपोर्टमा आमा-बुबाको सम्बन्ध विच्छेदपछि चितवनमा रहेको हजुरआमा-हजुरबुबासँग बसेर पढेका उनले एसएलसी पढेपछि ए लेभलमा भर्ना त भए तर पास हुन सकेनन्।

डिजेबाट जेन-जी नेता

जेन-जी आन्दोलनको प्रारम्भमा सबल गौतम, पुरुषोत्तम यादव र मिरज ढुंगानासहितका युवा सक्रिय देखिएका थिए। भदौ २३ मा विरोध प्रदर्शनको आयोजना गर्न जिल्ला प्रशासन कार्यालयमा सबल र पुरुषोत्तमले निवेदन दिएका थिए।

जब जेन-जी आन्दोलन सफल भयो यी तीनै जना छायामा परे अनि एकाएक फ्रन्टमा देखा परे सुधन। जेन-जी आन्दोलनमा उनको भूमिका पानी बाँड्ने स्वयंसेवी देखिन्छ।

जेन-जी आन्दोलनमा सक्रिय रक्षा बमका अनुसार जेन-जी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा जब बाइकर्स समूहको प्रवेश भयो तब प्रदर्शन भाँडिएको थियो। प्रदर्शनको भीडमा मोटरसाइकल चलाउनेहरू हेर्दा ‘हामी नेपाल’को ज्याकेट लगाएकाहरू धेरै देखिए।

स्वयंसेवक भन्दै भीडमा कमाण्डो शैलीको पोसाक लगाएका हामी नेपालका स्वयम् सेवक विवादमा समेत तानिए। सुधनले यसलाई उनको शौक भनेर टार्ने प्रयास गरिरहेका छन्। उनीहरूले विपद्मा प्रयोग गर्न भनेर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच किलोमिटरसम्म चल्ने वाकिटकी लिएका थिए। त्यसको प्रयोग जेन-जीको आन्दोलनमा भयो।

प्रारम्भमा सहयोगी बनेर आन्दोलनमा छिरेका उनी पछिल्लो समय नेतृत्वकर्ता बनेर हरेक सरकारी गतिविधिमा संलग्न हुन थालेपछि अहिले सुधनमाथि जेन-जीको आन्दोलन हाइज्याक गरेको आरोप समेत लाग्न थालेको छ। यो आरोपको मुख्य कारण उनको विवादित पृष्ठभूमि त छ नै, उनको उमेर समेत एक कारण देखिन्छ।

२०४४ सालमा जन्मिएका सुधन उमेरले जेन-जीको पुस्तामा पर्दैनन्। अहिले उनी ३८ वर्षका भइसके तर उनी अहिले २८ वर्षसम्मकालाई भनिने जेन-जी पुस्ताको नेता बन्ने अभियानमा मात्रै लागेका छैनन् आफू निकट अन्तर्राष्ट्रिय मिडियामार्फत आफूलाई भावी प्रधानमन्त्रीका रूपमा उभ्याउन सक्रिय भइसकेका छन्।

राजनीतिमा जेन-जी पुस्ताको आन्दोलनबाटै देखा परेका उनले आफ्नो करिअरको सुरु भने झम्सिखेलको इन्टरनेशनल क्लबमा डिजेको रूपमा गरेका थिए। त्यसपछि सन् २०१२ मा उनले ठमेलमा 'ओएमजी' नामक क्लब खोले। क्लब चलाउने बेलामै उनी र अहिले काठमाडौं महानगरपालिकाका मेयर रहेका बालेन शाहबीच मित्रता रहेको देखिन्छ।

त्यसपछि विज्ञापन अनि कोरियोग्राफी हुँदै सेलिब्रिटीहरूसँग नजिक भएका उनी पहिला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितता विरुद्धको अभियानमा समेत जोडिएका थिए।

त्यहीँ उनको भेट अहिले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग भएको थियो। आन्दोलनको क्रममा यी दुवैबीच विवाद भएपछि अहिलेसम्म पनि सम्बन्ध सुमधुर देखिँदैन।

असोज १४, २०८२ मंगलबार १७:४७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।