EXCLUSIVE : ओलीलाई बर्खास्त गर्ने जेनजीको ‘विद्रोह’मा सेना र सशस्त्रको ‘साथ’, राजीनामापछि मात्र बालुवाटारमा हेलिकप्टर

EXCLUSIVE : ओलीलाई बर्खास्त गर्ने जेनजीको ‘विद्रोह’मा सेना र सशस्त्रको ‘साथ’, राजीनामापछि मात्र बालुवाटारमा हेलिकप्टर

काठमाडौं : भदौ २३ गते सोमबार भएको प्रदर्शनमा १९ जनाको मृत्यु र ३ सयभन्दा बढी घाइते भएको घटना सार्वजनिक भएसँगै स्थानीय प्रशासनले भोलिपल्ट काठमाडौंका थप क्षेत्रमा कर्फ्यु आदेश जारी गर्यो। तर, बिहानैदेखि रिङरोड बाहिरबाट जेन-जी पुस्तासँगै अभिभावकहरू सडकमा उत्रिन थालिसकेका थिए।

शान्तिपूर्ण आन्दोलनमा सहभागी युवापुस्तामाथि सरकारले गोली हानेर दमन गरेको भन्दै उनीहरू आक्रोशित थिए। कर्फ्यु क्षेत्रमा जुन खालको सुरक्षा प्रबन्ध हुनुपर्थ्यो, त्यो थिएन। बिहानीपख केही प्रहरी देखिए पनि प्रदर्शनकारीको संख्या बढेसँगै उनीहरू पनि भित्री शहरतिर खुम्चिए।

बिहानैदेखि ‘अब नेताको घर घेर्ने’ भन्दै टोल-टोलमा प्रदर्शनकारी भेला हुन थालिसकेका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासतर्फ प्रदर्शनकारी जान खोज्दा प्रहरीसँग झडप भएको सूचना आइरहेको थियो। नौ नबज्दै उता बुढानीलकण्ठ क्षेत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासतिर जान देउवा चोकमा स्थानीय भेला भएको सूचना बाहिरियो।

मंगलबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग अवस्थाबारे जानकारी लिए। तीनवटै सुरक्षा सङ्गठनका प्रमुखहरूले सडकमा प्रदर्शनकारीको संख्या बढी रहेको, नेताहरूको निवास लक्षित आक्रमण हुनसक्ने  भन्दै अवस्था ‘क्रिटिकल’ रहेको ब्रिफिङ गरे।

‘प्रायः प्रमुख नेताहरूको घर रहेको क्षेत्रमा प्रदर्शनकारीहरू भेला भइरहेका थिए। प्रधानमन्त्रीलाई त्यही अवस्थाबारे जानकारी गराउँदै अवस्था जोखिमयुक्त रहेको ब्रिफिङ गरियो,’ जानकार स्रोतले उकेरालाई भन्यो, ‘तर प्रधानमन्त्रीले ‘ए’ भन्दै सुरक्षा व्यवस्था बलियो बनाउनु मात्र भन्नुभयो। उहाँले अवस्थालाई त्यति गम्भीरताका साथ लिनुभएन।’

प्रदर्शनकारीहरू छरिन थालिसकेका थिए। त्योभन्दा पनि जोखिमपूर्ण कुरा, प्रहरी कार्यालय र नेताहरूको निवासतर्फ जान खोज्नेहरूको संख्या बढिसकेको थियो। खटिएका सुरक्षाकर्मीले मात्र भिड नियन्त्रण गर्न सक्ने अवस्था थिएन। सेना र सशस्त्रले प्रहरीलाई पूर्ण असहयोग गरिरहेका थिए।

१२ बजेतिर प्रचण्ड निवासमा आक्रमण भइसकेको थियो। तर, त्यही बेला प्रधानमन्त्री ओली भने सर्वदलीय बैठकको तयारीमा लागे। उनले उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको तथा साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेको भन्दै विज्ञप्ति सार्वजनिक गरे।

तर, त्यो बेलासम्म संवादबाट समाधान खोज्ने परिस्थिति बिग्रिसकेको थियो। प्रचण्ड निवाससँगै भैँसेपाटीमा रहेको मन्त्रीहरूको सरकारी आवास क्षेत्रमा समेत आक्रमण शुरू भइसकेको थियो। नेताहरुको घर खोजी, खोजी आक्रमण गरियो।

कार्यालयहरूमा निरन्तर आक्रमण भएपछि प्रहरी आफैँ रक्षात्मक अवस्थामा पुगिसकेका थिए। प्रधानमन्त्री ओली यी सबै घटनाक्रमबारे जानकार भए पनि ढुक्क थिए।

अब आन्दोलनको पहिलो दिनका केही तथ्य उल्लेख गरौँ:
नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने क्रम शुरू भएसँगै नेपालमा लोकप्रिय रहेको टिकटकमा सत्तामा रहेकाहरूका सन्तानले प्रदर्शन गर्ने विलासी जीवनशैलीका तस्बिर र भिडियोलाई आधार बनाएर ‘नेपोबेबी’ अभियान फैलँदै गएको थियो। यसबारे अधिकांश मिडिया बेखबर देखिएका थिए भने सुरक्षा निकायले पनि यसलाई गम्भीरताका साथ लिएको देखिएन।

सामाजिक सञ्जालमा मात्र बोलेर हुन्न, अब सडकमै आउनुपर्छ भन्ने माग चर्कँदै गएपछि शनिबारबाट एकाएक सोमबार बिहान ९ बजे नयाँ बानेश्वरमा भेला हुने सूचनाहरू सार्वजनिक हुन थाले। आइतबार बिहान भने समय र स्थान बदलिएर माइतीघरमा ११ बजे भेला हुने सूचना आइरहेका थिए।

आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रदर्शनको अनुमति माग्दै निवेदन पर्यो। शान्तिपूर्ण आन्दोलनको सर्तमा स्वीकृति पनि आयो। लगत्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरूसहितको बैठक बस्यो। बैठकले प्रदर्शनमा न्यूनतम् बल प्रयोग गर्ने निर्णय गर्यो।

तोकिएको समयअनुसार सोमबार बिहान ९ बजेबाट फाट्टफुट्ट प्रदर्शनकारीहरू भेला हुन थाले। नयाँ बानेश्वरमा भन्दा माइतीघरमा प्रदर्शनकारीको संख्या बढ्दै थियो। कलेज ड्रेसमा राष्ट्रिय झन्डा बोकेकाहरूको संख्या थपिँदै थियो। एकाएक माइतीघरमा भेला भएका प्रदर्शनकारीहरू नयाँ बानेश्वरतिर अगाडि बढे।

बिजुलीबजारको पुल कटेर केही मिटर अगाडि प्रहरीले ‘ह्युमन ब्यारिकेट’ (ढाला र लाठी बोकेका प्रहरीको लाइन) राखेको थियो। प्रदर्शनकारीहरूलाई उनीहरूले रोक्न बल प्रयोग गरेनन्। प्रदर्शनकारीहरू सहजै एभरेस्ट होटल अगाडिसम्म पुगे।

आन्दोलनका घाइतेहरु सिभिल अस्पतालमा।

एभरेस्ट होटल कटिसकेपछि निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन फलामे ब्यारिकेटसहित सुरक्षाकर्मी खटिएका थिए। उत्तेजित हुँदै गएका प्रदर्शनकारीहरूले ब्यारिकेट तोड्ने प्रयास गरे, प्रहरीले जोगाउने।

केही समयको घम्साघम्सीपछि ब्यारिकेट भत्कियो। प्रहरीले सामान्य बल प्रयोग गर्यो। केही सेल अश्रुग्यास र पानीको फोहरा हानियो। तर भिड नियन्त्रणको विधि हेर्दा ‘हामीले सबै बल प्रयोग गरेका हौँ’ भन्ने देखाउन मात्र खोजिएको जस्तो थियो। अन्तिम ब्यारिकेट भत्काउने प्रयास रोक्न यसअघि प्रहरीले जुन तहको बल प्रयोग गर्थ्यो, त्यो देखिएन।

अन्तिम ब्यारिकेट तोडिएपछि उत्साहित प्रदर्शनकारीहरू नयाँबानेश्वर चोकमा पुगेर बाँडिए। एक समूह मीनभवनतिर हुँदै संसद् भवनको दक्षिणी भागबाट भित्र छिर्ने प्रयासमा लाग्यो। अर्को समूह दक्षिण गेटमा पुगेर धक्कामुक्की गर्न थाल्यो।

तेस्रो समूह सिधै नयाँबानेश्वर चोकबाट पुरानो बानेश्वरतिर जाने प्रयासमा लाग्यो। त्यहाँ प्रहरीको ‘ह्युमन ब्यारिकेट’ त थियो तर उनीहरूले धान्न सकेनन्। प्रदर्शनकारी प्रहरीको सुरक्षा घेरा तोडेर अगाडि बढे र सिधै संसदको पश्चिमी गेटनजिक भेला भए।

केही प्रदर्शनकारी संसद् भवनको गेटसँगैको एकतले भवनको छतमा चढेर प्रहरीतिर ढुंगा हान्न थाले। गेटबाहिर रहेका प्रहरी र सशस्त्रले लाठी प्रहार गरेर भिड हटाउने प्रयास गरे, टियर ग्याँस हाने, तर भिड नियन्त्रणमा आएन।

पछिल्ला आन्दोलनको टार्गेट संसद भवन बनिरहेको थियो। २०८१ चैत १५ को आन्दोलन हिंसात्मक हुनुको एक कारण संसद कब्जाको रणनीति पनि थियो।

जेनजीको आन्दोलनमा दुर्गा प्रसाईंसहित माओवादी, रास्वपाले समर्थन गरिसकेको थियो। बालेन शाहसमेत सक्रिय थिए। यी सबै पक्षको मूल्यांकन र सम्भावित जोखिमको मूल्यांकनमा प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभाग पुरै चुकेको देखियो।

​त्यसले सडक प्रदर्शनमा बल प्रयोग नगर्ने रणनीतिसँगै प्रदर्शनकारी अगाडि बढेर संसद घेरे वा भित्र छिर्न खोजे के गर्ने भन्ने दोस्रो सुरक्षा रणनीति बनेको देखिएन। 

अनि दक्षिणतिर रहेको भिडले संसद् भवनको पर्खालमा प्वाल पारेर र केही पर्खाल नाघेर परिसरभित्र छिरे। पश्चिमतिर भएकाहरु गेट नजिकैको एक तले भवन चढेर संसद परिसर छिर्ने प्रयासमा लागे। कोही पर्खाल चढेर गए। पश्चिम गेटको बाहिर तोडफोड गरेर आगो लगाए।

त्यसपछि संसद् भवन परिसरमा रहेका प्रहरीहरूले गोली चलाउन थाले।

संसदभित्र छिर्न नदिने निर्देशनले निम्त्याएको वित्यास
संसद् भवन बाहिर प्रदर्शनकारीहरू संसद् भवनको परिसरभित्र छिर्ने प्रयासमा थिए। संख्या बढिरहेको थियो। संसद् भवनको सुरक्षामा खटिएको प्रहरी कमान्डरले प्रदर्शनकारीहरू संसदभित्र छिर्न थालेको रिपोर्टिङ गरेपछि आदेश आयो, ‘कुनै पनि हालतमा प्रदर्शनकारीलाई रोक्नु, माथिको आदेश छ।’

त्यसपछि प्रहरीको गोली चल्न थाल्यो। सडकमा एकपछि अर्को गर्दै प्रदर्शनकारीहरू ढल्न थाले। भिड नियन्त्रण विधिको अन्तिम अस्त्रअनुसार प्रहरीले गोली चलाउँदा घुँडामुनि लाग्ने गरी हान्नुपर्ने कानुनी व्यवस्था छ, तर अधिकांशको कि टाउकोमा कि छातीमा गोली लाग्यो।

पहिलो दिनको प्रदर्शनमा घाइते भएका एक प्रदर्शनकारी।

यसको कारण थियो- संसद् भवनभित्र भिड नियन्त्रणमा खटिने सामान्य प्रहरी मात्र नभएर प्रहरीको ‘स्पेसल टास्क फोर्स’का सदस्यहरू पनि खटिएका थिए, जसको तालिम नै टाउको वा छातीमा गोली हान्ने हुन्छ। उनीहरू नेपाल प्रहरीका कमान्डोहरू हुन्।

संसदभित्र छिरिसकेका केही प्रदर्शनकारीलाई भित्र रहेका प्रहरीले नियन्त्रणमा लिए। पर्खाल नाघेर भित्र छिर्न खोज्नेहरूलाई रोक्न कमान्डोहरूले आधा शरीर झुकाएर घुँडा टेकेर गोली चलाए।

पर्खाल नाघेर भित्र छिर्न खोज्नेहरूमाथि चलेको अधिकांश गोली संवेदनशील अङ्गमा लाग्यो। दक्षिणी गेट र पश्चिमी गेटमा भित्रबाट उभिएर प्रहरीले गोली चलाउँदा पनि प्रायः को टाउकोमै गोली लाग्यो।

अस्पतालमा घाइतेहरूको संख्या बढ्दै गयो। प्रहरीलाई सघाउन उपत्यकामा रहेका प्रहरीको थप बल पुग्यो। बेलुका पाँच बजेबाट प्रदर्शनकारीहरूको मृत्यु भएको खबर बाहिरिएपछि माहोल थप बिग्रँदै गयो।

भ्रमित ओली
युवा पुस्ताको आन्दोलनको प्रभाव काठमाडौं बाहिर पनि फैलिसकेको थियो। गोली लागेर प्रदर्शनकारी मारिएको समाचार बाहिरिएसँगै उत्तेजना बढिरहेको थियो। अस्पतालमा घाइतेको संख्या बढिरहेको थियो भने निजामती र ट्रमा सेन्टरमा पुर्याइएका घाइतेहरूको मृत्यु संख्यासमेत बढिरहेको थियो।

अवस्था संवेदनशील देखिएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषदको बैठक राखेका थिए। बैठकमा सेनासहित तीनवटै सुरक्षा अङ्गका प्रमुखहरूले आ-आफ्नो विश्लेषण सुनाए।

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रदर्शनकारीहरूले सर्तअनुसार शान्तिपूर्ण नभई हिंसात्मक आन्दोलन गरेको र संसद् भवन प्रवेशको प्रयास गरेकाले बल प्रयोग गर्दा मानवीय क्षति भएको ब्रिफिङ गरे।

घाइते प्रदर्शनकारीहरूको मृत्यु संख्या बढ्दै गए मंगलबार उनीहरूको समर्थनमा अभिभावकसहित प्रदर्शन हुनसक्ने, यदि मृतकका विद्यार्थीहरूको संख्या धेरै भए अवस्था जटिल हुनसक्ने सुरक्षा ब्रिफिङ भएको थियो।

बैठकको छलफलबारे जानकार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले यसलाई युवाहरूको मात्र आन्दोलन मान्नै चाहेनन्। उनले घुसपैठका कारण घटना भएको र युवाको आन्दोलनमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र राजावादीहरूले घुसपैठ गरेको भन्दै सरकारले परिस्थिति सम्हाल्ने बताए। अनि उनले सेनासहित तीनवटै सुरक्षा सङ्गठनलाई शान्ति सुरक्षा कायम गर्न निर्देशन दिइरहे।

राष्ट्रिय अनुसन्धान विभाग आफैँ मातहत रहे पनि बाहिर के भइरहेको छ ओली जानकार देखिएनन्।

राष्ट्रिय अनुसन्धान विभाग आफैँ मातहत रहे पनि बाहिर के भइरहेको छ भन्नेबारे ओली जानकार देखिएनन्। सेना,सशस्त्र र प्रहरीले भनेको पत्याएनन्।

बैठकमा प्रहरी महानिरीक्षक खापुङले नयाँबानेश्वरको घटनापछि प्रहरीको मनोबल कमजोर भएको र सबै ठाउँको सुरक्षामा प्रहरी खटिँदा सम्भावित प्रदर्शन रोक्ने जनशक्तिको अभाव हुने भन्दै महत्त्वपूर्ण भवनसहितका स्थानमा सेना र सशस्त्र प्रहरी खटिए सहज हुने प्रस्ताव राखे।

स्रोतका अनुसार बैठकमा सहभागी प्रधानसेनापति अशोकराज सिग्देलले निकै सहज रूपमा ‘हुन्छ, सुरक्षा जोखिम हुने स्थानहरूको सुरक्षामा सेना खटाउँछु, सशस्त्र र प्रहरी प्रदर्शनमा केन्द्रित हुनुस्’ भने।

बैठकमा रिङरोड क्षेत्रभित्र कर्फ्यु आदेश जारी गर्ने सहमतिसँगै सुरक्षा सङ्गठनका प्रमुखहरू बाहिरिए। प्रधानमन्त्रीले पहिल्यै मन्त्रिपरिषद्को बैठक राखेर घाइतेको उपचार र घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठनको निर्णय गराइसकेका थिए।

प्रहरीलाई सेना र सशस्त्रको ‘धोका’
कामको बाँडफाँडमा सोमबार बेलुका भएको सहमतिअनुसार रिङरोडको मुख्य चोकसहितका स्थानमा प्रहरी बिहानैदेखि परिचालित भइसकेका थिए। महत्त्वपूर्ण भवनको सुरक्षामा खटिएका प्रहरीलाई समेत ‘ब्याकअप फोर्स’का रूपमा प्रयोग गर्न झिकाइएको थियो।

तर, प्रतिबद्धताअनुसार सेना र सशस्त्र प्रहरी खटिएनन्। महत्त्वपूर्ण सरकारी भवन, मन्त्री निवास, प्रधानमन्त्री निवास, पूर्वप्रधानमन्त्रीलगायत सुरक्षा जोखिम बढी हुनसक्ने क्षेत्रमा सेना खटिने भनिए पनि उनीहरू आएनन्।

सोमबारको बैठकको सहमतिअनुसार जुन-जुन ठाउँमा सशस्त्र खटिने भनिएको थियो, त्यहाँ सशस्त्र थिएन। 

बुधबार सडकमा खटिएको सेना।

सशस्त्रका प्रमुख राजु अर्यालले "प्रहरीलाई सपोर्ट गर्नुु पर्दैन, आफू सुरक्षीत हुने, लोकेसन चेन्ज गर्ने" भनेर आदेश दिएको सूचना आयो।

सडकमा प्रदर्शनकारीको संख्या बढ्दै गयो। उता, नेताहरूको घरमा निरन्तर आक्रमण भइरहेका घटनाहरू आइरहेका थिए। सेना आएन, सशस्त्र प्रहरी पनि ‘ब्याकअप फोर्स’मा नभई आफू अनुकूल खटियो। प्रदर्शन देशव्यापी रूपमै हिंसात्मक भइसकेको थियो।

प्रहरी कार्यालयहरू समेत आक्रमणको निशानामा पर्न थालेपछि प्रहरीको कन्ट्रोल रुमबाट निर्देशन आयो, ‘थुनुवाको सूची तयार पार्ने, हतियार र सञ्चार सेट, सवारीसाधनको सुरक्षा गर्ने, कार्यालयमा आगजनी र आक्रमण भयो भने रोक्न सके सेल प्रयोग गर्ने, नत्र आफ्नो सुरक्षा गर्ने, थुनुवा छाड्ने।’

निर्देशनमा सेल मात्र प्रयोग गर्न भनिएको थियो, हतियार प्रयोगबारे केही भनिएन।

प्रहरी कार्यालयमाथि आक्रमण, आगजनी र प्रहरीमाथि नै भौतिक आक्रमणका घटना बढ्न थाले। अनि प्रहरी सुरक्षा दिनभन्दा आफैँ सुरक्षित हुन थाले। 

देउवा कुटिएपछि तर्सिए प्रधानमन्त्री
उता, बूढानीलकण्ठको देउवा चोकमा ११ बजेदेखि नै प्रदर्शनकारीहरू भेला भइसकेका थिए। प्रहरीले करिब एक बजेसम्म भिडलाई थेगेरै राख्यो, तर धान्नै नसक्ने भएपछि छाडिदियो। उनीहरू नाराबाजी गर्दै देउवा निवास पुगे। गेट भित्रबाट बन्द थियो।

प्रदर्शनकारीहरूले पर्खाल भत्काएर परिसरमा प्रवेश गरी देउवा निवासमा छिरे। सुरक्षामा खटिएको सशस्त्र र सेनाले ‘सरेन्डर’ गरे। लुटपाट गर्न घरभित्र छिरेको समूहले भित्र देउवा दम्पतीलाई भेटेपछि कुट्दै बाहिर निकाल्यो।

केही मनकारी प्रदर्शनकारी र सुरक्षाकर्मीले भर्याङबाट उनीहरूलाई भवनको पछाडिको चौरमा झारे। त्यता पनि आक्रमण भएपछि बल्लबल्ल सेनाले प्रदर्शनकारीहरूलाई हटाएर बेलुकातिर गाडीमा दुवैको उद्धार गर्यो।

चुनावी सरकारको शपथ लिँदै सुशिला कार्की।

त्यो बेलासम्म प्रधानमन्त्री ओली सरकारी निवासमै थिए। प्रधानमन्त्री निवासको दक्षिणी गेटमा प्रदर्शनकारीको संख्या बढिरहेको थियो। प्रधानमन्त्री निवासको परिसरको सुरक्षामा सेना, सशस्त्र, प्रहरी र राअबीका गरेर तीनसय बढि खटिएका थिए। भित्री सुरक्षामा सेना, परिसरमा सशस्त्र र गेटमा प्रहरी थिए।

गेटको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूले जोखिम बढिरहेको सूचनासँगै देउवा दम्पती आफ्नै घरमा कुटिएको खबर पुर्याएपछि बल्ल माहोल बिग्रिएको चाल पाएर ओली झस्किए।

प्रधानसेनापतिको सन्देश: ‘राजीनामा दिनुस्, अनि मात्र उद्धार’
प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासभित्र छिर्ने जोखिम रहेको सूचना पाएपछि प्रधानमन्त्री ओलीले प्रधानसेनापति सिग्देललाई बालुवाटारको सुरक्षामा सेनाको संख्या बढाउन भने। स्रोतका अनुसार सिग्देलले वास्ता गरेनन्।

उता, सशस्त्र प्रहरी बलबाट पनि राम्रो प्रतिक्रिया नआएपछि उनले प्रधानमन्त्री निवासमा बस्न चाहेनन्। बाहिर निस्कन सक्ने अवस्थाबारे बुझ्दा निवासमा रहेका सुरक्षाकर्मीले सम्भव नभएको, सडकमा प्रदर्शनकारी रहेको र बालकोटमा रहेको घरसमेत जलाइसकेको सूचना दिएपछि उनले सेनाको हेलिकप्टरका लागि आग्रह गरे।

‘प्रधानमन्त्रीज्युले हेलिकप्टर मगाउँदा सर्तको रूपमा ‘पहिला राजीनामा दिनुस्, अनि मात्र’ भन्ने सन्देश आएपछि निवासभित्रै राजीनामा पत्र तयार भयो। अनि एक व्यक्तिले राष्ट्रपतिलाई जानकारी गराएर राजीनामा लगेका थिए,’ जानकार स्रोतले भन्यो, ‘राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएको सूचना पुगेपछि मात्रै सेनाको हेलिकप्टर बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयो। त्यसपछि प्रधानमन्त्री र उनकी श्रीमतीलाई सेनाले हेलिकप्टरमा राखेर बालुवाटारबाट उडायो।’

उपप्रधानमन्त्रीलाई सेनाको सन्देश: ‘आदेश छैन’
बालुवाटारमा प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, सभामुख देवराज घिमिरे लगायतका नेताहरू पनि थिए। उनीहरू प्रधानमन्त्री ओलीसँगै हेलिकप्टर चढ्न खोज्दा ‘आदेश छैन’ भनेर सेनाले चढ्न दिएन।

बाहिर गेटमा प्रदर्शनकारीको संख्या बढिरहेको थियो। सेनाको गाडी भित्रै थियो। प्रधानमन्त्री निवासका केहीलाई सेनाले गाडीमा राख्यो। प्रहरीले अर्थमन्त्री पौडेललाई सेनाको गाडीमा चढाउन खोज्दा पनि ‘आदेश नभएको’ जवाफ आयो।

भिडको जोखिम देखेपछि विष्णु पौडेल, सभामुख देवराज घिमिरे लगायत जसोतसो प्रधानमन्त्री निवासबाट बाहिरिएर प्रहरी प्रधान कार्यालय पुग्न सफल भए। उनीहरू पुगेको केही बेरमै गभर्नर विश्व पौडेल पनि प्रहरी प्रधान कार्यालय आए। एमाले महासचिव शङ्कर पोखरेलसहितका नेतासमेत सुरक्षा खोज्दै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेका थिए।

प्रधानमन्त्री नियुक्त भएपछि सिंहदरबारमा सुशिला कार्की।

नेताहरू प्रहरी प्रधान कार्यालय छिरेको थाहा पाएपछि प्रदर्शनकारीहरू प्रधान कार्यालयभित्र छिर्ने प्रयासमा थिए, जसलाई प्रहरीको विशेष कार्यदलको कमान्डो टोलीले जोगायो।

यसबीचमा संसद्, सिंहदरबारसँगै बालुवाटारमा रहेको प्रधानमन्त्री निवाससमेत आगोको ज्वालामा पर्यो। राष्ट्रपतिले केपी ओलीको राजीनामा स्वीकृत भएको भन्दै शान्ति कायम गर्न र वार्तामा आउन आन्दोलनरत पक्षलाई आग्रह गरे।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानसेनापतिसँग मात्र वार्ता गर्ने र संसद् विघटनलाई पूर्वसर्त राख्न आन्दोलनरत पक्षलाई फेसबुकबाट निर्देशन दिए। बालेनले भनेअनुसार नै राजनीतिक वार्तामा प्रधानसेनापति सिग्देल सक्रिय भए। मंगलबार बेलुका १० बजेबाट सेना बल्ल सडकमा आयो।

शान्ति सुरक्षामा सुधार हुँदै गएपछि संसद् विघटनको सर्तमा सुशीला कार्की प्रधानमन्त्री हुन राजी भइन्। शुक्रबार उनले शपथ लिएलगत्तै संसद् विघटनको सिफारिस गरिन्, जसलाई राष्ट्रपतिले सदर गरिदिए।

भदौ ३१, २०८२ मंगलबार २१:२१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।