एमसिसी विवादमा अमेरिकी चासो, सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै
काठमाडौँ : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउने भएका छन्। तीन दिने नेपाल भ्रमणका लागि लु मालदिभ्सबाट नेपाल आउन लागेका हुन्।
एमसिसी संसद्बाट पारित गर्ने नगर्ने विवाद भइरहँदा सहायक विदेशमन्त्री लु नेपाल आउने भएका हुन्।
नेपाल भ्रमणका क्रममा अमेरिका–नेपाल सम्बन्ध, विभिन्न सहयोग आदान–प्रदान, एमसिसी सम्झौतालगायतका विषयमा उनले छलफल गर्नेछन्।
यसअघि पनि एमसिसीकी उपाध्यक्ष फातिमा सुमारले नेपाल भ्रमणका क्रममा सम्झौता कार्यान्वयनमा भइरहेको ढिलाइबारे चासो लिएकी थिइन।
आज नेपाल आउन लागेका सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, रक्षामन्त्री मीनेन्द्र रिजाल, गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत पार्टीका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
मंसिर १, २०७८ बुधबार ०९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।