बिदाको दिन पनि अनुगमनमा खटिए अन्तरिम सरकारका तीन मन्त्री, संसद् भवनदेखि घाइतेसम्मलाई भेटे

बिदाको दिन पनि अनुगमनमा खटिए अन्तरिम सरकारका तीन मन्त्री, संसद् भवनदेखि घाइतेसम्मलाई भेटे
प्रहरी अस्पतालमा रहेका घाइते भेट्दै मन्त्री घिसिङ र अर्याल। तस्बिर : नेपाल न्यूज बैंक

काठमाडौं : अन्तरिम सरकारका तीन मन्त्री बुधवार दिनभर जेनजी पुस्ताको आन्दोलनकाक्रममा भएको क्षतिको अनुगमनदेखि अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न व्यस्त भए।

सरकारले जेनजी पुस्ताको आन्दोलनमा मारिएकाको सम्मानमा बुधवार सार्वजनिक बिदा दिएको थियो। अर्थमन्त्री रामेश्वर खनाल भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल अनुगमन र भेटघाटमा सक्रिय भएका हुन्।

बुधवार बिहान तीनै जना पहिला नयाँबानेश्वरमा रहेको संसद् भवनमा भएको आगजनीबाट भएको क्षतिको अनुगमन गर्न पुगेका थिए।

उनीहरूले संसद् भवनको अनुगमन गरेर तत्काल पुनर्निर्माण सुरु गर्ने र अब सो भवन जुन उद्देश्यका लागि बनाइएको हो त्यसैमा प्रयोग गर्ने बताएका थिए।

सो भवन चीन सरकारले अन्तराष्ट्रियस्तरको सभा सम्मेलनका लागि बनाइदिएको थियो। तर संविधान सभादेखि सो भवन संसद् सचिवालयले भाडामा लिएर चलाइराखेको छ।

बुधवारै भौतिक पूर्वाधार तथा यातायात र गृहमन्त्री जेनजी आन्दोलनमा ध्वस्त भएको ललितपुरको भैंसेपाटीमा रहेको मन्त्रीनिवास पुगेर निरीक्षण गरे।

मन्त्री निवास परिसर।मन्त्री निवास परिसरका केही घरमा आगजनी भएको र प्राय सबै भवनमा लुटपाट भएको थियो। अनुगमनमा उनीहरूले जलेका र  भत्किएका संरचनाहरू सबैले मिलेर बनाउनुपर्ने बताएका थिए।

मन्त्री निवासको अनुगमनपछि दुवै जना आन्दोलनको क्रममा घाइते भएका प्रहरी नागरिकको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे।

बुधवार उनीहरू नेपाल प्रहरी अस्पतालमा  पुगेर त्यहाँ उपचाररत घाइतेहरूलाई भेटेका थिए। प्रहरी अस्पतालमा आन्दोलनकाक्रममा घाइते भएका १६ जना प्रहरी र एक सर्वसाधारण उपचाररत छन्।

भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनकोक्रममा ७० जना बढीको मृत्यु भइसकेको छ। यसमा प्रदर्शनमा गोली लागेर घाइते भएकाहरू, भाटभटेनीमा भएको आगलागीमा परेर जलेका र ३ प्रहरी छन्।

असोज १, २०८२ बुधबार २१:४९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।