राष्ट्रिय एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

राष्ट्रिय एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा सरकार जनअपेक्षाअनुसार काम गर्न प्रतिबद्ध रहेको बताएकी छन्।

शुक्रबार संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा उनले सरकारले जनताको जीवनस्तर उन्नत बनाउने, पारदर्शिता सुनिश्चित गर्ने र राष्ट्रिय एजेण्डालाई आत्मसाथ गर्दै काम गर्ने उद्देश्य राखेको बताइन्।

‘सूचना प्रविधिको विकास र अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणालीका ज्ञानयुक्त युवा पुस्ताले उठाएका रोजगारी, गुणस्तरीय जीवनस्तर, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरू हाम्रो साझा अपेक्षा र राष्ट्रिय एजेण्डा हुन्। यी एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षाअनुसार काम गर्न यो सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री कार्कीले भनिन।  

उनले आफ्नो प्रधानमन्त्री पद शासकिय आकांक्षा वा पदको लोभका लागि नभई, देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधअनुसार संक्रमण व्यवस्थापन गर्न बनेको बताइन्। प्रधानमन्त्री कार्कीले भनिन, ‘म कुनै पदको लोभले प्रधानमन्त्री बनेको होइन। संविधानअनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यका साथ वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री बनेको हुँ।’ 

साथै, उनले समयसँगै नागरिकका आवश्यकताहरू र आकांक्षा परिवर्तन हुने भएकाले राज्यले जनअपेक्षाअनुसार काम गर्दै सुधारको बाटोमा अघि बढ्नु पर्ने जोड दिइन्। संविधानको मर्म र भावना अनुसार स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानूनी राज्य र सुशासनमा खरो उत्रिन नसक्नुको परिणाम वर्तमान परिस्थितिमा देखा परेको र जनताको भावना संविधानका अक्षरभन्दा बहुआयामिक हुने उनको भनाइ थियो।

असोज ३, २०८२ शुक्रबार १०:४३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।