सुरक्षा घेरा तोडेर सर्वोच्चको मूल गेटमा पुगे कानुन व्यवसायी

सुरक्षा घेरा तोडेर सर्वोच्चको मूल गेटमा पुगे कानुन व्यवसायी

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल एसोसिएसनले सुरक्षा घेरा तोडेर सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ।

बार एसोसिएसनको प्राङ्गणमा विरोध प्रदर्शन गरेका कानुन व्यवसायीहरु सुरक्षा घेरा तोडेर सर्वोच्चको मूल गेटमा पुगेका हुन्। 

बारमा भएको विरोध कार्यक्रममा बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आजबाट तेस्रो चरणको आन्दोलनका कार्यक्रम सुरु भएको जानकारी दिए। 

बार एसोसिएसन परिसरमा भएको विरोध प्रदर्शनमा अध्यक्ष श्रेष्ठले चोलेन्द्र शमशेर राणाका कारण न्याय किनबेच हुनु हुँदैन भन्नेहरूको शिर निहुरेको बताए। छ। उनले राणाले गरेको वार्ताको आव्हान आँखामा छारो हाल्ने काम भएको उल्लेख गरे। 

उनले प्रधानन्यायाधीशको राजीनामाबाट मात्र न्यायालयमा सुधारको काम हुने बताए। मङ्सिर ३ गतेसम्म राजीनामा दिन बारले अल्टिमेटम दिएको उनले जानकारी दिए। उनले राणाको राजीनामा नआए प्रवेश निषेध मात्र होइन देशभरका उच्च अदालतमा विरोध कार्यक्रम गर्ने चेतावनी दिए। 

बार एसोसिएसनले प्रधानन्यायाधीश बाहेकको संवैधानिक परिषद्को बैठक बोलाएर न्यायालयको विवाद समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्ने निर्णय पनि गरेको बारकी उपाध्यक्ष रक्षा बस्यालले बताइन। 

बार एसोसिएसनले आन्दोलनको कार्यक्रम मंसिर ३ गतेसम्म जारी राख्न बार इकाईहरुलाई परिपत्र समेत गरेको छ। 

मंसिर १, २०७८ बुधबार १०:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।