राष्ट्रिय सम्मानसहित जेनजी शहीदहरूको अन्त्येष्टि, शवयात्रामा मन्त्री घिसिङ र अर्याल पनि सहभागी
काठमाडौं : ‘जेन-जी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी भएका छन्।
सरकारले शहीद घोषणा गरेपछि अन्त्येष्टिका लागि तयार भएका परिवारको शवयात्रामा मंगलबार उनीहरु पनि सहभागी भएका हुन्। ऊर्जामन्त्री घिसिङले राष्ट्रिय झण्डा बोकेका छन् भने गृहमन्त्री अर्यालले राष्ट्रिय झण्डा ओढेर ऐक्यबद्धता जनाएका छन्।
त्रिवि शिक्षण अस्पतालबाट सुरू भएको शवयात्रा चक्रपथ हुँदै अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ।
शवयात्रामा सहभागी मृतकका परिवार, आफन्त र सर्वसाधारणले मृतकका तस्बिर र राष्ट्रिय झण्डा बोकेका छन्। कतिपयले ‘नि:सन्तानलाई के थाहा जेनजीको सपना ?’ लेखिएको कपडा लगाएर सांकेतिक विरोध जनाएका छन्।
सरकारले आन्दोलनमा ज्यान गुमाउनेहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र उनीहरूको सम्मानमा असोज १ गते राष्ट्रिय शोक बिदा दिने निर्णय गरेपछि पीडित परिवार अन्त्येष्टिका लागि सहमत भएका हुन्।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको थियो। मृतक अधिकांशको गोली लागेर ज्यान गएको थियो भने केहीका शव जलेको अवस्थामा फेला परेका थिए।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागका अनुसार गोली लागेकाहरूमध्ये अधिकांशको छाउको र छातीमा लागेको छ।
भदौ ३१, २०८२ मंगलबार १४:०९:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।