नवनियुक्त प्रधानमन्त्री कार्कीले सम्हालिन पदभार (तस्विरहरू )

नवनियुक्त प्रधानमन्त्री कार्कीले सम्हालिन पदभार (तस्विरहरू )
तस्विर : दिपेश श्रेष्ठ

काठमाडौं : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सिंहदरबारमा औपचारिक रूपमा पदभार ग्रहण गरेकी छन्।

पदबहालीअघि उनले लैनचौर र सहिदगेटस्थित सहिदका सालिकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिन् । माल्यार्पणपछि प्रधानमन्त्री कार्की सिंहदरबार पुगेर पदभार सम्हालेकी हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते उनलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

पहिलो महिला प्रधानमन्त्रीको 'केपीको सपना' पूरा

२०८१ भदौ ६ गते  यूथ कन्क्लेभमा बोल्दै केपी शर्मा ओलीले भने "‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ।प्रधानमन्त्री बनाइहाल्छु भन्न मुस्किल हुन सक्छ, छिट्टै बनाउने तयारीका बारेमा सोचिरहेको छु।’

उनले आफ्नै पालामा महिला राष्ट्रपति विद्या भण्डारी, पहिलो सभामुख ओनसरी घर्ती, पहिलो प्रधानन्यायाधीश सुशीला कार्की र पहिलो मुख्यसचिव लीलादेवी गड्तौला नियुक्त गरेको बताएका थिए। उनले पहिलो महिला प्रधानमन्त्री एक महिना वा एक वर्षमा सम्भव नहुने दाबी गरेका थिए। तर संयोग, ओलीले दाबी गरेको लगभग एक वर्ष २० दिनमा नेपालले पहिलो महिला प्रधानमन्त्री पायो-सुशीला कार्की। तर यो ओलीको योजना वा तयारी अनुसार सम्भव भएको हैन।

उनको निरङ्कुश शैली र हेपाहा व्यवहारका कारण सुरु भएको जेनजी आन्दोलनका कारण हठात् प्रधानमन्त्री पद छाड्न परेपछि परिस्थितिले कार्की पहिलो महिला प्रधानमन्त्री बनिन्।

दलसँग सुशीलाको लभ हेटको सम्बन्ध

सुशीला कार्की प्रारम्भिक युवाकालमा नेपाली काँग्रेसमा आबद्ध भएर अगाडि बढे पनि दलका नेताहरूसँग उनको सम्बन्ध 'लभ-हेट' को रह्यो।

विराटनगरमा जन्मिएकी उनी शिक्षण पेशाहुँदै कानुनमा आइन्। आफू पनि काँग्रेसमा लागेकी उनको श्रीमान् दुर्गा सुवेदी कांग्रेसका नेता नै थिए। विमान अपहरणका योजनाकारका रूपमा उनी परिचित छन्।

प्रारम्भमा राजनीतिमा सक्रिय कार्की २०३५ मा अधिवक्ता बनिन्। जिल्ला बारको अध्यक्ष हुँदै उनी २०६७ मा सर्वोच्चमा अस्थायी न्यायाधीशको रूपमा अदालतमा प्रवेश गरिन् र प्रधानन्यायाधीशसम्म बनिन्। न्यायाधीश नियुक्तिदेखि प्रधानन्यायाधीशसम्म कांग्रेससँग उनको नाम जोडिँदै रह्यो। तर त्यही दलका कारण पहिलो महाअभियोग लाग्ने प्रधानन्यायाधीश पनि बनिन्।

 जेपीलाई जेलदेखि लोकमानसँग टक्करसम्म

सुशीला कार्कीको स्वभाव भ्रष्टाचार विरोधी नै देखिन्छ। उनी आर्थिक विवादमा परेकी छैनन्। नेपाली कांग्रेसका नेता जेपी गुप्तालाई उनकै इजलासले दोषी ठहर गरेको थियो।

लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बन्न अयोग्य भएको दाबीसहित परेको रिटमा उनले नै कार्कीको योग्यता नरहेको ठहर गरेर पदमुक्त गराएकी थिइन। यो बाहेक सन्तान पहिचानको आधार डिएनए मात्र हुन नसक्ने भनेर उनी सहभागी बेन्चले गरेको फैसला भने विवादित बनेको थियो।

बालकृष्ण ढुङ्गेललाई पक्राउ गर्न आदेश दिएकी उनले गोविन्दराज जोशीको भ्रष्टाचार सम्बन्धी पेशी अगाडि बढाउने प्रयासमै अवकाश पाइन्। अवकाशपछि अभियन्ताको रूपमा सक्रिय थिइन्।

 नाति पुस्ताले दिएको अवसर

अवकाशको उमेर श्रीमानसँग बसिरहेकी कार्कीलाई नेपालको पहिलो प्रधानमन्त्री बन्ने मौका नाति पुस्ताका जेनजीले दिएका हुन्। भ्रष्टाचारको विरोधमा सुरु भएको प्रदर्शनमा भएको हस्तक्षेपमा १९ जनाको मृत्यु भएसँगै आन्दोलन चर्कियो र हिंसात्मक बन्यो। सिंहदरबारदेखि प्रधानमन्त्री निवाससम्म जलेपछि मन्त्रीहरू भागे। प्रधानमन्त्री केपी ओलीले राजीनामा दिए।

यो सँगै राष्ट्रपतिले वार्ताका लागि आव्हान गरेको जेनजी पुस्ताले भर्चुअल मतदानबाट पहिलो नम्बरमा आएकी कार्कीको नाममा सर्वसम्मत गरे। बिचमा हर्क साङपाङ, कुलमान घिसिङ लगायतको नाम नआएको हैन। तर अन्तमा उनकै नाम अनुमोदन भयो।

महाअभियोग लाग्दा दुस्मन नै सहयोगी

प्रधानन्यायाधीश रहेकै बेला अधिकार क्षेत्रमा हस्तक्षेप गरेको र कार्यसम्पादन क्षमता नभएको लगायत कारण देखाउँदै उनी विरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरेका थिए।

नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले कार्की विरुद्ध २०७४ वैशाखमा  महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता गरे। प्रस्ताव दर्तासँगै उनी निलम्बित भइन्। तर एको पत्र पनि दिइएको थियो।तर कार्कीको दुस्मन समान सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले अन्तरिम आदेश जारी गर्दै उक्त प्रस्तावलाई निष्प्रभावी बनाएपछि उनी अदालत फर्किएर २०७४ जेठ २३ मा बिदा भइन्।

कानुन भन्दा भावना हाबी

कार्कीमा देखिने समस्या न्यायाधीश हुँदै प्रधानन्यायाधीशसम्म भए पनि उनका कतिपय निर्णयमा कानुन भन्दा भावना हाबी हुन्छ। सन्तानक पहिचानबारे डिएनए रिपोर्ट अस्वीकार गरेर नाता कायम गराएको उनको इजलासको फैसला अहिले पनि उत्तिकै चर्चित छ।

नवराज सिलवाल र जयबहादुर चन्दबीच चलेको कानुनी लडाइँमा कार्की देखिने गरी नै सिलवालको पक्षमा लागेको देखिएको थियो। तर अन्त्यमा यी दुवै भएनन्। प्रकाश अर्याल भए। तर प्रधानन्यायाधीशले फेवर गरेर शक्तिको दुरुपयोग गरेको देखियो।

अन्तरिम सरकारमा प्रधानन्यायाधीशको संलग्नताबारे परेको रिटमा खिलराज रेग्मीको नियुक्त गैर संवैधानिक भनेर ठहर गरेकी उनी उहीँ खिलराजकै शैलीमा प्रधानमन्त्री भइन्। संविधानमा पूर्व प्रधानन्यायाधीशको अवकाशपछि कतै राजनीतिक नियुक्ति गर्न नै पाइँदैन। त्यति लामो समय कानुनकै अभ्यास गरेकी उनी अन्तमा संसद् समेत नराखी संविधान मिचेरै प्रधानमन्त्री भइन्।

 

भदौ २९, २०८२ आइतबार ११:५०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।