समाजको शान्ति भन्दा लाइक र भ्यूज महत्त्वपूर्ण हो र !
हरेक मान्छेको मनमा आफ्नो प्रतिभा अरूले देखून्, आफ्ना भावना अरूले महसुस गरून्, आफ्ना विचार अरूले सुन्न सकून् भन्ने चाहना हुन्छ। यही चाहना नै सृजनशीलताको पहिलो आधार पनि हो। तर पहिले यसलाई प्रकट गर्ने ठाउँ सीमित थियो। कविताको पुस्तक, पत्रिकाको स्तम्भ, रेडियो वा टेलिभिजनको पर्दा सबैका लागि सहज थिएन।
धेरैको आवाज घरभित्रै थुनिन्थ्यो, कलमको पाना भित्रै हराउँथ्यो, वा सानो वृत्तमै मात्र सीमित हुन्थ्यो। प्रविधिको क्रान्तिले संसारलाई नै नजिक ल्याइदियो। अहिले सामाजिक सञ्जाल भन्नासाथ मानिसका मन, विचार र सृजनशीलता प्रकट गर्ने साझा चौतारीको चित्र आँखा अगाडि आउँछ।
फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम-यी केवल एप मात्र होइनन्, लाखौँ जीवनलाई जोड्ने, लाखौँ कथालाई आवाज दिने, लाखौँ प्रतिभालाई प्रकाशमा ल्याउने आधुनिक मञ्च हुन्। तर यति मात्रै होइन, यी प्लेटफर्महरूले सूचना सम्प्रेषणको स्वरूप नै बदलिदिएका छन्। कुनै घटना भएको क्षणमै भिडियो, फोटो वा स्ट्याटसको रूपमा संसारभर फैलिन्छ। कुनै बेला रेडियोले दिनभर प्रतीक्षा गराइदिने सामग्री अब केही सेकेन्डमै लाखौँले पढ्छन्, हेर्छन् र प्रतिक्रिया दिन्छन्। यसरी सामाजिक सञ्जाल स्वतन्त्र सञ्चार माध्यम, नागरिक पत्रकारिता र सामूहिक चेतनाको स्रोत बन्न पुगेको छ।
त्यसमा पनि लाईक, भ्युज, फलोअर्स र मनिटाइजेसनको संसारले यसलाई अझ रोमाञ्चक बनाइदिएको छ। एउटा सामान्य व्यक्तिले पनि आफ्नो कला, ज्ञान वा अनुभव प्रस्तुत गरेर लाखौँ दर्शक पाउन सक्छ, अनि त्यहीबाट जीविकोपार्जनको बाटो खोल्न सक्छ। गाउँघरमा बसेको युवाले गीत गाउँदै अपलोड गरेको भिडियो संसारभर फैलिन्छ, कुनै आमाले बनाएको खाना देखाउँदै गरेको छोटो भिडियो हजारौँले मन पराउँछन्, विद्यार्थीले पढाइका टिप्स दिने क्लिप लाखौँले सेयर गर्छन्। यी सबै उदाहरणले सामाजिक सञ्जालले मानिसलाई अवसरको नयाँ ढोका खोलेको छ भन्ने प्रमाणित गरेको छ।
तर यो चित्र यतिमै सीमित छैन। अवसरसँगै चुनौती पनि आएका छन्। लोकप्रियता पाउने दौडमा कहिलेकाहीँ सत्यभन्दा बढी चमक बेचिन्छ, ज्ञानभन्दा बढी हल्ला फैलाइन्छ, र कला भन्दा बढी नक्कल देखाइन्छ। भ्युज बढाउनकै लागि नकारात्मक सामग्री उत्पादन हुने गर्छ, जसले समाजमा भ्रम र विकृति पनि ल्याइरहेको छ।
आजको डिजिटल युगमा समाचार, सूचना र सामाजिक सञ्जालको पहुँच मात्र होइन, यसको प्रभाव पनि असीमित रूपमा फैलिएको छ। युट्युब, टिकटक, फेसबुक, इन्स्टाग्राम र अन्य प्लेटफर्महरूले समाजमा सूचना मात्र प्रवाह गरिरहेको छैन, बरु समाजको भावनात्मक स्थिति, सार्वजनिक विश्वास र सामाजिक स्थिरतामा प्रत्यक्ष प्रभाव पारिरहेको छ। समाचार अब केवल सूचना होइन, समाजको चेतना र भावनात्मक सन्तुलनसँग जोडिएको शक्तिशाली माध्यम बनेको छ।
पत्रकार हुन् या आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउन रुचाउनेहरु नै सञ्जालको प्रयोगमा सचेत देखिदैनन्। अपुष्ट सामग्री, अनुमान र सनसनीपूर्ण पोष्टहरूले केवल सूचना दिने काम गर्दैनन्, यसले समाजमा भ्रम, अराजकता र द्वन्द्व उत्पन्न गर्ने खतरासमेत पैदा गर्न सक्छ भन्ने बुझ्न जरुरी छ। डिजिटल माध्यममा हरेक पोष्ट, भिडियो वा टिप्पणी सामाजिक चेतनामा गहिरो असर पार्ने शक्ति राख्छ भन्ने हालको जेनजी आन्दोलनले समेत प्रष्ट गरेको छ।
यसैमा झापाको मेचीनगर नगरपालिकाका मेयरको घरमा सुन भेटिएको भन्ने अपुष्ट सामग्री सामाजिक सञ्जालमार्फत फैलियो। यो खबरमा प्रमाण वा आधिकारिक पुष्टि थिएन। तर अपुष्ट सामग्रीले तुरुन्तै जनमानसमा क्रोध, असन्तोष र अविश्वास उत्पन्न गर्यो।
मानिसहरूले विश्वास गर्न थाले कि मेयर भ्रष्टाचारमा संलग्न छ र घरमा सुन लुकाइएको छ। सामाजिक भावनाको तीव्रताले गर्दा, अफवाहले वास्तविक हिंसात्मक घटना निम्त्यायो। मेयरको घरमा आगजनी भयो। तर सुन भेटिएको अहिलेसम्म साबित भएन, बरु ती पोष्टहरू डिलिट भए।
यसले संवेदनशील विषय हतारमा प्रसारित गर्दा समाजमा विनाश र तनाव निम्त्याउन सक्छ भन्ने देखाउँछ। सामग्री, भिडियो वा पोष्टले केवल सनसनी फैलाए, तर यसको परिणाम व्यक्तिगत जीवन, सम्पत्ति र समुदायको सुरक्षामा प्रत्यक्ष असर पुर्यायो।
यो उदाहरणले हामीलाई चेतावनी दिन्छ कि डिजिटल माध्यमको शक्ति बिना जिम्मेवारी प्रयोग गर्दा यसको परिणाम विनाशकारी हुन सक्छ। स्वदेशमा बस्ने भन्दा पनि विदेशमा बस्ने केही नेपालीहरूले पनि यस प्रकारको प्रवृत्ति देखाएका छन्।
उनीहरूले देशमा प्रत्यक्ष अनुभव नभएको कारणले जिम्मेवारीको अनुभूति कम राखेर डिजिटल माध्यममार्फत सनसनीपूर्ण, अपुष्ट वा बहकावमा पार्ने पोष्ट र सामग्री प्रसारित गर्छन्। यस्ता पोष्टले समाजभित्र भ्रम, अस्थिरता र द्वन्द्व सिर्जना गर्छ।
केवल भावनात्मक प्रतिक्रिया र सनसनीपूर्ण प्रस्तुति पर्याप्त ठान्ने दृष्टिकोणले देशभित्रको सामाजिक वास्तविकता बुझ्न कठिन बनाउँछ। यसले कानूनी र नैतिक दृष्टिले प्रश्न पनि उठाउँछ।
यसलाई नियन्त्रण गर्न वा जिम्मेवार बनाउन नेपालमा कानुन नै नभएको होइन। नेपालको कानुनी संरचनाले यस्तो प्रवृत्तिमा स्पष्ट मार्गदर्शन दिएको छ। आइटी ऐन २०६३ (संशोधित) अनुसार डिजिटल माध्यमबाट अपुष्ट सूचना फैलाउने, अफवाह वा सनसनीपूर्ण सामग्री प्रसारित गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सकिन्छ।
यसैगरी, दण्ड संहिता २०७४ मा मानिसलाई भड्काउने, हिंसा वा आगजनीमा उक्साउने पोष्ट वा भिडियोको निर्माण अपराध मानिन्छ। त्यसैले डिजिटल प्लेटफर्ममा हतारमा राखिएको सामग्री केवल व्यक्तिगत फलोअर्स, लाइक वा भ्यूजको खेल मात्र होइन; यसले कानूनी जोखिम पनि उत्पन्न गर्छ। अन्तर्राष्ट्रिय दृष्टिले पनि गलत सूचना फैलाउने कार्यलाई नियन्त्रण गर्ने प्रावधानहरू छन्।
संयुक्त राष्ट्रसंघको डिजिटल मानवअधिकार मार्गदर्शक सिद्धान्तले सबै डिजिटल सामग्रीमा सत्यता, पारदर्शिता र मानवअधिकारको सम्मान अनिवार्य भएको देखाउँछ। यस्तै, युरोपियन डिजिटल नियमावलीले डिजिटल प्लेटफर्ममा गलत सूचना फैलाउनेलाई हटाउन वा नियन्त्रण गर्न प्लेटफर्म र प्रयोगकर्तालाई बाध्य पार्दछ। यस सन्दर्भमा, विदेशमा बस्ने नेपालीहरूले अपुष्ट सामग्री वा बहकावमा पार्ने पोष्ट प्रसारित गर्दा कानूनी दायरामा आउन सक्छन्।
तर कानुन भन्दा पनि माथि नैतिकता र जिम्मेवारी हो। एउटा असल मानिस वा नागरिकको दायित्व र जिम्मेदारी के हो ? राष्ट्रमा द्वन्द्व श्रृजना गर्ने कि शान्ति कायम गर्ने ? भडकाउने कि सम्हाल्ने ?
सामाजिक र भावनात्मक दृष्टिले अपुष्ट सूचनाले गहिरो प्रभाव पार्छ। सनसनीपूर्ण सामग्रीले केवल तथ्यलाई प्रस्तुत गर्ने होइन; भय र आक्रोश उत्पन्न गर्छ। उदाहरण स्वरूप, मेचीनगरकै सोहि घटनाले देखायो कि प्रमाण नभएको अफवाहले घरमा आगजनीसम्मको घटना निम्त्याउन सक्छ।
परिपक्व पत्रकारिता भनेको यथार्थमा आधारित, तथ्य–प्रमाण–सिद्ध, संवेदनशील र समाजको हितमा केन्द्रित रहेर सामग्री निर्माण गर्नु हो। यस सन्दर्भमा, सबै डिजिटल प्लेटफर्म प्रयोगकर्ताहरू र पत्रकारहरूले याद राख्नुपर्ने मुख्य पाठ “सत्य, संवेदनशीलता र जिम्मेवारी बिना प्रसारित सामग्रीले समाजमा अराजकता, भ्रम र द्वन्द्व मात्र फैलाउँछ; स्थायी सुधार र विश्वासको निर्माण हुँदैन,” यहि हो।
विदेशमा बस्ने नेपालीहरूले डिजिटल माध्यम प्रयोग गर्दा थप सजग हुनुपर्ने देखिन्छ। आफ्नो भौगोलिक दूरीले देशभित्रको वास्तविकता प्रत्यक्ष अनुभवको अभावमा अफवाहमा फस्न सकिन्छ। बहकावमा पार्ने पोष्ट वा भिडियो फैलाउँदा, देशभित्रको माहोल तनावपूर्ण बन्न सक्छ। यस्तो प्रवृत्तिले केवल भावनात्मक असर मात्र होइन, कानूनी र नैतिक प्रश्न पनि उठाउँछ।
विदेशमा बस्ने नेपाली मात्र नभई, देशभित्रका डिजिटल प्रयोगकर्ताहरू पनि हतारमा आएका सामग्री फैलाउन सक्रिय देखिन्छन्। अफवाह र अपुष्ट सामग्रीले राजनीतिक द्वन्द्व, सामाजिक विभाजन र हिंसा उत्पन्न गर्न सक्छ भन्ने धेरै घटनाहरु हाम्रै सामु छन्।
सामाजिक सञ्जाललाई प्रतिभा प्रकट गर्ने, ज्ञान बाँड्ने, समाज सचेत पार्ने र सृजनशीलता बढाउने माध्यमका रूपमा उपयोग गर्न सकेमा यसको सम्भावना असीमित छ। र यही कारण, आजको समयमा सामाजिक सञ्जाल केवल मनोरञ्जनको साधन नभई जीवनको हिस्सा, आत्म-अभिव्यक्तिको चौतारी र सम्भावनाको संसार बनेको छ।
तर यो सँगसँगै यस्ता डिजिटल प्लेटफर्म प्रयोगकर्ताहरू संवेदनशील हुन आवश्यक छ। सत्य, प्रमाण, संवेदनशीलता र धैर्य बिना प्रसारित सामग्रीले केवल समाजमा अराजकता, भ्रम र द्वन्द्व फैलाउँछ।
असोज ४, २०८२ शनिबार १५:३३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।