राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात गर्नेलाई एमालेले कारबाही गर्ने
काठमाडौंः नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने भएको छ। आज बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
माघ १२ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेले १९ मध्ये केवल एक सिटमा जित हासिल गरेको थियो। बाँकी १८ सिट सत्ता गठबन्धनका उम्मेदवारहरूले जितेका थिए।
एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लङ्घन एवं अन्तर्घातको छानबिन गर्न कारबाहीका लागि सिफारिस गर्न प्रदेशलाई निर्देशन दिएको जानकारी दिए।
यस्तै केही दिन अघि पार्टी छोडेकी तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुखलाई निष्काशन गर्ने निर्णय सचिवालय बैठकले गरेको जानकारी दिँदै गुरुङले रौतहट र पर्सामा पनि जिल्ला अधिवेशनमा देखिएको विवाद समाधान गर्न केन्द्रीय सङ्गठन विभागलाई जिम्मेवारी दिइएको बताए।
माघ १९, २०७८ बुधबार २१:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।