दशैंमा छोरीहरूलाई नयाँ कपडा किनिदिने वाचा गरेका थिए, जेनजी आन्दोलनमा अस्ताए
काठमाडौं : उदयपुरका सार कुमार राईले सोमबार (भदौ २३) आफ्ना छोरीहरूलाई यस दशैंमा नयाँ कपडा किनिदिने वाचा गरेका थिए।
काठमाडौंमा बस्ने सार कुमारलाई श्रीमती सुनिता राईले फोनमा भनेकी थिइन्, ‘छोरीहरूलाई दशैंमा कपडा किनिदिनुपर्छ है, राम्रोसँग काम गर्नुहोला।’ सार कुमारले जवाफ दिए, ‘काम भइरहेकै छ, चिन्ता नगर।’ आमाबुबाको कुरा सुनिरहेकी कान्छी छोरी खुसीले गद्गद् भइन्। त्यो दिन उनीहरूको कुरा त्यतिमै सकियो।
सधैँ झैँ मंगलबार पनि सार कुमारकै नम्बरबाट फोन आयो, तर आवाज उनको थिएन। खबर भने सार कुमारकै थियो: ‘तपाईंका श्रीमान् अस्पतालमा गम्भीर अवस्थामा हुनुहुन्छ, टाउकोमा गोली लागेको छ, तुरुन्त आउनुहोस्।’
यो सुनेर सुनिताले जवाफ फर्काउन सकिनन्, उनका आँखाबाट आँसु बग्न थाले।
देशभर कर्फ्यु लागेको थियो। उदयपुरको दुर्गम गाउँबाट काठमाडौं पुग्ने उपाय खोज्नै मुस्किल थियो। निकै दौडधुपपछि उनले गाडीको व्यवस्था मिलाइन्। ऋण खोजेर कान्छी छोरीलाई साथमा लिएर हिँडिन्। झन्डै दोब्बर भाडा तिरेर उनी शुक्रबार मात्र काठमाडौं आइपुगिन्।
सुनितालाई फोनमा श्रीमान्लाई गोली लागेको मात्र भनिएको थियो। तर, उनी काठमाडौं पुग्दासम्म उनका श्रीमान् जीवित थिएनन्। जेन-जी आन्दोलनको दोस्रो दिन गौशाला प्रहरी चौकीअगाडि गोली लागेर सार कुमारको मृत्यु भइसकेको थियो। जब उनले यो कुरा थाहा पाइन्, आफूलाई सम्हाल्न सकिनन्। श्रीमान्लाई सम्झेर सुनिता भक्कानिइन्।
हातमा श्रीमान्को फोटो समाएर शिक्षण अस्पतालको फरेन्सिक ल्याबअगाडि दुई छोरीहरूसँगै विक्षिप्त भावमा बसिरहेकी सुनितालाई अहिलेसम्म पनि थाहा छैन- उनका श्रीमान् कसरी आन्दोलनमा पुगे।
सार कुमार पेसाले रंगरोगनको काम गर्थे। उनी कपनमा बस्थे र ठूली छोरीलाई यतै पढाइरहेका थिए। श्रीमती र कान्छी छोरी दुई-तीन वर्षअघिसम्म सँगै थिए, तर काठमाडौंको महँगी धान्न नसकेपछि कान्छी छोरीलाई कक्षा १० सम्म गाउँमै पढाएर उच्च शिक्षाका लागि मात्र सहर ल्याउने उनीहरूको योजना थियो। त्यसैले सुनिता र कान्छी छोरी गाउँ फर्किएका थिए।
दशैं नजिकिँदा रंगरोगनको काम बढ्ने भएकाले सार कुमार व्यस्त थिए। दशैं मनाउन कहिले गाउँ फर्किने भन्नेबारे श्रीमतीसँग सल्लाह भइरहन्थ्यो। सार कुमार गाउँ त फर्किए, तर काठको बाकसमा।
श्रीमान्को टाउकोमा गोली, परिवारमा बज्रपात
सोमबार त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागअगाडि भीडभाडबीच सुनिता र उनकी कान्छी छोरी भुइँमा आँखा झुकाएर बसिरहेका थिए। दुवैका आँखाका आँसु सुकिसकेका थिए। छोरीले मास्क लगाएर आफ्नो बुबाको तस्बिर समाइरहेकी थिइन्। सुनिता कहिले छोरीलाई हेर्थिन्, कहिले श्रीमान्को तस्बिरलाई।
त्यहाँ जेन-जी आन्दोलनमा शहीद भएकाहरूका परिवारको रुवाबासी थियो, धेरैका इष्टमित्र पनि थिए। तर, सुनिताको साथमा उनी र उनकी छोरीबाहेक अरू कोही थिएन। उनको नजिक पुग्नासाथ उनले भनिन्, ‘डाक्टरले फोन गरेका हुन् कि प्रहरीले, त्यो पनि थाहा भएन। तुरुन्त आउनु भनेपछि म त काम्न थालेँ। मलाई सुगर पनि छ।’
सार कुमार टाउकोमा गोली लागेर ढलेका रहेछन्। ‘कसैले मेडिकेयर अस्पतालमा ल्याइदिएको रहेछ। त्यो खबर सुनेको दिनदेखि होस नै छैन। अस्पतालमा उहाँलाई हेर्नेबित्तिकै म पनि ढलेछु,’ सुनिताले भनिन्।
‘पछि पोस्टमार्टम गर्न भनेर यता ल्याइएको रहेछ। हिजो पनि आउने हिम्मत गर्न सकिनँ। आज भने, अब यसरी बस्नुहुन्न, जेजस्तो भए पनि बाबालाई राम्रोसँग अन्तिम संस्कार गर्नुपर्छ भनेर हामी आमाछोरी यहाँ बसिरहेका छौँ। हामी राईहरूको आफ्नै रीतिरिवाजअनुसार अन्तिम संस्कार गर्नुपर्ने भएकाले गाउँमै लैजाने कुरा भएको छ,’ उनले छोरीलाई अँगालो हाल्दै भनिन्।
पानी परिरहेको र बाटो कच्ची भएकाले शव हेलिकप्टरमार्फत लैजाने कुरा भइरहेको उनले बताइन्।
‘राज्यले मेरा दुई छोरीको भविष्यबारे सोचिदेओस्’
‘गाउँमा पनि घर बनाउन सकेका छैनौँ। अस्ति साउनमा श्रीमान्सँग भेट भएको थियो। त्यतिबेला दशैंमा भेट्ने भनेर छुट्टिएका थियौँ। फोनमा कुरा गर्दा काम धमाधम हुँदै छ भन्नुहुन्थ्यो,’ सुनिता बोल्दाबोल्दै भक्कानिइन्।
फरेन्सिक विभागमा शव बुझ्दा उनलाई हस्ताक्षर गर्न लगाइयो। त्यसबेला पनि उनले आफूलाई सम्हाल्न सकिनन्। त्यहाँ रहेका अन्य आफन्तले सबै कागजी प्रक्रिया पूरा गरिदिए। त्यतिबेला श्रीमान् शहीद भएको समाचार पनि उनले सुनेकी थिइन्।
‘समाचार त सुनेकी हुँ, तर अब के हुन्छ, के गर्नुपर्छ भनेर नानीको अंकलसँग राम्ररी बसेर कुरा गर्न पाएकी छैन। म त यहाँ उहाँको शव देख्नेबित्तिकै लल्याकलुलुक भएँ,’ उनले भनिन्।
‘काठमाडौं आएको दिनदेखि अस्पताल र आफन्तको कोठाबाहेक आफ्नै कोठामा पनि जान सकेकी छैन। यस्तो अप्ठ्यारो समयमा हामीलाई कसैले भेट्न आएनन्, सहानुभूति दिन पनि आएनन्, सहयोग त परको कुरा। अब के गर्ने, के गर्नुपर्छ भन्ने समेत थाहा छैन,’ उनले गुनासो पोखिन्।
आज शहीदहरूको शव परिक्रमा गराउँदा उनको श्रीमान्को शव पनि थियो। परिक्रमापछि सार कुमारको शव लिएर सुनिता छोरीसँगै सेनाको हेलिकप्टरमा उदयपुर उडिन्। उनकी ठूली छोरीले भर्खर १२ कक्षा पास गरेकी छिन् भने कान्छी छोरी अहिले १० कक्षामा पढ्दैछिन्।
‘अब मैले एक्लैले दुवै छोरीको बाँकी पढाइ पूरा गराउन सक्छु कि सक्दिनँ, थाहा छैन। तर राज्यले मेरो बारेमा नसोचे पनि मेरा दुई छोरीको भविष्यबारे सोचिदेओस्,’ सुनिताले आँसु पुछ्दै भनिन्।
भदौ ३१, २०८२ मंगलबार २१:३२:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।