जेन-जी आन्दोलनको क्षति विवरण : देशभर ६२९ भवन पूर्ण ध्वस्त, १५ सयभन्दा बढीमा आंशिक क्षति
काठमाडौं : गत भदौ २४ गते भएको ‘जेन-जी आन्दोलन’का क्रममा भएको तोडफोड र आगजनीबाट देशभर ६ सय २९ वटा भवन पूर्ण रूपमा ध्वस्त भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार, थप १ हजार ५६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, क्षतिको अधिकांश हिस्सा सरकारी र प्रहरीका संरचनामा केन्द्रित छ।
प्रहरीका अनुसार ३१० वटा सरकारी कार्यालय पूर्ण क्षति हुँदा ८३६ वटामा आंशिक क्षति पुगेको छ। नेपाल प्रहरीका भवन १७७ वटा पूर्ण क्षतिग्रस्त हुँदा २५८ वटामा आंशिक क्षति छ।
व्यापारिक तथा निजी भवनहरू ९७ वटा पूर्ण क्षति हुँदा २९२ वटामा आंशिक क्षति पुगेको छ भने राजनीतिक दलका कार्यालयहरू ४५ वटामा पूर्ण क्षति हुँदा १७४ वटामा आंशिक क्षति छ।
प्रवक्ता घिमिरेले यो प्रारम्भिक विवरण मात्र भएको र क्षतिको पूर्ण विवरण सङ्कलन कार्य जारी रहेको बताए। क्षतिको आर्थिक मूल्याङ्कन भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
असोज ३, २०८२ शुक्रबार २१:२६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।