राजतन्त्रका पक्षमा चन्दको वकालत
काठमाडौं : राप्रपाका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले मुलुकका लागि राजसंस्था आवश्यक भएको बताएका छन्। राप्रपाको एकता महाधिवेशनलाई बुधबार सम्बोधन गर्दै उनले मुलुकलाई विभिन्न हस्तक्षेपबाट जोगाउन पनि राजसंस्था चाहिने बताए।
सबै ओमकार समूहलाई समेट्ने हिन्दु राष्ट्र आवश्यकता पनि चन्दले औंल्याए। हिन्दु राष्ट्र हुँदा नेपालले विदेशमा पनि ठूलो सम्मान पाउने उनको भनाइ थियो।
उनले सहमतिको आधारमा नेतृत्व निर्माण गरी एकता महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको भनाइ छ।
चन्दले भने, 'सहमतिलाई आत्मसात गर्दै पशुपति शमशेरले त्याग गर्नुभयो। डा. प्रकाशचन्द्र लोहनीले त्याग गर्नुभयो। भनेपछि सर्वसम्मत नेतृत्व छान्न किन नसक्ने?'
यही एकता महाधिवेशनबाट राप्रपाका सबै नेताले जनताको पक्षमा काम गर्ने संकल्प गर्नुपर्ने पनि उनले बताए।
'सबैले मुलुकमा बाहिरी हस्तक्षेप छ भनेको सुनिन्छ। त्यसलाई इन्कार गर्न सकिँदैन पनि। तर, यहाँ बाहिरी हस्तक्षेप मात्र छ त?,' उनले भने, 'अहिले अन्यायले न्यायलाई दबाएको छ। आज पार्टीका कार्यकता सन्तुष्ट होलान्। जनता सन्तुष्ट छैनन्। हाम्रा नेताहरुले गरेको त्याग अहिलेको अवस्था ल्याउन हो त?'
मंसिर १५, २०७८ बुधबार १४:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।