आज रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, काठमाडौं उपत्यकामा विदा
काठमाडौं : वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज सार्वजनिक रूपमा देखाइँदैछ। यो परम्परागत भोटो जात्रालाई पहिले ‘जावलाखेल जात्रा’ भनेर चिनिन्थ्यो, जसको नामको अर्थ ‘भात छर्ने’ भन्ने हुन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीका अनुसार करिब ८ सय वर्षअघिदेखि यो जात्रालाई यही नामले चिनिँदै आएको हो। रातो मच्छेन्द्रनाथको जात्रासँग सम्बन्धित यो भोटो देखाउने परम्पराको थालनी कहिलेदेखि भएको हो भन्ने यकिन तिथिमिति भने अझै पत्ता लागिसकेको छैन।
तर मच्छेन्द्रनाथको यात्रा भने करिब १,३०० वर्षअघि सुरु भएको मानिन्छ। किंवदन्तीअनुसार नागराज कर्कोटककी रानीको आँखामा समस्या आएपछि कर्कोटकले वैद्य खोज्न टौदहबाट मानिस लोकमा दूत पठाएका थिए। त्यतिबेला खेतमा काम गरिरहेका एक किसानलाई वैद्य ठानी नागलोक लगियो। किसानले मच्छेन्द्रनाथको प्रार्थना गरेर हात माडेर मयल (पसिना) नागराजलाई औषधि स्वरूप दिए। रानीको आँखाको रोग निको भयो। खुसी भएर कर्कोटकले किसानलाई मणि माणिक्य जडित भोटो पुरस्कारमा दिए।
तर पछि त्यो भोटो एक भूतले लग्यो। किसानले त्यो भोटो मच्छेन्द्रनाथको जात्रामा लगाएको देखेपछि दाबी गरे। भूतले फिर्ता दिन नमानेपछि विवाद भयो। अन्ततः नागराजलाई समेत बोलाएर सोधपुछ गर्दा कसैको पनि स्पष्ट दाबी प्रमाणित नभएपछि भोटो मच्छेन्द्रनाथकै जिम्मा लगाइयो।
त्यहीबेला देखिएको परम्पराअनुसार, यदि कुनै दिन प्रमाणसहित सही दाबेदार आएमा भोटो फिर्ता दिने गरिन्छ। तर अहिलेसम्म कोही प्रमाणसहित आएको छैन। यही विश्वासका साथ प्रत्येक वर्ष साइत हेरेर भोटो देखाउने चलन बसालिएको हो।
अहिले भोटो देखाउने काम गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा गर्दै आइरहेका छन्। आजको यो अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
जेठ १८, २०८२ आइतबार ०७:४६:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।