म्याच फिक्सिङका दोषी भारतीय क्रिकेटर नेपाली क्रिकेट टिमको नयाँ कोच !
काठमाडौँ : म्याच फिक्सिङमा दोषी प्रमाणित गर्दै पाँच वर्ष प्रतिबन्धमा परेका भारतीय क्रिकेटरलाई नेपाल क्रिकेट सङ्घले प्रमुख प्रशिक्षक नियुक्त गरेको छ।
भारतीय पूर्व राष्ट्रिय क्रिकेटर मनोज प्रभाकरलाई क्यानले नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो। नेपाली फुटबल टोली म्याच फिक्सिङको विवादमा परे पनि क्रिकेट टोली जोगिँदै आएको छ।
आफ्नो करिअरमा अलराउन्डर छवि बनाएका मनोज सन् १९९९ मा भारतीय म्यागेजिन तहलकाको म्याच फिक्सिङ स्टिङ अप्रेसनमा सहभागी भएका थिए। उनले कपिल देवमाथि म्याच फिक्सिङको लागि पैसा अफर गरेको दाबी गरे। यसमा कपिल देव त दोषी देखिएनन् उनी भने परे।
प्रभाकारले कपिल देवमाथि लगाएको आरोपबारे भारतको केन्द्रीय अनुसन्धान विभाग (सीबीआइ) ले अनुसन्धान गरेको थियो। कपिल देव दोषी देखिएनन्। उल्टो प्रभावकरले पैसा लिएर वेस्ट इन्डिजविरुद्धको एक म्याचमा जानाजान खराब प्रदर्शन गरेको भेटियो। बीसीसीआइले ५ वर्षका लागि प्रतिबन्ध लगायो।
प्रतिबन्ध सकिएपछि उनी प्रशिक्षकको रूपमा फर्किए। उनले दिल्ली रणजी टिम र राजस्थान टिमको कोचको रूपमा काम गरे। उनी अफगानिस्तानको टिमको बलिङ कोच समेत भए।
न्युज १८ का अनुसार उनले नेपाली खेलाडीको प्रतिभा र सीप देखेर प्रशिक्षक बन्न तयार भएको र आफ्नो लक्ष्य नेपाली क्रिकेट टिमलाई क्रिकेटको शक्ति बनाउने भएको प्रतिक्रिया दिएका छन्।
साउन २४, २०७९ मंगलबार ०१:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।