सिंहदरबार पुगेका कर्मचारी कोही भग्नावशेष हेरेर टोलाउँदै, कोही हाजिर गरेर बाहिरिँदै

सिंहदरबार पुगेका कर्मचारी कोही भग्नावशेष हेरेर टोलाउँदै, कोही हाजिर गरेर बाहिरिँदै

काठमाडौँ : नयाँ प्रधानमन्त्रीको नियुक्तिसँगै अवस्था सामान्य बन्दै गएपछि मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा रहेका कार्यालयका कर्मचारीहरू आइतबार कार्यालय परिसर पुगे।

तर जसको कार्यालय सुरक्षित थियो त्यहाँका अधिकांश कर्मचारी हाजिर गरे अनि बाहिरिए। जसको हाजिर गर्ने अवस्था थिएन उनीहरू झुण्डझुण्डमा बसेर छलफल गरिरहेका थिए।

कम क्षति भएका मन्त्रालय तथा निकायका कर्मचारी तत्काल सेवामा खटिनसक्ने अवस्था भए पनि कसरी काम सुरु गर्ने भनेर माथिल्लो तहबाट निर्देशन नआएकाले उनीहरू कसरी, के काम गर्ने भन्ने अन्योलमा देखिएका थिए।

प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट प्रभावित भएको गृह, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइलगायत मन्त्रालयका कर्मचारीहरूले हाजिर गर्न कार्यालयमा अस्थायी रजिस्टर राखेका छन्।

मध्याह्न १२ बजेतिर ऊर्जा सचिव सरिता दवाडी आफ्नो कार्यकक्षमा कसरी अघि बढ्ने भनेर कर्मचारीहरूसँग अनौपचारिक छलफलमा देखिइन्। आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको मन्त्रालयको केही कोठामा कर्मचारी थिए। मन्त्रालयका कागजात र महत्त्वपूर्ण सामग्री त्यसै छरपस्ट थिए।

ऊर्जा मन्त्रालयमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध थियो। मन्त्रालयका सूचना अधिकारी राजु महर्जनका अनुसार अहिले क्षतिको विवरण सङ्कलन गर्ने र मुचुल्का तयार पारेर अभिलेख राख्ने प्रारम्भिक तयारी भइरहेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तुलनात्मक रूपमा कम क्षति देखिए पनि अहिलेको अवस्थामा के काम गर्ने र कसरी अघि बढ्ने भन्नेबारे कर्मचारीलाई स्पष्ट निर्देशन आएको छैन।

“हाल क्षतिको विवरण सङ्कलन र त्यसको अभिलेख बनाउने काम भइरहेको छ। त्यसबाहेक अन्य काम मन्त्री वा सरकारको प्रस्ट निर्देशनपछि मात्र अघि बढ्छ”, मन्त्रालयका सहसचिव डा हरिबहादुर केसीले भने।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिवस्तरीय बैठक बसेर सार्वजनिक यातायात सञ्चालनबारे छलफल भए पनि अन्य नियमित सेवा प्रवाहको काम सुरु भएको देखिएन।

तुलनात्मक रूपमा अर्थ मन्त्रालय सक्रिय देखियो। बजेट महाशाखाभित्रको एउटा शाखा प्रभावित भए पनि मन्त्रालयको काम सञ्चालनमा आइसकेको प्रवक्ता टङ्कप्रसाद पाण्डेयले बताए।

“अब पुनर्निर्माण र आगामी निर्वाचनका लागि आवश्यक खर्च व्यवस्थापनमा बढी जोड गर्नुपर्छ भनेर आन्तरिक छलफल तथा तयारी सुरु भइसकेका छन्। यसका लागि अहिलेको बजेटमा के व्यवस्था गर्न सकिन्छ, सोको छलफल र विश्लेषण भइरहेको छ। राजस्व स्रोत व्यवस्थापन गर्ने र खर्च कटौतीबारे छलफल भइरहेको छ”, पाण्डेयले भने।

जेनजी प्रदर्शनका क्रममा देशभर भएको क्षतिको विवरण एकीन गर्ने र त्यसको लागत तयार पार्ने विषयमा राष्ट्रिय योजना आयोगले आन्तरिक तयारी सुरु गरेको छ।

आयोगका सह-प्रवक्ता डा दिवाकर लुइँटेलका अनुसार आयोगले ‘पोस्ट डिजास्टर नीड असिसमेन्ट’ का लागि आन्तरिक छलफल थालेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कर्मचारी जलेर नष्ट भएका मन्त्रालयको भग्नावशेषको अगाडि उभिएर हेरिरहेका थिए। कर्मचारीहरुले नयाँ रजिस्टारमा हातले हाजिरी गरिरहेका थिए।

केही कर्मचारी क्षतिको विवरण सङ्कलनमा खटिएका थिए। पूर्ण रूपमा क्षति भएको स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनबाट काम सुरु गर्ने तयारी गरिरहेको स्वास्थ्य सचिव डा विकास देवकोटाले बताए।

-राससको सहयोगमा

भदौ २९, २०८२ आइतबार १७:३३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।