काँग्रेस राजनीति : आधा दर्जन गुन्डा नेता बन्दा पूर्व डिआइजी पराजित
काठमाडौँ : नेपाली काँग्रेसको महाधिवेशनमा आधा दर्शन आपराधिक पृष्ठभुमिकाहरु नेता बन्दा अवकाशप्राप्त डिआइजी गणेश केसी भने महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
नेपाल प्रहरीबाट अवकाश पाएपछि राजनीतिमा होमिएका केसी ललितपुर क्षेत्र नम्बर २ बाट महाधिवेशनको उम्मेदवार बनेका थिए। महालक्ष्मी स्थान नगरपालिकाका उनी २२ मतले पराजित भए।
ललितपुरमा गुन्डाको रूपमा परिचित मिनकृष्ण महर्जन भने महाधिवेशन प्रतिनिधिमा जितेका छन्। महानगरपालिका र नगरपालिकामा आधा-आधा मतदाता रहेकामा नगरपालिकातिरका काँग्रेस नेताहरूले प्यानल बनाएर आफ्ना पक्षका उम्मेदवारहरूलाई मात्र मत दिँदा पनि उनी लोकप्रिय मत ल्याउन भने सफल भएका थिए।
प्रहरी सङ्गठनमा काम गर्दा केसीले अब्बल प्रहरी अधिकृतको छवि बनाएर विवादमा नआई डिआइजीबाट अवकाश पाएका थिए। उनी अपराध अनुसन्धानका पोख्त र अनुभवी प्रहरी अधिकृत मानिन्थे।
काँग्रेस महाधिवेशनमा काभ्रेबाट अर्का आपराधिक पृष्ठभूमिका गणेश लामाले समेत महाधिवेशन प्रतिनिधिमा जितिसकेका छन्। काभ्रेमा अर्का गुन्डा दावा लामा त पालिकाका सभापति नै भइसकेका छन्। सिन्धुपाल्चोकमा अर्का आपराधिक पृष्ठभूमिका सगुन श्रेष्ठ समेत पालिकाको सभापति भएका छन्।
केसीले पहिलो पटक आफूलाई राजनीतिमा परीक्षण गर्दा आएको मतले उत्साहित भएको प्रतिक्रिया दिए। पहिलो पटक पार्टीगत राजनीतिमा उत्रिदा पाएको मतले उत्साहित बनाएको भन्दै अब राजनीतिक यात्रालाई जारी राख्ने उनले बताए।
'पहिलो पटक उम्मेदवार बन्दा पनि धेरैले विश्वास गरेर मत दिनुभयो। म उत्साहित छु,' केसीले भने' यसले राजनीतिमा सक्रिय भएर अगाडि बढ्न हौसला मिलेको छ।'
मंसिर ८, २०७८ बुधबार २१:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।