ओलीले प्रस्ताव गरेको १९ पदाधिकारीमा को-को अटाए ?

ओलीले प्रस्ताव गरेको १९ पदाधिकारीमा को-को अटाए ?

चितवनः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यराति बन्दसत्रमा १९ जना पदाधिकारीको नाम प्रस्ताव गरे। ओलीले पदाधिकारीका नाम लिनासाथ हलमा सहभागी अधिकांशले ताली बजाएर स्वागत पनि गरे। 

अध्यक्ष ओलीले मध्यरात बन्दसत्रमा केन्द्रीय कमिटीका ३०१ जनाको नाम समेत पढेर सुनाएका थिए।

अध्यक्षमा भीम रावलले आफ्नो उम्मेदवारी घोषणा फिर्ता नलिने बताएसँगै एमालेको १०औं महाधिवेशनले निर्वाचनबाटै नेतृत्त्व पाउने भएको छ। निर्वाचन हुने भएपछि ओलीले आफू अध्यक्षसहित १९ सदस्यीय पदाधिकारीको नाम प्रस्ताव गरेका छन्। 

एमालेकी एक नेतृका अनुसार अध्यक्षमा केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम प्रस्ताव गरिएको छ। यस्तै उपाध्यक्षहरूमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा (बादल), विष्णु पौडेल र सुवास नेम्वाङको नाम प्रस्ताव भएको छ।

यता महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरिएको छ। उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम रहेको छ भने सचिवमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठसहित छविलाल विश्वकर्मा, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल रहेका छन्।

अध्यक्ष ओलीले निर्वाचन कार्यालयमा गई मनोनयन दर्ता गराउन पनि यी प्रस्तावितहरूलाई बताएका थिए।

मंसिर १३, २०७८ सोमबार ०८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।