झापामा जोगियो सिटौलाको साख, थेबे प्यानल विजयी
इटहरी : नेपाली कांग्रेस झापामा देउकुमार थेबे विजयी भएका छन्। कृष्णप्रसाद सिटौला पक्षका उनी कडा प्रतिस्पर्धाका बीच विजयी भएका हुन्।
शुक्रबारदेखि जारी मतगणनामा थेबेका प्रतिस्पर्धी विश्वप्रकाश पक्षका रामबहादुर कट्टेलले अग्रता कायम गरेका थिए। सुरुवातदेखि नै अग्रता लिएका कट्टेल अन्तिम समयमा पराजित भए। अन्तिम समयमा गणना गरिएको सिटौलाको निर्वाचन क्षेत्र नम्बर ३ को मतले थेबे विजयी भएका हुन्।
त्यस्तै पदाधिकारीमा पनि थेबे प्यानल नै विजयी भएको छ। थेबे प्यानलका उम्मेदवार केशव पाण्डे र शेरबहादुर भट्टराई उपसभापतिमा विजयी भए भने सचिवमा नवीन बिमली र कृष्ण हुमागाई विजयी भएका छन्। सहसचिवमा कमल भण्डारी र कालेन्द्र राजवंशी विजयी भएका हुन्।
झापा कांग्रेसका हस्ती कृष्णप्रसाद सिटौलाका उम्मेदवार थेबेले विश्वप्रकाश शर्माका उम्मेदवार कट्टेललाई पराजित गरेका हुन्। थेबेको जितले सिटौलाको साख जोगाएको छ। झापा कांग्रेसमा एकलौटी देखिएका सिटौलालाई १४औं अधिवेशनपछि चुनौती थपिएको छ।
१३औं अधिवेशनमा सिटौला प्यानलबाट जिल्ला उपसभापति भएका कट्टेललाई शर्माले सभापतिमा उम्मेदवार बनाएका हुन्। बौद्धिक व्यक्तिको रुपमा चिनिएका कट्टेलको उम्मेदवारीले झापा कांग्रेसमा तरंग आएको छ। सिटौलाले भनेकै हुनुपर्ने मान्यताको विपरीत शर्माले कट्टेलाई उम्मेदवार बनाएर चुनौती दिएका छन्।
१३औं अधिवेशनमै १४औं अधिवेशनमा थेबेलाई सभापति बनाउने गरी सहमति भएको थियो। पछि कुनै लिखित सहमति नभएको भन्दै शर्माले कट्टेललाई उम्मेदवार बनाएका थिए। यसअघि महामन्त्रीको उम्मेदवारी घोषणा सभामा शर्माले कट्टेलको पक्षमा खुलेर मत मागेका थिए।
कुल ३ हजार ३ सय ६९ जना क्षेत्रीय प्रतिनिधिले मतदान गरेकोमा थेबेले १७६५ र कट्टेलले १५१५ मत पाएका थिए।
मंसिर १२, २०७८ आइतबार १७:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।