टिकटकर मनोजमाथि अपराधको आरोप,संलग्नै नभएको घटनामा जोडेको उनको दाबी

टिकटकर मनोजमाथि अपराधको आरोप,संलग्नै नभएको घटनामा जोडेको उनको दाबी
टिकटकर मनोज र संसद भवनमा जेनजी प्रदर्शनकारीले जलाएको सवारीसाधन।

काठमाडौं : संसद् भवन जलेकोमा संसद् भवन परिसरमा बसेर खुसी मनाएको भिडियो सार्वजनिक भएसँगै आलोचित भइरहेका टिकटकर मनोज केसी अपराधमा संलग्न देखिएका छन्। उनको नाम दिनेश अधिकारी चरीसँग समेत जोडिएको छ।

उकेराले प्राप्त गरेको विवरणमा मनोज केसीको नाममा प्रहरीमा विभिन्न १० वटा अपराधको रेकर्ड देखियो । तर ती सबै अपराधमा टिकटकर मनोज हुन् या अन्य पुष्टी हुन सकेन।

तर काठमाडौं पेप्सीकोलाका उनी केही घटनामा  संलग्न रहेको देखियो। उनीमाथी सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग लगायतका आरोप देखिन्छ। मनोज केसीको नाममा ज्यान मार्ने उद्योग, कुटपिट गरेर अङ्गभङ्ग गराएको आरोप देखिएका छन्।

संगठित अपराधमा संलग्न एक प्रहरी अधिकारीलाई उकेराले उनको तस्बिरसहित उनको पृष्ठभुमीबारे जानकारी लिएको थियो। विशेषगरी उपत्यकाको गुण्डागर्दी नियन्त्रणको अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले केसीको उपनाम फिफ्टी भएको जानकारी दिए।

उनीमाथि सुबिधानगर तीनकुनेमा काभ्रेका युवराज लामामाथि खुकुरी प्रहार गरेको,पेप्सीकोलामा उज्ज्वल ढुंगानामाथी खुकुरी प्रहार र ठमेलको डिस्कोमा जोन लामालाई कुटेर आँखा फुटाएको आरोपमा उनी पक्राउ परेको देखिन्छ।

उनीमाथि लागेका आपराधिक अभियोगहरूमध्ये कुन-कुनमा सफाइ पाए भन्ने विवरण आगलागीका कारण प्रहरी र अदालतमा रहेका प्रमाण नष्ट भएकाले फेला परेन।

उनले उकेरासँग जोनको घटनामा आफू संलग्न नभए पनि जाहेरीमा आफ्नो नाम परेको तर पछि अदालतबाट फसाई पाएको र आफ्नो नाम जोडिएको अन्य घटनामा संलग्न नरहेको दाबी गरे।

उकेरालाई असोज १० मा पठाएको खण्डनमा भने उनले आफू कुनै आपराधिक घटनामा संलग्न नरहेको र संलग्नै नभएको घटनामा आफ्नो नाम जोडेको दाबी गरेका छन्।

(यस समाचारमा टिकटकर मनोज केसीको पृष्ठभूमिमा दिनेश अधिकारी चरीको सहयोगी, जुवा, रकम असुलीमा संलग्न विवरण उनको नभई अन्य मनोज केसीको देखिएकाले हेडलाइन र समाचारमा रहेका ती प्रसंगहरु सच्याइएको छ। अन्य मनोज केसीको विवरण जोडिँदा टिकटकर मनोज केसीलाई परेको नकारात्मक प्रभावप्रति हामी माफी चाहन्छौं।)-सम्पादक

भदौ २९, २०८२ आइतबार १८:०२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।