सुदन गुरुङले यो सरकार पनि ढालिन्छ भनेपछि पत्रकार सम्मेलनमा झडप, प्रहरीले घेरा हालेर जोगायो
काठमाडौं : हामी नेपालको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा उत्तेजित भाषण गर्दै आफूहरूले भने अनुसार काम नगरे सुशीला कार्कीको नेतृत्वको सरकार भने ढाल्ने भन्दै उत्तेजक भाषण गरेपछि सुदन गुरुङमाथि हातपात भएको छ। रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा सुदन आफूमाथि लागेको गम्भीर आरोपहरूबारे भन्दा पनि उत्तेजक भाषण गर्दै 'कसैलाई पनि छाडिन्न,कुनै नेतालाई घरबाट बाहिर निस्कन दिइन्न" भनेपछि कार्यक्रम स्थलमै झडप भएको थियो।
गुरुङले जेनजी पुस्ताबाटै आफूलाई नेतृत्व गर्न आग्रह आएपछि नै अगाडि बढेको उनको दाबी थियो। उनलाई उनको नागरिकता, स्वतन्त्र तिब्बतको अभियान चलाइरहेको भारतीय संस्थासँगको सम्बन्ध लगायतका विषयमा कार्यक्रममा सहभागीहरूले प्रश्न सोधेका थिए।
कार्यक्रममा एक सहभागीले "युवा पुस्ताको प्रतिनिधित्व भनेर ७३ वर्षको व्यक्तिलाई किन प्रधानमन्त्री बनाएको?" भनेर प्रश्न गरेपछि उनी रिसाएका थिए। निकै उत्तेजित हुँदै उनले ८० वर्षमा नभएको परिवर्तन भएको छ यो परिवर्तन हैन भन्दै उत्तेजित भएका थिए।
कार्यक्रममा प्रदर्शनकोक्रममा भएको आगलागीको जिम्मेवारी कसले लिने भन्ने प्रश्नमा उनले "आफूले आगो नलगाएको तर अन्त्य भनेको गरेको" भन्दै आन्दोलन नसकिएको यो सुरुवात मात्र भएको बताएका थिए। कार्यक्रममा सहभागीहरूले थर्काउने हो भन्दै प्रश्न गरेपछि उनले थर्काएको हैन भनेका थिए।
उनले अब कुनै पनि नेताहरूलाई घरबाट बाहिर निस्कनै नदिने भन्दै विरोध कार्यक्रम पनि आफूले आयोजना नगरेको बताएका थिए। उनले आफू एक्लै भए पनि आन्दोलन जारी रहने र आफ्नो बानी नै यस्तै भएको बताए। उनले राष्ट्रपति निवासमा पुग्दा पानी खान दिँदा पनि विदेशीको पानी खान्न भनेर नखाएको दाबी गरे।
कार्यक्रममा होहल्लासँगै धकेलाधकेल भएपछि कार्यक्रमस्थलमा प्रहरी पुगेर सुदनलाई जोगाएका थिए। कार्यक्रममा हातमा ब्यान्डेज बाँधेर आएका एक व्यक्तिले कार्यक्रममा सहभागीलाई धकेलेर लखेटेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो।
भदौ २९, २०८२ आइतबार १७:३४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।