किसान: बाँदर आतंक र यसको समाधान
नेपाल कृषिप्रधान देश, तर धेरैको भनाई अनुसार यो कृषकको देश चाहिँ होइन। यहाँ न त किसानले समयमा मल पाउँछन, न त गुणस्तरीय बीउ नै। अन्य कृषि शिक्षा र प्रविधिको त कुरै नगरौं। सायद यिनै तथ्यले यो किसानको देश होइन भन्ने प्रमाणित हुन्छ। जुन तथ्य नीतिनिर्माता देखि हरेक निकायलाई थाहा छ।
हाल बाँदर आतंकले झनै किसानलाई आक्रान्त बनाएको छ। झरी, घाम पानी नभनी लगाएको बाली किसानले सावित भित्र्याउन पाएका छैनन्। लगाउने बेलामा समयमा बीउ र मल नपाएका किसानले लगाए पछि पनि दैनिक बाँदरको आतंक सहन परिरहेको छ। एकातिर मल छैन, अर्कातिर लगाएको बाली सुरक्षा पनि छैन। दैनिक गोठालो लागेर पनि साध्य छैन।
गाउँघरको मान्छे, अन्य काम थाँती राखेर पनि भएन। खेतिकिसानी गरेर बाँच्न किसानलाई निकै सकस भएको छ। किसान आज आफ्नो सन्ततिलाई कृषक बनाउन चाहदैन। सकि नसकी पढाएर कि विदेश कि कुनै सरकारी जागिर गरोस् भन्ने चाहान्छ। खेती लगायो समयमा बीउ, मल छैन। कहिले अतिवृष्टी त कहिले अनावृष्टी।
किरा, फट्याङ्ग्रा, बाँदर, दुम्सी मृग पनि किसानलाई नै लाग्ने। यी सबै दुःख गरेर उब्जाएको बालीको फेरि किसानले नै मुल्य पाउँदैन। हुन त किसानको छोरोले विदेश जान हुँदैन वा जागिर खान हुँदैन भन्नू मेरो तात्पर्य पटक्कै होइन। तर, कृषिप्रधान देशमा कृषि गरेर बाँच्ने आधार खै? अहिले फाँट फाँटमा स्याल, मृग, दुम्सी र बाँदर जस्ता बन्य जन्तुले किसानलाई आक्रान्तै बनाएको छ।
भख्खरै मात्र किसानले धान काटी सकेका छन्। मानो रोपेर मुरि फलाउने धेरै किसानको सपना र मेहनत सफल भएको देखिदैन। धान अनि आलिका भटमास बाँदरको आतंकबाट केही बचेको छैन । फाँटका छेउछाउमा बाली हुनेको त झन् क्षतिको साँदी छैन। स्यालको रजाईँ पनि कम्ता छैन। धानका गरा गरा माडेर केही राखेन। लगाएको बाली सबै स्याल र बाँदरले नास गरेपछि, किसानले के खाने?
खेतमा भएको बाली त नास गर्यो गर्यो आजकल त बाँदर घरभित्रै छिरेर बिगो गर्न थालेको छ। घर ल्याएर राखेको अन्न पनि सुरक्षित छैन। दिनै जसो सयौंको हुल बाँदरले घेर्ने गर्छ। किसान आक्रान्त भएका छन्। पहिले पहिले बाँदर मान्छेदेखी डराउँथ्यो। हाइहाइ, हुइहुइ गर्दा वा सुसेली मार्दा भाग्थ्यो। तर, आजकल त बाँदर मान्छेलाई नै झम्टने गर्छ, लखेट्दा भाग्ने कुरै छैन।
पुरुषहरुसँग त तै तै अलि अलि डराउँछ तर महिलाहरुलाई त टेर्दै टेर्दैन। कति जनालाई त बाँदरले समातेर कुटपिट गरेको छ। आजकल महिला र केटाकेटीहरुलाई घाँस दाउरामा जान निकै जोखिम भएको छ। कतै बाँदरको कुटाइ खाइने त होइन भन्ने डर छ। चरणमा गएका बाख्रापाठाहरुलाई पनि समातेर कुटपिट गर्दो रहेछ बाँदरले। धान त जसोतसो भित्र्याइयो। अब हिउँदे बाली लगाउने कि नलगाउने? किसान दुविधामा छन्। आखिर लगाएर पनि खान पाइने त होइन। पहिले पहिले त लसुन, प्याज आदि खादैन भन्थे, घरिको केरा पनि चलाउदैन भन्थे बुढापाका अहिले त केही बाँकी नराख्ने भएको छ।
के लगाएर खाने? बाली नलगाए के खाने? किसानको मर्म, निकै कठिन छ कृषकको जीवन। देश यतिबेला चुनावी माहोलमा छ। भोट माग्न आउने नेताहरुसँग पनि सबैको एउटै गुनासो छ, बाँदर आतंक। किसानको भनाई छ, जसले बाँदर नियन्त्रणको नीति ल्याउँछ उसैलाई भोट। किसानले आश्वासन पनि पाएका छन। काम हुन्छ या हुन्न हेर्न बाँकी छ। कतै पहिलै जस्तै भाषणमा मात्र सिमित हुने त होइन? किसानको भनाई विकास त बिस्तारै हुँदै जान्छ पहिला बाँदरको विकल्प देऊ।
मारौं भने नियमले दिदैन। नियमैले दिएछ भने पनि माया लाग्छ, गर्नु के? यस्तै गुनासो किसानको छ। पहिला बाँच्नु पर्यो, बाँच्नलाई खान पर्यो र खानको लागि अन्न फलाउन पर्यो। फल्न त जसो तसो फलाईन्छ तर बाँदरले सबै नष्ट गरिदिएर हैरान। मैले बाँदरले बाली नाली नष्ट गर्नुमा पाएको प्रमुख कारण भनेको उसलाई जङ्गलमा नै खानाको व्यवस्था नहुनु हो। जङ्गल त बढेको छ तर खानको लागि भने खासै केही छैन। उसले पनि आफ्नो ज्यान पाल्न लागि खानै पर्यो।
खान जङ्गलमा छैन त्यसैले बाँच्नकै लागि बस्ती-बस्तीमा छिर्न बाध्य छ बाँदर पनि। जङ्गल अनावश्यक झाडीले भरिएको छ। वन तिर नै फलफूल हुँदो हो त सायद बाँदर खेतका फाँटहरुमा आउने थिएन। म प्राय गाउँटोल घुमिरहन्छु। सबैको गुनासो हुन्छ, "बाँदरले त खानै नदिने भयो।" म आफै पनि एक किसानको छोरो हुँ। मेरि आमा पनि बाँदरको किस्सा बेला बेला सुनाई रहनुहुन्छ।
अलि अस्ति तल्लो गाउँको एक जना काकीलाई बाँदरले कुटेर झण्डै मारेको रे। घाँस दाउरा गर्न जान पनि निकै डर मर्दो भयो भन्ने गुनासो दैनिकी जस्तो नै सुन्छु। बाँदर नियन्त्रणमा मैले दुई समाधानका उपायहरु पाएको छु।
१. अस्थायी समाधान अस्थायी समाधान अन्तरगत स्थानीय तहले केही रकमको विनियोजन गरी गोठालो राख्न सकिन्छ। यो उपाय त्यति धेरै सान्दर्भिक त होइन। तर बाँदरको क्षेती केही हतसम्म कम भने गर्न सकिन्छ। गोठालो राख्दा एउटा क्षेत्र नै समेटेर राख्न पर्ने हुन्छ। निकै जना गोठालेहरु खटाउन पर्छ। यो उपाय सँगसँगै स्थायी समाधानमा पनि हामीले ध्यान पुर्याउन पर्ने हुन्छ। समाधानले स्थायित्व नपाउन्जेल भने गोठालो राखिरहन पर्छ।
२. स्थायी समाधान यस उपायबाट सधैको लागि किसानलाई बाँदर आतंकबाट मुक्त गराउन सकिन्छ । स्थायी समाधान अन्तर्गत बन्ध्याकरण यो उपाय अलि खर्चिलो छ र लामो यात्रामा जनावरको हितमा नदेखिन पनि सक्छ। यस उपाय अन्तर्गत ठुला बाँदर फर्मको निर्माण गरि बाँदरहरु जम्मा गरेर पुरुष र महिला बाँदरलाई फरक फरक कोठा वा फर्ममा राखेर बन्ध्याकरण गराउन सकिन्छ।
यसरी बन्ध्याकरण गर्दा ती बाँदरहरु बाँचुन्जेलसम्म खान दिएर पाल्नु पर्नेहुन्छ। यसले बाँदरको संख्यामा वृद्धि हुन दिदैन र बाँदर खुल्ला रुपमा रहन पनि पाउँदैन। खुल्ला रुपमा बाँदर घुम्न नपाए पछि बिनास हुँदैन। फर्ममा बाँदरको हेरचाह गर्न केही कर्मचारी राख्नपर्ने हुन्छ। सम्बन्धित निकायबाट यसको निरक्षण र समरक्षण गर्न गराउन पर्छ। यसरी गर्दा निरन्तर बजेट विनियोजन भैराख्नुपर्छ जबसम्म अन्तिम बाँदर बाँचिरहन्छ।
मंसिर २, २०७९ शुक्रबार ११:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।