सुशीलाको शपथमा बालेन गएनन्, सुदनको टिमै देखियो, रास्वपाबाट सुमना मात्र
काठमाडौं : चुनाव गराउने जिम्मेवारीसहित प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको शपथ समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उनका कुनै प्रतिनिधि देखिएनन्।
शीतल निवासको भित्री कोठामा सामान्य रूपमा आयोजित शपथ समारोहमा 'हामी नेपाली' नामक एनजिओका प्रमुख सुदन गुरुङसहितका प्रतिनिधिहरू भने संस्थाको ज्याकेटसहित उपस्थित भएका थिए।
शपथ समारोहमा पहिलो पटक ड्रेस कोड देखिएन। उनीहरू अनौपचारिक पोसाकमै गएर कार्कीलाई बधाई दिँदै खुसी साटिरहेका थिए। जेएनजी उमेर समूहका अन्य प्रतिनिधिहरू समेत शपथ समारोहमा सहभागी देखिए पनि मेयर बालेन भने देखिएनन्।
सुदनको संस्थाले नेपालमा बिचौलियाको रुपमा परिचित दीपक भट्ट र होटल हिल्टनसँग जोडिएको व्यापारिक समूहबाट चन्दा लिएको सार्वजनिक भएपछि उनी विवादमा छन्। आफ्नो नागरिकता बारे बोले पनि चन्दाबारे बोलेका छैनन्।
बालेनले प्रधानमन्त्रीमा कार्कीलाई समर्थन गर्दै सामाजिक सञ्जालमा लेखेका थिए। शपथ समारोहमा मुख्य राजनीतिक दलका नेताहरू समेत देखिएनन्। पूर्व प्रधानमन्त्रीहरुमध्ये केवल डा. बाबुराम भट्टराई मात्रै देखिए।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ पनि कार्कीलाई बधाई दिन शीतल निवास पुगेकी थिइन्। समारोहस्थलमा भारत अनि चीनसँगै अन्य राजदुतहरुसमेत उपस्थित थिए। उपराष्ट्रपति लगायत उपस्थित रहेको शपथ समारोहमा प्रधानसेनापति अशोक सिग्देल समेत सहभागी थिए। तर न सभामुख थिए न राष्ट्रिय सभाको अध्यक्ष।
भदौ २७, २०८२ शुक्रबार २२:१५:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।