'बुबाले जित्नेमा विश्वस्त छु तर लिङ्देनले हार्दा खुसी चाहिँ हुन्न'

'बुबाले जित्नेमा विश्वस्त छु तर लिङ्देनले हार्दा खुसी चाहिँ हुन्न'

मैले कमल थापाको छोरीको हैसियतले भन्नुभन्दा पनि ७७ जिल्लाबाट आउनुभएका प्रतिनिधिहरुको भोटले के भन्छ, चुनाव जित्ने र हार्ने त्यसमा भर पर्छ।

अहिले माहोल बुझ्दा राम्रै छ कमल थापाकै पक्षमा। तर, एउटा कुरा हामीले के बुझ्न पर्छ भने राप्रपामा अब अर्को पुस्ताको नेतृत्व चाहिँ आउँछ। त्यो कहिले आउँछ भन्ने कुरा अहिले नै भनिहाल्न सकिँदैन।

तीन दिन भयो यहाँ आएका प्रतिनिधि साथीहरुसँग मेरो सम्पर्क भएको। अहिले अध्यक्षज्यूको तर्फमा राम्रै सुनिएको छ। राम्रो प्रतिक्रिया आइरहेको छ। हामीलाई आश छ, कि उहाँले राम्रो मत ल्याएर जित्नुहुनेछ।

तर धेरैतर्फबाट पार्टी फुट्छ कि के हो भन्ने कुराहरु पनि आइरहेको छ। तर हामीलाई चाहिँ त्यस्तो लाग्दैन। जसले जिते पनि प्रजातान्त्रिक प्रक्रिया हो। एउटा प्रक्रियामा गइसकेपछि हारजित त हुन्छ नै। हारजित भइसकेपछि यसलाई स्वीकार गर्नुपर्छ। 

परिवारका सदस्यले हार्दा कताकता मन दुख्नु त स्वभाविकै हो। तर पार्टीमा लागिसकेपछि आफूलाई मनपर्ने परिवारभन्दा बाहिरको नेता हार्दा पनि माया त लागिहाल्छ नि।

राजेन्द्र लिङ्देनलाई हामीले नेता नै मानेका हौं। अहिले पनि मान्छौं। म उहाँलाई अहिले पनि दाइ नै भन्छु। उहाँसँग उहाँकै जिल्लामा गएर मैले काम पनि गरेको छु। त्यहि भएर पनि म उहाँ हार्दा पनि खुसी चाहिँ हुन्न। किनकी उहाँ हाम्रो उदाउँदो नेता हुनुहुन्छ। हाम्रो एक मात्र नेता हुनुहुन्छ। उहाँमा केही न केही त छ नि। 

म अहिले नै पार्टको अध्यक्षमा देख्न पाउने कुरा चाहिँ अलि चाँडो भयो। तर पक्कै पनि हाम्रो पनि दिन आउला। म पनि प्रत्यक्ष/अप्रत्यक्ष रुपमा धेरै कार्यक्रममा गएको छु। आन्दोलनहरुमा सामेल भएको छु। देशभरि गएको छु। अध्यक्षज्यू जाँदा हामी पनि जान्थ्यौं। भर्खरै त केन्द्रको राजनीतिमा आएका छु। अहिले चाहिँ म कमल थापा जित्नेमा विश्वस्त छु।

( राप्रपाको केन्द्रीय सदस्यकी उम्मेदवार प्रतिष्ठासँग भएको कुराकानीमा आधारित। उनी अध्यक्षका प्रत्याशी कमल थापाकी छोरी हुन्।)

मंसिर १७, २०७८ शुक्रबार १४:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।