पितृहरूको स्मरणमा आजदेखि सोह्र श्राद्ध शुरू, रोकिए के गर्ने?

पितृहरूको स्मरणमा आजदेखि सोह्र श्राद्ध शुरू, रोकिए के गर्ने?

काठमाडौं : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म चल्ने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि विधिवत् शुरू भएको छ।

सनातन हिन्दू परम्परामा पितृहरूको सम्मान र मुक्तिको कामना गर्दै तर्पण, सिदादान र पिण्डदान गरिने यो महत्त्वपूर्ण पक्षको पहिलो दिन आज प्रतिपदा तिथिको श्राद्ध गरिँदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, आज प्रतिपदा तिथिको श्राद्ध अपराह्नकालसम्म गरिसक्नुपर्नेछ। समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले सोह्र श्राद्धको शास्त्रीय र सांस्कृतिक महत्त्वबारे जानकारी दिए।

वैदिक सनातन हिन्दू परम्पराअनुसार चाडपर्व, यज्ञयाग र अन्य ठूला शुभकार्य गर्नुअघि पितृहरूलाई श्रद्धापूर्वक सम्झिने गरिन्छ। सोह्र श्राद्धको समयमा पितृहरू आफ्ना सन्ततिबाट तर्पण, पिण्ड आदि पाउने आशमा पृथ्वीलोकको नजिक आउने शास्त्रीय मान्यता छ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, यस अवधिमा श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृऋणबाट समेत मुक्ति मिल्छ। साथै, यो पक्षमा श्राद्ध नगर्दा पितृहरू असन्तुष्ट हुने र त्यसले दोष लाग्ने विश्वास गरिन्छ। त्यसैले जाताशौच, मृताशौच र पत्नी रजस्वला भएको अवस्थाबाहेक सोह्र श्राद्ध छोड्न नहुने उनको भनाइ छ।

सोह्र श्राद्ध सधैँ अपराह्न कालमा गर्नुपर्ने शास्त्रीय विधान छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले केही पुरोहितहरूले आफ्नो अनुकूलताका लागि बिहानै श्राद्ध गराउने गरेको पाइए पनि त्यो शास्त्रसम्मत नभएको स्पष्ट पारे। श्राद्धकर्ताले आफ्ना पिताको दिवङ्गत भएको तिथिमा पिण्डदान आदि कर्म गर्नुपर्दछ।

कारणवश श्राद्ध रोकिए के गर्ने?
कुनै कारणवश निर्धारित तिथिमा श्राद्ध गर्न नसकेमा धर्मशास्त्रले विभिन्न विकल्पहरू दिइएको छ। तिथिमा श्राद्ध गर्न नसकिए आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न सकिन्छ।

उक्त समयमा पनि सम्भव नभए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाको दिन गर्न सकिन्छ। त्यसपछि पनि रोकिएमा वृश्चिक सङ्क्रान्ति (मङ्सिर महिनाभित्र) सम्म गर्न सकिने ‘धर्मसिन्धु’ जस्ता ग्रन्थमा उल्लेख छ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी, औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिनमा पनि रोकिएको श्राद्ध गर्न सकिने शास्त्रीय विधान रहेको प्रा.डा. भट्टराई बताउँछन्।

यी कुनै पनि समयमा श्राद्ध गर्न नसक्नेले ब्राह्मणमार्फत वा आफैँले दैनिक १०८ पटक पितृ मन्त्र जप गरेर पनि पितृलाई तृप्त गराउन सकिने धार्मिक विश्वास छ। यस्तो जप १० महिनासम्म गर्नुपर्ने विधान छ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैं शुरू हुन्छ। ठूला पर्वहरू मनाउनुअघि आफ्ना पितृहरूलाई तृप्त बनाउने वैदिक परम्पराअनुसार सोह्र श्राद्ध मनाइँदै आएको हो।

भदौ २३, २०८२ सोमबार ०८:१०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।